
प्रतिनिधिसभाको आज बस्ने भनिएकाे बैठक अहिलेसम्म पनि बस्न सकिरहेको छैन । आज दिउँसो १ बजे बस्ने गरी कार्यसूची तयार भए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन। भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएका प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् ।
सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मंगलबार पनि बैठक अवरुद्ध भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षीबिच सहमति नजुटेकाले संसद् चल्न ढिला भइरहेको बताए। प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने, तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग रहेको उनले जानकारी दिए।