फरक र स्टाइलिस देखिनका लागि युवाहरूले नयाँ–नयाँ हेयर स्टाइल प्रयोग गर्छन् । सुन्दरताका लागि महिलाले मेकअपमा जति ध्यान दिन्छन्, पुरुषहरूले हेयर स्टाइलमा उत्तिकै ध्यान दिने गरेको पाइन्छ, किनकि राम्रो हेयर स्टाइलले तपाईंको लुक्समा ठूलो अर्थ राख्छ ।
नेपालमा विभिन्न देशको हेयर स्टाइलको ट्रेन्ड भित्रिने गरेको छ । कुनै वेला लामो कपाल पाल्ने ट्रेन्ड चल्थ्यो । अहिले कपाल छोटो पार्ने ट्रेन्ड बसेको छ । केही समययता हरेक समूहका पुरुषहरूमा कपाल छोटो बनाउने कल्चर बसिसकेको छ ।
यद्यपि, आफूलाई कस्तो हेयर स्टाइल सुहाउँछ, त्यस्तै हेयर कट गर्दा राम्रो हो । अहिले पुरुषहरूमा फेड कट हेयर स्टाइल चलेको छ । सबै उमेरसमूहका पुरुषहरूलाई फेड कटले आकर्षित गरेकोे छ । यसले बोल्ड लुक्स दिन्छ । क्लिन देखाउँछ । आकर्षक लुक्स दिन्छ ।
मूल्यअनुसारको हेयर डिजाइन
नाम चलेका हेयर डिजाइनरसँग कपाल काट्ने भन्नेबित्तिकै महँगो हुन्छ भन्ने सोचाइ छ, जो गलत हो । जसरी मःम पनि विभिन्न थरीका पाइन्छन्, मूल्यअनुसारको स्वाद पाइन्छ, हेयर स्टाइलमा पनि त्यस्तै नै हो । विदेशमा मानिसहरू १५ दिनमा हेयर कट गर्छन् ।
विदेशमा कपाल स्टाइलिस बनाउने कल्चर नै बसिसकेको छ । तर, नेपालमा त्यस्तो छैन । जीवनशैलीले पनि धेरै फरक पार्छ । विदेशमा हेयर स्टाइल चेन्ज भइरहन्छ । उनीहरू सधैँ क्लिन बस्न रुचाउँछन् । हाम्रोमा दुई महिना बितिसक्दा पनि कपाल काट्ने कुरा हुँदैन ।