१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १२ बिहीबार o८:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक सातादेखि थुप्रिएको फोहोर आजबाट उठ्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार o८:३४:oo

कलंकी, कालीमाटी, सोल्टीमोड, बागबजार, न्युरोडलगायतका सडकमा करिब नौ हजार मेट्रिक टन फोहोर थुप्रियो

करिब एक सातादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । बर्खाका वेला सडकमा थुप्रिएका फोहोरका कारण दुर्गन्ध फैलिएपछि काठमाडौं महानगरपालिकाले फोहोर उठाउने योजना बनाएको हो । 

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएकाले बिहीबारदेखि फोहोर उठाइने बताए । ‘सडक मर्मतसम्भार कार्यमा अधिकतम जनशक्ति र साधन स्रोत परिचालन गरी सडक सुचारु गर्न सकिने सम्बन्धित निकायबाट जानकारी प्राप्त भएकाले फोहोरमैलाको व्यवस्थापन गर्न बिहीबार बिहान ६ बजेदेखि पायक पर्ने स्थानहरूमा फोहोरमैला ढुवानीका लागि आउने सवारीसाधनसम्म पुर्‍याई सुरक्षित रूपमा घरभित्र राखिएको फोहोरमैला संकलन गर्ने कार्यमा सहयोग गर्न अनुरोध छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ । 

उपत्यकाको फोहोर ढुवानी गर्ने सडकखण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै ३ साउनमा सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो । विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले स्यानिटरी ल्यान्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य सात दिनका लागि रोक्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले सात दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो । प्रमुख साहको अध्यक्षतामा गठित समितिका सदस्यहरूमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली छन् ।

 ३२ वटै वडामा फोहोरमैला व्यवस्थापन अनुगमन टोली परिचालन हुँदै
बिहीबारदेखि नै महानगरभित्रका ३२ वटै वडामा फोहोरमैला व्यवस्थापनको अनुगमन टोली परिचालन हुने भएको छ । यसका लागि महानगरले टोलीसमेत तयार गरिसकेको छ । १० साउनमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालको निर्देशनअनुसार फोहोरमैला व्यवस्थापनको अनुगमन टोली बनेको हो । टोलीले बिहीबारदेखि नै काम गर्नेछ ।

३२ वटै वडामा निर्माण भएको टोलीले तोकिएको वडा क्षेत्रमा परिचालित भई प्रतिवेदन बनाउनुपर्नेछ । टोलीले सम्बन्धित वडाका सबै क्षेत्र निरीक्षण गरी कुन–कुन स्थानमा फोहोर छ, त्यसको परिमाणको अनुमान गर्ने र तस्बिर लिने, हालको फोहोरमैला संकलनमा निजी क्षेत्रको सहभागिता, संकलन गर्ने तौरतरिकाको जानकारी हासिल गर्ने, सम्बन्धित वडामा दैनिक उत्पादन हुने फोहोरमैलाको अनुमानित लेखाजोखा गर्ने, वडावासीको घरबाट फोहोर संकलनपछि सम्बन्धित वडामा फोहोरमैला ढुवानीअगाडि व्यवस्थित गर्ने केन्द्रबिन्दु रहे/नरहेको यकिन गर्ने, रहेको भए स्थान र संख्या लिनुपर्नेछ ।