१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ श्रावण ३० सोमबार २२:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीको लम्की–चुहामा फैलियो डेंगु

Read Time : > 1 मिनेट
२०७९ श्रावण ३० सोमबार २२:४२:००

कैलालीको लम्की–चुहा नगरपालिकामा डेंगुको संक्रमण फैलिएको छ । साउन महिनाभरि लम्कीमा २५ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

लम्की–चुहा अस्पतालका अनुसार संक्रमितहरू उपचारपछि घर फर्किएका छन् । अत्यधिक ज्वरो आउने, बान्ता हुने, टाउको र शरीरका मांसपेशी दुख्नेजस्ता लक्षण भएका बिरामीलाई परीक्षण गर्दा डेंगु देखिएको अस्पतालले जनाएको छ । लम्की–चुहा अस्पतालका प्रमुख गंगाराम उपाध्यायले नगरपालिकाको वडा नम्बर ३ को चिसापानी र व्यवस्थित नगरमा डेंगुका बिरामी बढी देखिएको जानकारी दिए । लक्षणका आधारमा उपचार गरेर बिरामीलाई पठाउने गरिएको उनको भनाइ छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण फैलिए पनि लामखुट्टे मार्न विषादी छर्कने, उनीहरूको लार्भा र वासस्थान नष्ट गर्नेजस्ता कार्य हुन नसकेको स्थानीयले बताएका छन् । ‘एकै ठाउँमा २५ जना बिरामी देखिनु भनेको प्रकोप नै हो,’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘लामखुट्टे मार्न विषादी छर्कने, वासस्थान र लामखुट्टे जन्मने क्षेत्र नष्ट गर्ने अभियान चलाउन नगरपालिकालाई आग्रह गरेका छौँ ।’

गत वर्ष मात्रै लम्की–चुहा नगरपालिकामा ५२ जनामा डेंगुको संक्रमण देखिएको धामीले बताए । अन्य पालिकाहरूलाई पनि डेंगु नियन्त्रण अभियान सञ्चालन गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । लम्कीमा भने अहिले प्रकोप नियन्त्रणमा आएको कार्यालयको दाबी छ ।

डेंगुको संक्रमण बढेका वेला यहाँ डेंगु परीक्षण गर्ने किट पनि पर्याप्त नरहेको पालिकाहरूले बताएका छन् । ‘किटको अभाव थियो । आज मात्र ६० वटाजति किट आएको छ,’ लम्की–चुहा अस्पतालका प्रमुख उपाध्यायले भने, ‘प्रदेश सरकारले थप पाँच सय किट दिने भनेको छ ।’ डेंगु नियन्त्रणका लागि लामखुट्टे बस्न नदिन घरवरिपरिको सरसफाइ र लामखुट्टेको लार्भा नष्ट अभियान महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

स्वास्थ्यकर्मीका अनुसार एडिज अजिप्टाई प्रजातिको पोथी लामखुट्टेले टोक्दा यो रोग मानिसमा सर्ने गर्दछ । यस्तो लामखुट्टेले दिउँसो टोक्ने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । लामखुट्टेले जमेको सफा पानीमा लार्भा पार्ने भएकाले घरवरिपरि पानी जम्न नदिने, झारपात हुन नदिने र लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनको सुझाव छ ।