
नेकपा एमाले केन्द्रीय सदस्य एवं धरान उपमहानगरकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् । केही दिन अघिदेखि मेयर साम्पाङले उनको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’बाट सामाजिक तथा जातीय सदभाव बिथोलिने गरी मञ्जु भण्डारीविरुद्ध बनाइएका फेक स्टाटसको स्क्रिनसट राखेर पोस्ट गरेपछि उनले साइबर अपराधअन्तर्गत कारबाहीका लागि उजुरी दिएकी हुन् ।
नेकपा एमाले र आफूविरुद्ध मेयर साम्पाङ नै लागेपछि उजुरी गर्न बाध्य भएको बिहीबार धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छिन् । यो आपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन् । केही दिनअघि मेयर हर्क साम्पाङले भण्डारीको तस्बिर जोडिएको फोटो पोस्ट गरेपछि भण्डारीले फेसबुकमार्फत नै मेयरलाई सचेत गराएकी थिइन् । तर, बिहीबार बिहानै मेयर साम्पाङले भण्डारीको नाममा बनेको फेक स्टाटसलाई सेयर गरेका थिए।
भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको पत्रकार सम्मेलनमा जानकारी दिइन् । ‘जातीय द्वन्द्व निम्त्याउने किसिमको विषयवस्तु राखेर फेक स्टाटस बनाएर स्क्रिनसट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोस्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ भण्डारीले भनिन्, ‘यस्तो गलत काम मेयरबाट जनताले आशा गरेका थिएनन् । उहाँ मेरो चरित्र हत्या गर्न लागेको देखियो ।’
बराहपीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरूको आन्दोलनलाई राजनीतीकरण गरी डाइभर्ट गर्न खोजेको भण्डारीको आरोप छ ।