जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार चुनावी प्रचारका क्रममा देशको पश्चिमी सहर नारामा गोली प्रहार भयो । उपचारको क्रममा आबेको अस्पतालमै मृत्यु भयो । आबेमाथि गोली प्रहार हुँदा उनी जापानको माथिल्लो सदनको नजिकिँदै गरेको चुनावको प्रचार–प्रचारमा थिए ।
आबे जापानका राजनीतिक घरानाबाट आएका थिए । उनका पिता पूर्वविदेशमन्त्री थिए भने मावलीका हजुरबुबा नोबुसुके किसी प्रधानमन्त्री नै भइसकेका थिए । यसले गर्दा उनलाई राजनीतिमा आउन सजिलो भयो । सन् १९९३ मा पहिलोपटक सांसद बनेका आबेले सन् २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्मा महत्वपूर्ण पद हासिल गरेका थिए । उनलाई उक्त सरकारमा मुख्य क्याबिनेट सचिवजस्तो महत्वपूर्ण भूमिका दिएको थियो । उनी देशको सर्र्वोच्च पदका लागि तयारी गर्दै थिए र यसका लागि उनले सत्तारूढ लिबरल डेमाक्रेटिक पार्टीमा पकड बनाउन लागेका थिए ।
जापान प्रजातान्त्रिक मुलुक भएपछि त्यहाँको राजनीतिदेखि कर्मचारीतन्त्रसम्म लिबरल डेमोक्रेटिक पार्टीको एकछत्र राजजस्तै छ । सन् १९५५ मा देशका दुई प्रमुख कन्जरभेटिभ पार्टी जापान डेमोक्रेटिक पार्टी र लिबरल पार्टीबीच एकता भएयता केही वर्षबाहेक सधैँ यही पार्टी सरकारमा छ । त्यहाँका व्यवसायीहरूमाझ पनि यसको राम्रो पकड भएकाले उनीहरू पनि अन्य पार्टी आएको मन पराउँदैनन् भनिन्छ । लिबरल डेमोक्रेटिक पार्टीले राज्य संयन्त्र, कर्मचारीतन्त्र र व्यापारीहरूमाझ बलियो पकड रहेकाले अरू पार्टीले सरकार बनाइहाले पनि त्यो लामो नहुने विश्लेषण गरिन्छ । त्यसमाथि लिबरल डेमोक्रेटिक पार्टीबाहेकका दलहरू साना भएकाले तिनले प्रर्याप्त चुनौती दिन सकेका छैनन् । यस्तो अवस्थामा लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा पुग्ने नै देशको प्रधानमन्त्री हुने परम्पराजस्तै हुन थालेको धेरै भइसक्यो ।
सन् २००६ मा उनी पार्टी नेतृत्वमा चुनिएसँगै प्रधानमन्त्री हुने पक्का भयो । प्रधानमन्त्री चुनिँदा उनी दोस्रो विश्वयुद्धपछिका जापानी प्रधानमन्त्रीमध्ये सबैभन्दा कान्छो थिए । एकपछि अर्को काण्डले उनको सरकारलाई प्रभावित बनाइरहेको समयमा एक वर्षभित्रै सन् २००७ सेप्टेम्बरमा राजीनामा दिए । राजीनामाका लागि उनले आफ्नो कमजोर स्वास्थ्य अवस्थालाई कारण बताए । सन् २०१२ मा आबे प्रधानमन्त्रीको सिंहासनमा फर्किए । उनले उपचारपछि आफू पूर्णरूपमा स्वस्थ रहेको घोषणा गरेका थिए । त्यसपछि सन् २०१४ र २०१७ मा उनी पुनः प्रधानमन्त्री पदका लागि निर्वाचित भए । कुल सात वर्ष दुई सय ६६ दिन देशका प्रधानमन्त्री बनेर आबेले जापानको इतिहासमामा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्तिको कीर्तिमान बनाएका छन् ।
आबेको जीवनको सबैभन्दा ठूलो लक्ष्य जापानको सैन्यशक्तिलाई पुनस्र्थापित गर्नु थियो । धेरै प्रयासमार्फत केही कदम अघि बढेको भए पनि उनको सपना पूरा हुन भने पाएन ।
आबे र आबेनोमिक्स
आबेको मृत्युपछि उनले अघि सारेको उनकै नाम रहेको ‘आबेनोमिक्स’को धेरै चर्चा भइरहेको छ । जापानको अर्थतन्त्र सन् १९६० को दशकको सुरुदेखि तीव्र आर्थिक विकास गरेर विश्वलाई नै चकित बनाएको थियो । तर, सन् १९९० को दशकको सुरुमा यो तीव्र गतिमा एक्कासी ब्रेक लाग्यो । त्यसपछि करिब १० वर्ष देशको अर्थतन्त्र पूरै जामजस्तो भयो । यस दशकपछि पनि अर्थतन्त्रमा उत्साहप्रद सक्रियता देखिएको थिएन । यस्तो समयमा आबेले सरकारी खर्च बढाएर, ऋण लिने प्रक्रियालाई अत्यधिक सजिलो बनाए र संरचनात्मक सुधार गरेर आर्थिक इन्जिनलाई पुनः तेज बनाउने लक्ष्य लिएका थिए ।
