आगलागी भइहाले काठमाडौं, ललितपुर र भक्तपुरमा दमकल पनि पुग्दो संख्यामा छैनन्
आगलागी तथा विपत्जन्य जोखिमका वेला उपयोगी मानिएको मोटरसाइकल दमकल (फायर बाइक) मर्मतसम्भार नगर्दा बिग्रिएर थन्किएका छन् । ०६९ मा बजाज कम्पनीले २२० सिसीका १० वटा एभेन्जर मोटरसाइकल काठमाडौं महानगरपालिकालाई अनुदानमा दिएको थियो । तर, त्यसमध्ये सातवटा फायर बाइक बिग्रिएर नचल्ने अवस्थामा छन् ।
तत्कालीन समयमा काठमाडौं महानगरपालिका जुद्ध वारुणयन्त्रका प्रमुख किशोरकुमार भट्टराईले त्यसलाई मोडिफाई (पार्टपुर्जा परिवर्तन) गरेर फायर बाइक बनाएका थिए । ती मोटरसाइकललाई फायर बाइकमा परिणत गर्दा करिब ६० लाख रुपैयाँ खर्च भएको थियो । तर, सहरी विपत्मा प्रयोग गर्न मोडिफाई गरेर बनाइएको छरितो साधन अहिले बिग्रिएर अलपत्र अवस्था छन् । ‘यी दमकल काठमाडौं उपत्यकामा हुने प्राकृतिक घटना र दुर्घटनाका वेला निकै नै प्रभावकारी मानिन्छन्, तर अहिले यिनको प्रयोग भएको देखिँदैन,’ जुद्ध वारुणयन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्निनियन्त्रक भट्टराईले भने, ‘मर्मतसम्भार नभएर उपकरण बिग्रनु राम्रो होइन ।’
उनका अनुसार तत्कालीन समयमा १० वटामध्ये ललितपुर महानगर र भक्तपुर नगरपालिकालाई एक–एकवटा बाइक दिइएको थियो । तर, ती फायर बाइक पनि अहिले सञ्चालनमा छैनन् । निकै पुरानो भएकाले बिग्रिएर थन्किएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए । त्यस्तै, भक्तपुरमा दिइएको फायर बाइक पनि चल्दैन ।
काठमाडौंमा रहेका आठमध्ये तीनवटा मात्रै फायर बाइक हाल सञ्चालनमा छन् । अन्य बाइक पार्टपुर्जा बिग्रिएका कारण स्टार्ट नै हुँदैनन् । ती फायर बाइक जुद्ध वारुणयन्त्रको कार्यालय परिसरमा थन्किएका छन् । ‘अहिले हाम्रो कार्यालयमा तीनवटा चल्ने फायर बाइक छन् । अन्य दुईवटा भक्तपुर र ललितपुरलाई दिएका थियौँ, हामीकहाँ भएका अन्य बाइक बिग्रिएका छन्,’ महानगरका विपत् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले भने, ‘बिग्रिएकालाई मर्मत गर्छौं ।’ उनका अनुसार यस वर्ष काठमाडौं महानगरले बिग्रिएका फायर बाइक र दमकल मर्मतका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
विपतजन्य घटनाका पाँच विधामा प्रयोग
गोल्छा कम्पनीले दशवटा मोटरसाइकल उपलब्ध गराएपछि तत्कालीन समयमा ती मोटरसाइकललाई मोडिफाई गरी पाँच विधामा छुट्याइएको थियो । जसमध्ये अग्नि नियन्त्रण, सडक दुर्घटनामा उद्धार, वाटर रेस्क्यु, बाढीपहिरो रेस्क्यु, मेडिकल सामान ओसारपसार गरी पाँच विधामा प्रयोग गर्ने गरी कार्य विभाजन गरिएको थियो । यीमध्ये हरेक विधामा दुई–दुईवटाका दरले प्रयोग गर्ने गरी जुद्ध वारुणयन्त्रको कार्यालयले तयारी गरेको थियो । तर, ०७० मा भक्तपुर र ललितपुरले एक–एकवटा फायर बाइक माग गरेपछि उपलब्ध गराइएको थियो ।
