मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३० बिहीबार
  • Thursday, 19 December, 2024
अशोक स्वाइन
२o७९ असार ३० बिहीबार o९:११:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एसियामा बलियो छ लोकरिझ्याइँवाद

Read Time : > 2 मिनेट
अशोक स्वाइन
नयाँ पत्रिका
२o७९ असार ३० बिहीबार o९:११:oo

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कुनैवेला अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बेलायतका ट्रम्प’ बताएका थिए । तिनै जोनसन कार्यकाल सम्हालेको तीन वर्षभित्रै आफ्नै कन्जरभेटिभ पार्टीभित्र भएको विद्रोहका कारण पद त्याग्न बाध्य भएका छन् । सन् २०२० मा पुनः निर्वाचनको मागमा पराजित भएपछि प्रधानमन्त्री बोरिस जोनसन सत्ता जोगाउन असमर्थ भएका छन् । पछिल्ला दुई वर्षमा हंगेरीमा भिक्टर ओर्बानको चौथो कार्यकालको विजयबाहेक बुल्गेरिया, चेक गणतन्त्र, इजरायल, इटली र स्लोभेनियाका लोकरिझ्याइँवादी नेता पराजित भएका छन् ।  

तैपनि, लोकरिझ्याइँवादको लोकप्रियता घटेको देखिँदैन, उल्टै लोकरिझ्याइँवादी नेता शक्तिशाली बन्दै गएका छन् । र, यो प्रवृत्ति विशेषतः एसियामा देख्न सकिन्छ । युरोपका केही लोकरिझ्याइँवादी नेता प्रधानमन्त्री वा राष्ट्रपतिको पद त्याग्न बाध्य भए पनि युरोपमा लोकरिझ्याइँवादको लोकप्रियता घटेको हो भन्ने अर्थ लाग्दैन । इटलीमा अघिल्लो महिनाको स्थानीय चुनावमा उग्र–दक्षिणपन्थी दल ब्रदर्स अफ इटली पार्टीको स्थानमा उल्लेख्य वृद्धि भएको छ ।

दक्षिणपन्थी लोकरिझ्याइँवादी नेताले एकसाथ आएर चुनाव लड्दा राम्रै प्रदर्शन गरेका छन् । दक्षिणपन्थी लोकरिझ्याइँवादी नेताका समूहमा नयाँ थपिएका एरिक जेमोले आफ्नो चरम इस्लामद्वेषी भाषण गरेपछि अघिल्लो राष्ट्रपति चुनावमा ठूलै चर्चा बटुलेका थिए । यदि जेमो र म्यारिन लु पेन एकै ठाउँमा आएका भए यही १० अप्रिलमा भएको राष्ट्रपतीय चुनावको पहिलो चरणमा लु पेनले इम्यानुएल म्याक्रोँभन्दा बढी मत हासिल गर्ने थिइन् । युरोपका लोकरिझ्याइँवादी नेता चुनावमा पराजित भए भन्दैमा महादेशमै लोकरिझ्याइँवाद कालको अन्त्य भयो भन्नु तर्कसंगत हुँदैन । युरोपमा दक्षिणपन्थी लोकरिझ्याइँवादी नेता हार्नुका तीन कारण छन् । पहिलो– कोभिड–१९ महामारी र युक्रेन युद्धका कारण बदलिँदो क्षेत्रीय सुरक्षाका कारण लोकरिझ्याइँवादी नेताप्रति केही हदसम्म आकर्षण घटेको छ । दोस्रो, इजरायल र बुल्गेरियालगायत मुलुकमा भिन्न राजनीतिक विचार भएका विपक्षी एक ठाउँमा आएर मात्रै लोकरिझ्याइँवादी नेतालाई सत्ताच्युत गर्न सफल भएका छन् । तेस्रो– दक्षिणपन्थी पार्टीभित्रको फुटका कारण फ्रान्स, इटलीलगायत मुलुकमा दक्षिणपन्थी लोकरिझ्याइँवादी चुनावमा पराजित भएका छन् । 

लोकरिझ्याइँवादी नेताको बहिर्गमनका बाबजुद युरोपका केही देशमा लोकतन्त्रको पुनर्बहाली हुन सकेको छैन । चुनावमा पराजित भए पनि विद्यमान आर्थिक एवं सामाजिक विभाजन देखाएर युरोपेली लोकरिझ्याइँवादीले आफूप्रतिको आकर्षणलाई समाप्त हुन दिएका छैनन् । यी मुलुकमा लोकरिझ्याइँवाद यसरी आन्तरिकीकृत भइसकेको छ कि लोकतान्त्रिक संस्था एवं राजनीतिक संस्कारको पुनर्वहाली हुन धेरै समय लाग्नेछ ।  

युरोपेली लोकरिझ्याइँवादी आप्रवासीसँगको सांस्कृतिक भिन्नतामा जोड दिन्छन् भने एसियाली लोकरिझ्याइँवादी जातीय एवं धार्मिक अल्पसंख्यकको सांस्कृतिक भिन्नतासँगै तिनको देशप्रतिको बफादारीमाथि नै प्रश्न गर्छन् 
  

