वर्ष दिनअघिसम्म लेमाको जीवन सहज ढंगले चलिरहेको थियो । कानुन र राजनीतिशास्त्रमा स्नातक गरेकी २७ वर्षीया लेमा राजधानी काबुलमा जागिर गर्थिन् । खाली समयमा एक स्थानीय जिममा व्यायाम गर्न जान्थिन् । तर, अघिल्लो वर्ष तालिबानले मुलुकलाई नियन्त्रण गरेयता महिलालाई कैयौँ रोजगारीबाट वञ्चित गरिएको छ, पुरुष पहरेदारविना यात्रा गर्न रोक लगाइएको छ । महिलाले आफूले रोजेको लुगा लगाउन पाउँदैनन् । तालिबान शासनका कारण लेमाले रोजगारी गुमाएकी छिन् । रोजगारी गुमेपछि उनको १३ सदस्यीय परिवार जीविका चलाउन संघर्षरत छ । उनका मंगेतरले पनि जागिर गुमाएका छन् । त्यसैगरी, उनका भाइको व्यापार टाट पल्टेको छ । जिमखाना जानु त परको कुरा भयो, लिमा अहिले सडकमा एक्लै हिँनसमेत सक्दिनन् ।
राजधानीदेखि उत्तरमा रहेको बघ्लान प्रान्तका खरबुजा किसान महमुदका लागि भने अवस्थामा थोरै सुधार देखिएको छ । उनको घरलाई तालिबान लडाकुको आश्रयस्थलको शंकामा सरकारी सैन्यबलले आगजनी गरेको थियो । महमुदले परिवारसहित घरपछाडि लुकेर ज्यान जोगाएका थिए । भिडन्तमा किसान पर्नु अस्वाभाविक होइन । तर, तालिबान सत्तामा आएदेखि यी क्षेत्रमा हिंसा मत्थर हुँदै गएको छ । भारी वर्षाले महमुदको बालीनाली नष्ट नभएको पनि होइन, उनका आफन्तले रोजगारी नगुमाएका पनि होइनन्, उनको परिवार ऋणको भारले नथिचिएको होइन, तर महमुदले अब आफ्ना बालबालिका गोलीका सिकार होलान् कि भनेर चिन्तित हुनुपर्दैन ।
गत वर्षको १५ अगस्टमा काबुललाई नियन्त्रण लिनुअघि नै तालिबानले मुलुकभरि रजगज जमाइसकेको थियो । तालिबानको सहज विजयले सबैलाई चकित बनाएको थियो । यहाँसम्म कि तालिबान लडाकु आफैँ चकित थिए । अनि, विश्व अमेरिकाले अफगानिस्तान छोड्दै गर्दा कैयौँ हतास अफगान देश छोड्ने आशामा विमानस्थलमा जम्मा हुँदै गरेको त्रासदीपूर्ण दृश्यको साक्षी बन्दै थियो । तालिबानले तुरुन्तै देशभरि नियन्त्रण जमाएपछि मुलुक संकटको गर्तमा फस्यो ।
मुख्य समस्या वित्तीय विषयसँग जोडिएका छन् । मुलुकको अर्थतन्त्र तब धुलिसात् भयो, जब पश्चिमा जगत्ले अफगानिस्तानलाई वैश्विक बैंकिङ प्रणालीबाट अलग्यायो । विदेशी सञ्चितिलाई रोक्का गरिदिए । गत सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अन्तरालमा कुल गार्हस्थ उत्पादन (जिडिपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा एकतिहाइले घटेको थियो । मुलुकको अधिकांश हिस्सा चरम गरिबी र भोकमरीको चपेटामा परेको छ ।
