नेपाली भाषाको उदगम थलो जुम्लाको सिँजा उपत्यकालाई मानिन्छ । यहाँको खस भाषा नेपाली भाषाको माउ भाषा हो । यहाँ बोलिने भाषालाई खस भाषा भनिन्छ । नेपाली भाषाको भाषिका मानिएको खस भाषा आज पनि कर्णाली प्रदेशमा बोलिन्छ । नेपाली भाषा जुम्ला सिँजा उपत्यकाबाट अरूतिर फैलिएको देखिएको छ । तर, यही खस भाषा भने राष्ट्रिय भाषा आयोगको अभिलेखमा छैन । भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन । यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी निकायले शब्दकोश बनाएको पाइँदैन ।
संविधानले नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा भनेको छ । ‘नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ,’ संविधानमा छ, ‘भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ ।’
चन्दननाथ नगरपालिका आचार्यबाडाका रमानन्द आचार्यले डेढ दशकभन्दा बढी समयदेखि संकलन तथा लेखन गरी करिब ३५ हजार शब्दको ‘खसिया आखर (नेपाली भाषाको केन्द्रीय भाषिकाको शब्दकोश)’ तयार गरिरहेका छन् । ‘काठमाडौंवासीले खस भाषामाथि जानीजानी गल्ती गरेका छन्,’ ७७ वर्षीय आचार्य भन्छन्, ‘नेपाली भाषाको माउभाषा भएकाले यसको मौलिकता बचाउनुपर्छ, जसले गर्दा नेपाली भाषा समृद्ध बन्छ ।’ भाषा जहिले पनि अग्रगामी हुने, तर स्थानीय जनजीवनले बोल्दै व्यवहारमा राखेका भाषाको अभिलेखीकरण जरुरी रहेको उनको भनाइ छ ।
सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले नेपाली भाषाको माउ खस भाषालाई राष्ट्रिय भाषा आयोगले आधिकारिता नदिएको बताए। उनले भने, ‘भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीसहित आयोगका पदाधिकारी र कर्मचारीसँग छलफल गरेर खस भाषाको आधिकारिकता अभिलेखीकरण गर्न माग गरेका छौँ ।’
खस भाषा उत्थान र विकासका लागि सिँजा उपत्यकामा पर्ने तिवन गाउँपालिका कनकासुन्दरी, सिजा र हिमा गाउँपालिकासहित यहाँका अन्य पालिकाबीच बृहत् छलफल गर्ने पनि योजना बनाएको उनले बताए । खस भाषाविज्ञ र विशेषज्ञहरूसँग समन्वय गर्ने, भाषा आयोगले निर्धारण गरेका मानकहरूलाई स्वीकार गरी अभिलेखन गरिनेछ । खस भाषा र साहित्यका लेखक, कवि कलाकारहरूको पहिचान, कदर र प्रोत्साहन गरिने उनले बताए ।