मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण ९ सोमबार ०७:०४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुपर दोर्दी ‘ख’को ८८ प्रतिशत निर्माण सम्पन्न, माघभित्र उत्पादन गर्ने लक्ष्य

Read Time : > 1 मिनेट
२०७९ श्रावण ९ सोमबार ०७:०४:००

पिपुल्स हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी खोलामा निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको ८८ प्रतिशत निर्माण सम्पन्न भएकोे छ । हाल आयोजनाको विद्युत्गृह, सुरुङमार्गलगायतका काम तीव्र रूपमा भइरहेकोे छ । आयोजनाको सबै काम पूरा गरेर आगामी माघभित्र विद्युत् उत्पादन गर्ने कम्पनीले जानकारी दिएको छ ।

आयोजनाबाट यसअघि ०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो । गत असार १ गते राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्‍याउँदा तालिका प्रभावित भएको हो ।

०७८ असारमा आएको बाढीपहिरोले बाँध क्षेत्रसम्म पुग्ने पहुँचमार्ग बगाएकाले उक्त मार्गको पुनर्निर्माणको काम भइरहेको आयोजनाका निर्देशक अर्जुन गौतमले बताए । गौतमका अनुसार आयोजनाको पाँच हजार एक सय मिटर सुरुङ खन्ने र एक हजार एक सय मिटर पेनस्टक पाइप जडानको काम पूरा भएको छ । हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माण गरिरहेको विद्युत्गृहतर्फको ८५ प्रतिशत काम पूरा भएको छ । इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम ७० प्रतिशत पूरा भएको छ । 

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको  कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको  आवश्यक प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरिरहेको छ । ६ किलोमिटर लामो प्रसारण लाइनमा २० वटा टावर रहनेछन् । लाइनको काम पनि ६० प्रतिशतभन्दा बढी पूरा भएको कम्पनीले जनाएको छ । आयोजनाले ०७६ फागुनदेखि विद्युत् उत्पादन गर्ने सुरुवाती तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलाको बाढी र कोरोनाको असरले निर्माण प्रभावित हुँदा पछाडि धकेलिएको आयोजनाका निर्देशक गौतमले बताए । 

आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा खर्च बढ्ने देखिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा नौवटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनाको ०७२ सालमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको हो । आयोजनाको ०७३ असारबाट निर्माण कार्य सुरु भएको थियो ।