मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २० शुक्रबार २०:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तकोसी बाढीका कारण आठ सय बिघा धानखेतीमा क्षति

Read Time : > 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार २०:१५:००

बाँध फुटेर गाउँ पसेको सप्तकोसीको पानीको बहाव घट्दै गएको छ । सप्तकोसीको तटीय क्षेत्रमा पर्ने बेलका नगरपालिका–८ को लाहुरेखोँच  डुम्रिबोटमा रहेको बाँध फुटेर गत बुधबार बिहान मानवबस्ती पसेको पानीको बहाव घट्दै गएको हो ।  

गाउँ पसेको बाढीको कारण बेलका नगरपालिकाको तल्लो तटीय क्षेत्रमा पर्ने वडा नम्बर ८, ३, ९, २ र १ सँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ डुबानमा परेको थियो । अहिले डुबानमा परेको क्षेत्रमा पानी घट्दै गएको बेलका नगरपालिका–३ का वडा अध्यक्ष टंकप्रसाद आचार्यले बताए । उनले भने, ‘मान्छे नै डुब्ने पानी अहिले घट्दै गएको छ ।उनले सप्तकोसी ब्यारेजमा रहेको ढोकाहरू खुल्दै गएपछि पानीको बहाव घट्दै गएको बताए । 

आठ सय बिघाभन्दा बढीको धानखेतीमा क्षति 
बाढी प्रभावित क्षेत्रमा पर्ने बेलका नगरपालिकाका ८, ३, ९, २ र १ नम्बर वडामा ठूलो परिमाणमा धानखेतीमा क्षति पुगेको बेलका नगरपालिकाकी उपमेयर जिरा राईले बताइन् । ‘बेलका नगरपालिकामा ठूलो परिमाणमा धानखेती हुने क्षेत्र थियो । बाढीको कारण धान पूरै पुरिएको छ । पानीले केही देखिएको छैन । प्रारम्भिक तथ्यांकअनुसार झन्डै आठ सय बिघा धानखेतीमा क्षति पुगेको छ ।’

उनले मानवीय क्षति भने नभएको बताइन् । ‘भाग्यवश भनौँ, मानवीय क्षति भएको छैन । गहिरो क्षेत्रमा रहेका घरहरूमा पानी पसेको छ । अग्लो स्थानमा रहेका घरहरूमा पानी पसेको छैन,’ उपमेयर राईले भनिन् । 

विस्थापित परिवारका घरमा चोरी डकैती बढ्यो
बाढीको कारण घरमै छाडेर हिँडेका पशु चौपाया चोरी हुनेक्रम बढेको पनि उपमेयर राईले बताइन् । ‘गएको शुक्रबार राति मात्र तीन–चार घरपरिवारको बंगुर, राँगा, कुखुरालगायतका पशु चौपाया  हराएको उजुरी आएको छ,’ उनले भनिन्, ‘प्रहरी प्रशासनसँग छलफल गरेर अबका दिनमा प्रहरी गस्ती बढाउने तयारीमा छौँ ।’
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बाढीबाट विस्थापित भएका परिवारमा चोरी डकैती बढेको गुनासो आएकाले सुरक्षा व्यवस्थालाई कडा बनाइएको बताए । 
राहत वितरण जारी

सरकारी तथा गैरसरकारी निकायले उपलब्ध गराएको राहत विस्थापित पीडित परिवारलाई वितरण गर्ने क्रम जारी रहेको छ । प्रदेश–१ सरकार, नेपाल रेडक्रस सोसाइटी, कृषक समूह महासंघ नेपाललगायत सरकारी तथा गैरसरकारी संघसंस्थाले उपलब्ध गराएका खाद्यान्न, त्रिपाल, औषधि, पानीलगायतका राहत सामग्री वितरण भइरहेको उपमेयर राईले बताइन् । 
उनले भनिन्, ‘जो विस्थापित भएका छन्, विद्यालयहरूमा आश्रय लिइरहनुभएको छ, उहाँहरू र आफन्तको घरमा बस्नेलाई राहत वितरण गरिरहेका छौँ ।’