खाद्यान्न र इन्धनको भाउ अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढेको छ । २० मध्ये केवल एक परिवारले भरपेट खान पाउने अवस्था छ । तालिबानले आफू परिवर्तित भइसकेको र अफगान जनताका लागि ‘उज्ज्वल भविष्य’ निर्माण गर्ने वाचा गरे पनि नयाँ तालिबान पुरानैमा पुनरावृत्त छ । सरकार पनि सन् १९९६ देखि २००१ सम्मको भन्दा भिन्न बनेको छैन । ‘सद्गुण’ नियमन गर्ने मन्त्रालयलाई ब्युँताइएको छ । यसले दारी काट्ने पुरुष र पैतालादेखि टाउको नछोप्ने महिलालाई सताउँछ । यसैगरी, तालिबानले आतंककारीलाई शरण दिन छाडेको छैन । स्मरण रहोस्, यही ३१ जुलाईमा मध्यकाबुलमा अलकायदा नेता अयमन अल–जवाहिरी अमेरिकी ड्रोन आक्रमणबाट मारिएका छन् ।
कुनै समय चिकित्सक, पत्रकार र वकिलको रोजगारी पाएका अफगानी महिला सार्वजनिक जीवनबाट फेरि विमुख बनाइँदै छन्
महिला निःसन्देह सबैभन्दा बढी प्रताडित छन् । दुई दशकको अमेरिका समर्थित सरकारका पालामा महिलाले थोरबहुत स्वतन्त्रता उपभोग गर्न पाएका थिए । महिला साक्षरता दर सन् २००० देखि २०१८ मा दोब्बर भएको थियो अर्थात् साक्षरता दर ३० प्रतिशत पुगेको थियो । एक पुस्ताका अफगानी महिलाले चिकित्सक, पत्रकार र वकिलको रोजगारी पाएका थिए । अहिले यिनलाई सार्वजनिक जीवनबाट फेरि विमुख बनाइँदै छ । तालिबानले बालिकालाई माध्यमिक विद्यालयमा पढ्न दिने भनी गरेको वाचा मार्चबाट उल्ट्याएको छ ।
तथापि महमुदजस्ता केही अफगानका लागि परिस्थिति पोहोरको तुलनामा थोरै सुध्रिएको छ । हेलमन्ड र कान्दहारजस्ता प्रान्तका गाउँले, जो पहिले द्वन्द्वका चपेटामा पर्थे, हाल थोरबहुत सुरक्षित छन् । विशेषज्ञ समूह क्राइसिस ग्रुपका अनुसार १५ सेप्टेम्बर २०२१ देखि मध्य जुलाई २०२२ सम्ममा सशस्त्र भिडन्त, ड्रोन आक्रमण र आत्मघाती बम आक्रमणलगायत हिंसा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८७ प्रतिशतले घटेको छ ।
यसबाहेक, ग्रामीण क्षेत्रका अफगानका लागि खासै कुनै परिवर्तन भएको छैन । मुलुकका दक्षिणी हिस्सा, जहाँबाट तालिबानको जन्मिएको थियो, त्यहाँ चरम पुरातनपन्थ उस्तै छ । त्यहाँका महिला पहिले पनि शिरदेखि पैतालासम्म छोपिएका हुन्थे र घरको चारदिवारीमै सीमित रहन्थे । यी ग्रामीण इलाकामा कहिल्यै अनुदान पुग्न सकेन । ग्रामीण इलाकाका मानिसले आफ्नो जीवन पुनस्र्थापित गरिरहेका छन् । विश्व बैंकले घरमुलीबारे गरेको पछिल्लो सर्वेक्षणअनुसार सन् २०२१ को अन्तिम तीन महिनामा ग्रामीण क्षेत्रमा ८१ प्रतिशत घरमुलीले रोजगारी पाएका छन् र दुई वर्षअगाडि यो दर ७३ प्रतिशत थियो (सहरी रोजगारी भने थोरैले घटेको छ) । तर, रोजगार हुनुको अर्थ समुचित वेतनको प्रत्याभूति हुनु भने होइन ।
यो शान्ति निश्चय नै दिगो छैन । अफगान जनता २० वर्षे अमेरिका समर्थित लोकतन्त्रबाट परिवर्तित भएका छन् । तालिबानको धर्मान्धतालाई अस्वीकार गर्ने महिलाले सडक प्रदर्शन गरिरहेका छन् । विपन्न अफगान जनता हालको दुरवस्थाका लागि तालिबान र अफगानिस्तानको साथ छोड्ने विदेशी शक्तिलाई दोषी ठह¥याउँछन् । आर्थिक दुरवस्थाले असन्तुष्टि दिनानुदिन चुलिँदो छ ।
द इकोनोमिस्टबाट