मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ४ बुधबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ४ बुधबार o९:३२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्कटल्यान्ड भ्रमणपछि सन्दीप भन्छन्–क्षमताअनुसार  प्रदर्शन भएन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ४ बुधबार o९:३२:oo

नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डमा आइसिसी विश्वकप लिग २ शृंखलामा चारमध्ये तीन खेल जित्ने लक्ष्यका साथ गएको थियो । शृंखलामा नेपालले तीनवटा हार तथा एक खेलमा जित निकाल्यो । समग्रमा स्कटल्यान्ड भ्रमणमा नेपाली टोलीको योजना असफल भएको थियो । नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले पनि स्कटल्यान्डमा आफूहरूको योजना असफल भएको प्रतिक्रिया दिएका छन् । 

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान सन्दीपले स्कटल्यान्ड भ्रमणको समीक्षा गर्दै ब्याटिङका कारण नेपालले तीनवटा खेल गुमाएको बताएका छन् । ‘स्कटल्यान्डमा हामीले सोचेजस्तो प्रदर्शन गर्न सकेनौँ,’ सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्दीपले भने । पछिल्लो समय नेपाली टोलीले धेरै खेल खेल्दा पनि त्यसको फाइदा लिन नसकेको उनको भनाइ छ । 

‘जति धेरै खेलमा अभ्यस्त भइन्छ, त्यति नै फाइदा पुग्छ, तर हामीले यसको सदुपयोग गर्न सकेका छैनौँ,’ सन्दीपले भने, ‘नेपालले राम्रो टोलीसँग खेल्न मौका पाएका छौँ, तर सकारात्मक नतिजा भने निकाल्न चुकिरहेका छौँ ।’ एक खेलाडी तथा टोलीका रूपमा स्कटल्यान्ड भ्रमण असफल भएको उनले विश्लेषण गरेका छन् । ‘तयारीका साथ स्कटल्यान्डमा सिरिज खेल्न गएका थियौँ, एक खेलाडी र टोलीले राम्रो नतिजा निकाल्न सकेनन्,’ उनले भने । सिरिजमा नेपाल नामिबियासँग दुवै खेलमा क्रमशः ४० तथा ६३ रनले पराजित भएको थियो । 

नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डबाट आठ विकेटले हारको सामना गरेको थियो । खराब ब्याटिङका कारण नै नेपालले तीनवटै खेल गुमाएको सन्दीपको भनाइ छ । ‘मुख्य गरी ब्याटिङ कमजोरीकै कारण हामीले तीनवटा खेल गुमाउन बाध्य भयौँ,’ समीक्षा गर्दै उनले भने, ‘सम्भवतः यो नेपाली ब्याटिङकै मानसिक समस्याजस्तो लाग्छ, यसलाई अब सुधार गर्नुपर्छ ।’

धेरैजसो खेलाडीका लागि स्कटल्यान्डको मौसम नौलो भएकाले पनि त्यसमा भिज्न नसकेको उनले जनाए । उनी भन्छन्, ‘खेलाडीका लागि नयाँ वातावरण थियो, कडा चुनौतीमा जाँदा राम्रो खेल्न सके मात्र अर्को स्तरमा पुग्न सक्छौँ ।’ नेपालले २०१५ पछि पहिलोपटक स्कटल्यान्डमा खेलेको थियो । यसपटकको टोलीमा करण केसी र सोमपाल कामी त्यसवेला नेपाली भ्रमणमा थिए । 

नेपालले विश्वकप लिग २ मा १६ खेल खेल्न बाँकी छ । १६ मध्य ८ खेल घरेलु मैदान र बाँकी चार–चार पपुवा न्युगिनी र नामिबियामा गएर खेल्नुपर्ने हुन्छ । नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै छैटौँ स्थानमा छ । नेपाललाई शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने दबाब छ । शीर्ष पाँचमा पर्न १० भन्दा बढी खेल जित्नुपर्ने हुन्छ ।

‘कप्तानभन्दा खेलाडीका रूपमा उभिन्छु’
नेपाल क्रिकेट संघ (क्यान) र प्रशिक्षक पुवुदु दासानायकेले नेपाली टोलीबीच विवाद चलिरहँदा मध्यमार्गीका रूपमा युवा खेलाडी सन्दीपलाई टोलीका नयाँ कप्तान बनाएका थिए । सन्दीपको कप्तानीमा नेपालले आइसिसी टी–२० विश्वकप छनोट तथा विश्वकप लिग २ मा सहभागिता जनाएको थियो । सन्दीपले नेतृत्व गरेका १४ एकदिवसीयमध्ये नौ खेलमा हारको सामना गरेको छ । एक खेल बराबरीका रूपमा निस्किएको थियो । सन्दीपले आफूलाई मैदानमा कप्तानभन्दा पनि एक खेलाडीका रूपमा अगाडि बढाउन चाहेको बताएका छन् ।

उनी भन्छन्, ‘म आफूलाई एक कप्तानभन्दा पनि खेलाडीका रूपमा अगाडि बढाउन चाहन्छ् ।’ उनले आफ्नो कप्तानीमा नेपाललाई राम्रो नतिजा दिलाउन नसकेको स्विकारेका छन् । भन्छन्, ‘मेरो कप्तानीमा राम्रो नतिजा आइरहेको छैन, विश्वास छ आउँदो दिनमा राम्रो नतिजा निकाल्ने प्रयास गर्ने छु ।’ सन्दीपले टोलीमा रहेका सबै खेलाडी क्षमतावान् नभएको जनाएका छन् । खेलाडीहरूले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न नसक्दा नै नेपालका पक्षमा नतिजा नआइरहेको उनको भनाइ छ । ‘टोलीमा सबै खेलाडी क्षमतावान् नै छन्, सवै खेलाडीले क्षमताअनुसार खेल्न सकिरहेका छैनन्,’ उनले भने, ‘यसको विश्लेषण हुनुपर्छ ।’ 

पुबुदु राम्रा प्रशिक्षक
सन् २०११ मा पुबुदु नेपाली टोलीका मुख्य प्रशिक्षक भएका थिए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको आइसिसी टी–२० विश्वकपमा नेपाल पहिलोपटक छनोट भएको थियो । पहिलो कार्यकालमा पुबुदुले नेपाललाई आइसिसी डिभिजन ३ र २ को विजेता बनाएका थिए । पहिलो कार्यकाल पुबुदुका लागि उत्कृष्ट रह्यो । तर, दोस्रो कार्यकालमा भने उनले नेपाललाई सोचेजस्तो नतिजा दिलाउन सकेका छैनन् । नेपालको हार वा जितमा प्रशिक्षकको भूमिका पनि उत्तिकै रहनेगर्छ । आइसिसी विश्वकप लिग २ मा लगातार खराब नतिजा व्यहोरेको नेपालका प्रशिक्षक पुबुदुको पनि यतिवेला आलोचना भइरहेको छ । 

कप्तान सन्दीपले प्रशिक्षक पुबुदु राम्रा प्रशिक्षक नै भएको बताएका छन् । ‘एक प्रशिक्षकका रूपमा उहाँले निकै राम्रो गर्नुभएको छ, उहाँको हारमा कुनै गल्ती छैन,’ सन्दीपले भने, ‘ब्याटिङमा हामीहरूको पुरानै समस्या हो, अहिले आएर मात्र उहाँलाई दोषी देखाउन खोजिएजस्तो लाग्छ ।’ मैदानमा खेलाडीले नै प्रतिस्पर्धा गर्ने भएकाले हारको जिम्मेवारी पनि खेलाडीले नै लिनुपर्ने सन्दीपको भनाइ छ ।