
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आमचुनावअघि पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई मिलाएर लैजान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा उनले पाँचदलीय गठबन्धनसँगै पार्टीभित्र पनि गठबन्धन गरेर जान आग्रह गरे । ‘मैले सभापतिजीलाई भनेँ – १४ ओैँ महाधिवेशनमा म पनि तपाईंको खिलापमा उठेको थिएँ । शेखरजी, प्रकाशमानजी हुनुहुन्थ्यो । रामचन्द्र, शशांक र सिटौलाजीले चुनाव लड्नुभएको थिएन,’ निधिले भने, ‘तर हामी सबैलाई थाहा छ कांग्रेसमा शक्तिकेन्द्र र उपकेन्द्र छन् । त्यसलाई मिलाएर लैजानुस् ।’
पार्टी सुदृढीकरणका लागि पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्र मिलाउन आवश्यक भएको भन्दै त्यसको जिम्मेवारी सभापतिको काँधमा रहेको बताए । यस्तै, उनले पार्टीका विभाग र भ्रातृ संस्थालाई तत्काल पूर्णता दिनुपर्नेमा जोड दिए । स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिएर जितेकाहरूलाई पार्टीको पूर्ववत् जिम्मेवारी दिनुपर्ने उनको माग छ ।
नेता निधिले आगामी निर्वाचनसम्म सरकार सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री देउवालाई आफ्नो साथ र सहयोग रहने बताए ।