मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १ आइतबार
  • Friday, 20 December, 2024
२o७९ श्रावण १ आइतबार ११:१६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालकै अग्लो २७०० मिटर उचाइमा सबस्टेसन निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १ आइतबार ११:१६:oo

नेपाल विद्युत् प्राधिकरणले मनाङमा पहिलोपटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा ल्याएको छ । ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख मिलन सुवेदीले बताए । उनका अनुसार दुई वर्षदेखि निर्माण सुरु गरिएको सबस्टेसन नेपालकै सबैभन्दा उचाइमा रहेको छ । 

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, चिप्लेबेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत दुई हजार सात सय मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याइएको हो । गत वर्षको असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो । हिमपातले निर्माण कार्य प्रभावित हुँदै आएको थियो । विद्युत् आपूर्तिमा आएको अवरोधका कारण जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवामा समेत नियमित रूपमा सञ्चालन गर्न असहज भएको थियो । बाढीले क्षति पुर्‍याउँदा प्राधिकरणको तीन करोडभन्दा बढीको क्षति भएको थियो । क्षतिग्रस्त लाइनको पुनर्निर्माणको काम ०७९ वैशाखभित्रै सम्पन्न भएको केन्द्रका प्रमुख सुवेदीले बताए । 

अहिले चामे क्षेत्रका करिब ९० घरधुरी बिजुलीबाट लाभान्वित भएका छन् । यो सबस्टेसनबाट विद्युतीकरण हुने तिलिचो तालसम्मको र थोरङ बेस क्याम्पसम्म लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मनाङमा ०७७ फागुनमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुर्‍याइएको थियो । यसअघि उक्त क्षेत्रमा विद्युत् विस्तार नहुँदा लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति भइरहेको थियो । 

राष्ट्रिय ग्रिड पुगेकाले अब विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनले भने, ‘यसअघि लघु जलविद्युत्को भोल्टेज कम हुँदा सरकारी र वित्तीय संघ–संस्थालाई दैनिक कामकाजमा समेत समस्या हुँदै आएको थियो ।’ लामो समयदेखि विद्युत् विस्तार नहुँदा लघु जलविद्युत्का भरमा दैनिकी चलाउँदै आएका मनाङवासी गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली आएसँगै खुसी भएका छन् । यसअघि स्यार्कु सबस्टेसन निर्माणाधीन अवस्थामा रहेकाले बाइपास गरी चामेमा विद्युत् वितरण गरिएको थियो । ०५१ सालबाट मनाङमा केन्द्रीय प्रसारण लाइन पुर्‍याउने योजना रहे पनि भौगोलिक विकटता र प्रयोग गरेको सामान वातावरण अनुकूल नभएकाले सामग्रीको अभावले योजना पूरा भएको थिएन ।