विपत् नियन्त्रणको छरितो साधन
फायर बाइक मोटरसाइकल आकारको हुन्छ । यो साँघुरा गल्लीमा पनि गुडाउन सकिन्छ । त्यस्तै, बाहिर सडकमा पनि अन्य दमकलको तुलनामा यो दौडिन सक्छ । त्यसकारण पनि फायर बाइकलाई आगलागी नियन्त्रण तथा अन्य विपत्जन्य घटनाका वेला निकै नै उपयोगी साधन मानिन्छ । तर, यस्ता साधन प्रयोगविहीन हुनु निकै दुःखद भएको अग्निनियन्त्रक भट्टराईको भनाइ छ । हाल काठमाडौं उपत्यकाका भित्री गल्ली र बिजुलीका तारमा आगलागी हुँदा बढी उपयोगी मानिन्छ । ठूला चारपांग्रे तथा ६ पांग्रे दमकल सबैतिर प्रयोग गर्न छरितो नभएकाले यस्ता साधनको सबैतिर माग भएको पाइन्छ । घना बस्ती, सहर, भित्री गल्ली, सडक आसपासलगायत ठाउँमा यी साधन प्रयोग गर्न सकिन्छ ।
दमकलको पनि उस्तै हालत
हाल काठमाडौं महानगरमा तीनवटा आधुनिकसहित आठवटा दमकल छन् । पुराना पाँचवटामध्ये तीनवटा बिग्रिएर थन्किएका छन् । हाल चल्ने अवस्थामा रहेका पुराना दुईवटा दमकलमध्ये एउटा चार हजार लिटरको हो भने अर्को २५ सय लिटर क्षमताको हो । १५ सय, २५ सय, ३५ सय र चार हजार लिटर क्षमताका दमकल बिग्रिएर कार्यालयमा थन्किएका छन् । हाल सञ्चालनमा रहेका दमकल आठ वर्षअघि खरिद गरिएका हुन् । त्यस्तै, बिग्रिएकामध्ये एउटा दमकल बेलायत र अर्को दमकल भारतले अनुदानमा दिएको थियो । तर, ज्यादै पुरानो भएकाले ती दमकल अहिले प्रयोग गर्न मिल्ने अवस्थामा छैनन् ।
काठमाडौं महानगरले ल्यायो तीनवटा नयाँ दमकल
काठमाडौं महानगरपालिकाले मंगलबार नयाँ दमकल खरिद गरेको छ । थपिएका तीनवटा दमकल ३५ सय लिटरका हुन् । त्यसमा तीन हजार लिटर पानी अट्छ भने आगो निभाउन प्रयोग गरिने पाँच सय लिटर झोल केमिकल अट्छ । करिब एक वर्षअघि नै तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा दमकल खरिद सम्झौता भए पनि ६ महिना ढिलो दमकल नेपाल आइपुगेको हो । तीनवटा दमकलको लागत मूल्य दुई करोड ५० लाख रुपैयाँ परेको छ । खरिद गरेको दमकलले प्रतिमिनेट तीन हजार लिटर पानी फ्याँक्न सक्छ । यसले करिब ६० मिटर दूरीसम्म फोर्सले नै पानी फ्याँक्छ ।
भित्री गल्लीमा पाइप जडान गर्ने तयारी
काठमाडौं महानगरपालिकाले दमकल छिर्न नसक्ने भित्री गल्लीमा हुन सक्ने आगलागीको जोखिमलाई मध्यनजर गर्दै फलामे पाइप जडान गर्ने तयारी गरेको छ । घना बस्तीमा सो पाइप जडान गर्न लागिएको जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले जानकारी दिए । उनका अनुसार भित्री गल्लीहरूको दमकल छिर्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै महानगरले पाइप जडान गर्न लागेको हो । टेकु, वसन्तपुर, ताहचल, सोह्रखुट्टे, असन, जमल, ठमेललगायत क्षेत्रका साँघुरा गल्लीमा पाइप जडान गरिनेछ । जहाँबाट दमकल भित्र जान सक्दैन, त्यहाँबाट पाइपलाइन राखिनेछ ।