दक्षिणपन्थी लोकरिझ्याइँवादबारे हुने बहस मूलतः युरोपकेन्द्रित छ । एसियामा दक्षिणपन्थी लोकरिझ्याइँवाद थप फैलिएको र आन्तरिकीकृत भएको छ, तर बहसमा एसिया प्रायः छुट्ने गर्छ । टर्कीदेखि इन्डोनेसिया र भारतदेखि फिलिपिन्ससम्मका एसियाका लोकरिझ्याइँवादी नेता सत्तामा छन् । सत्तामा रहेका वा सत्ताकांक्षी लोकरिझ्याइँवादी शक्तिले जनसमर्थनका लागि युरोपेली सूत्र लागू गरेका छन् । परम्परागत राजनीतिक सम्भ्रान्तबाट यी लोकरिझ्याइँवादी आफूलाई टाढा राख्छन् र समाज एवं अर्थतन्त्रका जटिल समस्याका सतही समाधान दिन्छन् । र, यी शक्तिले समस्यालाई समाजका जोखिममा रहेकाको थाप्लामा राखिदिन्छन् । यद्यपि केही भिन्नताका कारण एसियाली लोकरिझ्याइँवादीप्रति आकर्षण बढी छ र तिनलाई सत्ताबाट हटाउन गाह्रो छ । युरोपका लोकरिझ्याइँवादी आप्रवासीलाई आफ्नो मूल भूमिका ‘वास्तविक मानिस’बाट बाहिरिया देखाउँछन् भने एसियाली लोकरिझ्याइँवादी आप्रवासीलाई नभई जातीय एवं धार्मिक अल्पसंख्यकलाई बाहिरियाजसरी व्यवहार गर्छन् । 

एसियाका लोकरिझ्याइँवादी आफ्नो मुलुकलाई धर्मका आधारमा बाँड्छन् र आफूलाई बहुसंख्यक समुदायको सांस्कृतिक मूल्य–मान्यता र आर्थिक स्वार्थको रक्षक देखाउँछन् । धार्मिक विभाजन उनीहरूको पहिलो अस्त्र हो । लोकरिझ्याइँवादी नेता छाती फुलाएर जातीय एवं धार्मिक सर्वोच्चता प्रदर्शन गर्छन् । युरोपेली लोकरिझ्याइँवादी आप्रवासीसँगको सांस्कृतिक भिन्नतामा जोड दिन्छन् भने एसियाली लोकरिझ्याइँवादी जातीय एवं धार्मिक अल्पसंख्यकको सांस्कृतिक भिन्नता मात्रै नभई तिनको देशप्रतिको बफादारीमा समेत प्रश्न गर्छन् ।    

युरोपका मूलधारका राजनीतिक दललाई आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरे लोकरिझ्याइँवादीको सामना गर्न सजिलो छ । र, जब अर्थतन्त्र सुचारु रहन्छ, तब आप्रवासनसम्बन्धी मुद्दा शिथिल हुन पुग्छ । तर, एसियामा आधार गुमाएका मूलधारका राजनीतिक दललाई आफ्नो साख फिर्ता लिन गाह्रो छ । एसियाका यी राजनीतिक दललाई वैचारिक एवं ऐतिहासिक कारण मुलुकका अल्पसंख्यकविरुद्ध ल्याइने विभेदकारी नीतिलाई समर्थन गर्न गाह्रो हुन्छ ।

एसियाली लोकरिझ्याइँवादी घरेलु राजनीतिमा मात्रै नभई तथाकथित खुला विश्वमा समेत प्रभावशाली छन्, किनभने यी लोकरिझ्याइँवादी युरोपेली लोकरिझ्याइँवादीले झैँ व्यापार वा आप्रवासन वा क्षेत्रीय संगठनको विरोध गर्दैनन् । एसियाली लोकरिझ्याइँवादी सत्तामा उक्लिन वा रहिरहन आप्रवासनविरोधी वा बहुपक्षीयतावादको विरोध गर्दैनन् । यी लोकरिझ्याइँवादी जातीय एवं धार्मिक सर्वोच्चता फैलाएर सत्तामा उक्लिन्छन् र टिकिरहन्छन्, किनभने एसियाका संघर्षरत लोकतन्त्रको चुनावी राजनीतिमा यी लोकरिझ्याइँवादीलाई हराउन निकै गाह्रो छ ।    श्रीलंकास्तरको आर्थिक संकटले मात्रै एसियाका लोकरिझ्याइँवादी सत्ताच्युत हुन सक्छन्, तर युरोपमा झैँ हुने स्वतन्त्र चुनावले यहाँका लोकरिझ्याइँवादीलाई सत्ताच्युत गराउन सकिँदैन । 
गल्फ न्युजबाट (स्वाइन स्विडेनको उप्सला विश्विविद्यालयमा पिस एन्ड कन्फ्लिक्ट रिसर्चमा प्राध्यापन गर्छन्)