
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रकरणका बारेमा छलफल गर्न लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्राधिकरण प्रमुखलाई कागजातसहित हाजिर हुन निर्देशन दिएको छ । समितिका सभापति विष्णु पन्थीका अनुसार एकसाताभित्र ठेक्का प्रक्रियाका सम्पूर्ण कागजातसहित उपस्थित हुन प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई निर्देशन दिइएको हो । लेखा समितिका एक सदस्यका अनुसार लेखा समितिको बैठकको निर्णयबाट ८ गतेको बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ ।
समितिका सदस्य भोजप्रसाद श्रेष्ठले टेन्डर प्रक्रियामा घोटला भएका कुरा सञ्चारमाध्यममा सार्वजनिक भएको तथा सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि पत्र काटेको सन्दर्भमा लेखा समितिको ध्यानाकर्षण भएको बताए । सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिएको उनले बताए ।
यससम्बन्धी विवाद अदालतमा समेत पुगेको छ । यसअघि लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माण ठेक्कामा पुनः मिलेमतो भएको पाइएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन पत्र काटेको थियो । करिब ६ अर्ब ७० करोड रुपैयाँ लागतमा लुम्बिनी प्रदेशमातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश अस्पतालको नयाँ भवन निर्माण गर्दै छ ।
प्राधिकरणले ८ फागुन ०७८ मा पहिलो बोलपत्र आह्वान गरेको थियो । निर्धारित कम्पनीले मात्रै ठेक्का प्रक्रियामा भाग लिन सक्ने प्रावधान बोलपत्रमा देखिएपछि कार्यालयले प्राधिकरणको नाममा त्यसवेला पनि पत्र काटेको थियो । सोही पत्रका आधारमा प्राधिकरणका तत्कालीन सिइओ (प्रमुख कार्यकारी अधिकृत) अनन्तराज घिमिरेले राजीनामा दिएका थिए । त्यसपछि प्राधिकरणका सिइओ छविराज पोखरेल नियुक्त भएका थिए । भवन निर्माणका लागि दोस्रोपटकको बोलपत्र आह्वान उनैले गरेका हुन ।
अस्पताल निर्माणका लागि प्राधिकरणले ९ असारमा दोस्रोपटक बोलपत्र आह्वान गरेको थियो । पुनः मिलेमतो गरेर दुईवटा कम्पनीलाई मिल्ने गरी बोलपत्र आह्वान भएको संकेत पाएपछि कार्यालयले प्राधिकरणको नाममा पत्र काटेर सच्याउन निर्देशन दिएको थियो ।