आबेनोमिक्सले अर्थतन्त्रलाई केही गतिशील बनाए पनि आफ्ना प्रमुख आर्थिक लक्ष्य भने हासिल गर्न असफल रह्यो । आबेले जापानी अर्थतन्त्रको आकार सन् २०२० सम्म ४.४ ट्रिलियन डलर बनाउने लक्ष्य लिए पनि दुई वर्षपछि पनि अझै सो लक्ष्य हासिल भएको छैन ।
राष्ट्रवादी आबे
गतिहीन अर्थतन्त्रलाई तरंगित बनाउने लक्ष्य लिनुअघि आबे देशमा राष्ट्रवादी नेताका रूपमा परिचित थिए र प्रधानमन्त्रीका रूपमा पनि उनको यो पहिचान धुमिल भएन । आबे दोस्रो विश्वयुद्धपछि जापानले लिएको युद्धविरोधी मार्गबाट असन्तुष्ट थिए । उनी देशको अर्थतन्त्र झल्किने खालको सैन्य तागतको पक्षपाती थिए । दोस्रो विश्वयुद्धमा अमेरिकासँग पराजित भएपछि जापानको संविधान पनि उसैले लेखिदिएको हो । संविधानमा जापानले आक्रामक सैन्य विस्तार गर्न नपाउने, देशको सेनाले आत्मरक्षाका लागि मात्र सक्रिय हुन पाउने व्यवस्था छ । अर्थात् जापानले विदेशी भूमिमा हुने युद्धमा सहभागी हुन पाउँदैन । यस प्रावधानले देशलाई कमजोर राष्ट्रको रूपमा प्रस्तुत गरेको भन्दै जापानी राष्ट्रवादीहरूले विरोध गर्दै आएका थिए ।
कुल सात वर्ष दुई सय ६६ दिन प्रधानमन्त्री बनेर आबेले जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्तिको कीर्तिमान बनाएका छन् ।
संविधान संशोधनमार्फत यो प्रावधान हटाउन नसकेपछि आबेले सन् २०१५ मा देशको सेनालाई विदेशी द्वन्द्वमा सहभागी हुन बाटो खोल्ने कानुन पास ग¥यो । यस कानुनले संविधानका विभिन्न प्रावधानलाई पुनः परिभाषित गर्ने उपाय अवलम्बन गरेको थियो । छिमेकी देशको विरोध र देशभित्र पनि विपक्षी पार्टीहरूको अवरोधलाई बेवास्ता गर्दै जापानी संसद्ले यो विवादास्पद कानुनलाई १९ सेप्टेम्बरमा अनुमोदन गर्यो । आबेले विगतमा सैन्यगुटमा तटस्थ रहने जापानलाई सैन्य समूहमा पनि जोड्ने प्रयास सुरु गरे । चीनविरोधी मोर्चाका रूपमा हाल चर्चामा रहेको क्वाडमा जापानको सहभागिताका लागि आबेको ठूलो भूमिका थियो ।
उनको राष्ट्रवादी विचारले प्रायः चीन र दक्षिण कोरियासँग जापानको सम्बन्धमा असर गथ्र्यो । दोस्रो विश्वयुद्ध र अझ त्यसभन्दा अघिदेखि सम्पूर्ण कोरियाली प्रायद्वीप र चीनको मन्चुरिया क्षेत्र जापानले कब्जा गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि जापानले ठूलो नरसंहार मच्चाएको थियो । जापानले त्यसवेला कोरिया प्रायद्वीप र चीनमा मच्चाएको नरसंहारको मुद्दा अझै सल्टाएको छैन । जसले गर्दा समय–समयमा ती मुलुकमा जापानविरोधी भावना फैलिने गर्छ ।
विशेषतः टोकियोस्थित यासुकुनी मन्दिरमा लेखिएका हजारौँ जापानी सैनिकको नाममा दोस्रो विश्वयुद्धको समयमा भएका युद्ध अपराधमा संलग्नको नाम पनि रहेको बताइन्छ । त्यस मन्दिरमा जापानी नेताहरू गएपछि चीन र कोरियामा विरोध हुनेगर्छ । त्यसैले विवाद पन्छाउन जापानी प्रधानमन्त्री तथा मन्त्रीहरू सो मन्दिरमै जाँदैनन् । तर, सन् २०१३ मा प्रधानमन्त्री बनेपछि आबे सो मन्दिरको दर्शन गर्न गए । चीनमा ठूलो विरोध भयो । दक्षिण कोरियाले पनि आबेको उक्त हर्कतको आलोचना गर्यो । आबे उनको अडानमा अडिग रहे । यस प्रकरणले पनि उनीभित्रको जापानको सैन्यकरणप्रतिको मोह दर्साएको मानिन्छ । आबेको जीवनको सबैभन्दा ठूलो लक्ष्य जापानको सैन्यशक्तिलाई पुनस्र्थापित गर्नु थियो । धेरै प्रयासमार्फत केही कदम अघि बढेको भए पनि उनको सपना पूरा हुन भने पाएन ।