Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आरोपित उपमेयर राम चलितर महतो ।
२०७९ श्रावण ६ शुक्रबार १५:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार प्रयासका आरोपित लहानका उपमेयर सम्पर्कविहीन

जागिर लगाइदिने बहानामा बलात्कार गरेकाे पीडितकाे जाहेरीमा उल्लेख

Read Time : > 1 मिनेट
२०७९ श्रावण ६ शुक्रबार १५:१०:००

सिराहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध प्रहरीमा जबर्जस्ती करणी उद्योगमा किटानी जाहेरी दर्ता भएको छ। उपमेयर राम चलितर महतोले जागिर लगाइदिन्छु भनी गत १९ जेठमा आफ्नो कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको भन्दै लहानकी २१ वर्षीया महिलाले जाहेरी दिएकी हुन्।

जाहेरी दर्ता भएसँगै अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। प्रनाउ बुढाथोकीका अनुसार ४ साउनमा लहान प्रहरीमा किटानी जाहेरी दर्ता भएसँगै घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान थालिएको छ। अदालतबाट पक्राउ पुर्जी प्राप्त भएलगत्तै आरोपितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिने उनले बताए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गर्न अपरेटर पदका लागि छनाेट गर्न सघाउने भन्दै उपमेयर महतोले कार्यकक्षमा बोलाएपछि आफू गएको पीडित महिलाको जाहेरीमा उल्लेख छ।

१९ जेठको बिहान साढे ९ बजे सचिवालयमा बोलाएर करिब ११ बजेतिर कार्यकक्ष प्रवेश गरेका उपमेयर महतोले कार्यकक्षसँगै रहेको गोप्य कोठामा बलात्कार प्रयास गरेको जाहेरीमा जनाइएको छ। उपमेयरले गरेको हर्कतको प्रतिवाद गर्दै कार्यकक्षमा चिच्याउन थालेपछि ‘अब केही गर्दिनँ, हल्ला गरिस् भने तँसहित पतिलाई पनि सिध्याइदिन्छु’ भन्दै धम्क्याएको महिलाको आरोप छ। लहान नगरपालिकाले दर्ता अपरेटर पदका लागि १२ जेठमा सूचना प्रकाशन गर्नु एक दिनअघि कुराकानी गर्न उपमेयरले बोलाएपछि पीडित महिला नगरपालिका गएको बताइएको छ।

पीडित विस्थापित, उपमेयर सम्पर्कविहीन
स्थानीय सञ्चारमाध्यमहरूमार्फत घटना सार्वजनिक भएलगत्तै उपमेयर महतो पक्षले विभिन्न धम्की दिन थालेपछि पीडित घर छोडेर हिँडेका छन्। जाहेरी दर्ता भएसँगै विभिन्न खालको धम्की आउन थालेपछि बुधबार बिहानै घरबाट निस्किएर जिल्लाबाहिर आफन्तको घरमा बसिरहेका वेला दिउँसो ३ बजेतिर तीन–चारवटा जिपमा अपरिचित मानिस आएर धम्क्याएको पीडित महिलाका पतिले बताए। ‘कति रकम लिन्छौ लेऊ, तर जाहेरी फिर्ता लिएर मिलापत्र गर्दा नै राम्रो हुन्छ’ भन्दै धम्क्याएपछि त्यो ठाउँ पनि छोडेर गोप्य ठाउँमा बसिरहेको उनको भनाइ छ।

गत ३० वैशाखको निर्वाचनमा महतो पाँचदलीय गठबन्धनको समर्थनमा जनता समाजवादी पार्टीबाट उपमेयर निर्वाचित भएका थिए। जसपाको नगर कमिटीका पदाधिकारीले घटना सार्वजनिक भएपछि उपमेयर महतो आफूहरूको पनि सम्पर्कमा नरहेको बताएका छन्। जाहेरी दर्ता भएदेखि नै उनी मोबाइल बन्द गरेर सम्पर्कविहीन भएका छन्।