नेपाली फुटबलकै पहिलो फ्रेन्चाइज लिग (एनएसएल) फेरि एकपटक अन्योलमा परेको छ । एनएसएल लिगको आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)बीचको सम्झौता रद्द गर्न सिफारिस गरिने भएको छ ।
एन्फाका पदाधिकारी र लिगसँगको असन्तुष्ट देखिएका सहिद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबबीच शुक्रबार एन्फामा भएको छलफलले सम्झौता रद्द हुनुपर्ने सिफारिस गरेको हो । बैठकमा असन्तुष्ट चार क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, संकटा र न्युरोड टिमका प्रतिनिधिको उपस्थिति रहेको थियो । एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एनएसएल सुरु भएको थियो ।
असन्तुष्ट चार ‘ए’ डिभिजन क्लब र एन्फाबीच शुक्रबार भएको बैठकले एनएसएल लिगको आयोजनाका लागि एनएसइएमबीचको सम्झौता रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ, बैठकमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, संकटा र न्युरोड टिमका प्रतिनिधिको उपस्थिति रहेको थियो
शेर्पाकै कार्यकालमा एनएसएलमा खेलाडी आबद्ध हुन क्लबलाई जानकारी नदिई नै फ्रेन्चाइज टोलीमा आबद्ध भएका थिए । एन्फाले एनएसएललाई प्राथमिकतामा राख्दा वार्षिक अनुबन्धित भएका खेलाडीहरूले आफू अनुबन्धित क्लबलाई विनाजानकारी नै फ्रेन्चाइज टोलीमा गएका थिए । यस प्रकरणपछि ‘ए’ डिभिजनका चार क्लब र एन्फाका पदाधिकारीबीच दूरी बढेको थियो ।
शेर्पाको कार्यकालमा एनएसएल सम्बन्धमा छलफल भएको थियो । त्यसवेला एन्फाका पदाधिकारी चुनावी माहोलमा होमिँदा एनएसएल विवाद त्यतिकै रहन पुग्यो । पंकजविक्रम नेम्वाङको नयाँ कार्यसमिति एन्फामा आएपछि एनएसएल सम्बन्धमा छलफल भएको थियो । असन्तुष्ट चार क्लब नेम्वाङनजिककै मानिन्छन् । ६ असारमा सम्पन्न निर्वाचनमा शेर्पालाई नेम्वाङले हराउन चारै क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एन्फामा आफ्नै पक्षधरका पदाधिकारी आएपछि एनएसएलको विवादबारे छलफल भएको हो ।
छलफलमा एन्फाबाट वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, दुई उपाध्यक्ष, महिला सदस्य तथा चारवटा क्लबका प्रतिनिधि सहभागी थिए । सम्झौतामा उल्लेख भएका केही विषयहरूमा प्रक्रिया नमिलेकाले रद्द गर्नका लागि एन्फा कार्यसमितिमा सिफारिस गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए । ‘सम्झौतामा हस्ताक्षर भएको मिति उल्लेख नै छैन, सम्झौताअनुसार सातै प्रदेशमा टोली बनाउने बनाउने भन्ने थियो,’ उनले भने ।
अन्तर्राष्ट्रियस्तरको फ्रेन्चाइज फुटबल प्रतियोतिगा आयोजना गर्दा फिफा र एएफसीबाट मान्यता लिनुपर्ने प्रावधान छ । तर, अघिल्लो कार्यसमितीले फुटबलका यी दुवै प्रमुख अन्तर्राष्ट्रिय निकायसँग मान्यता लिँदा धेरै प्रक्रिया नमिलेको उनले बताए । ‘एनएसएल सञ्चालन गर्न एएफसी र फिफाबाट मान्यता लिने केही प्रक्रिया नमिलेका सम्झौता भएकाले रद्द गर्नका लागि सिफारिस गर्ने निर्णय भएको हो,’ उनले भने ।
एनएसएल सम्झौता नै रद्द गर्न एन्फा कार्यसमितिमा पेस गर्ने निर्णय हुँदा यसको भविष्य कस्तो हुने गहकिलो प्रश्न उठेको छ । एन्फा र एनएसइएमबीच चार वर्षका लागि सम्झौता भएको छ । असन्तुष्ट क्लबका पदाधिकारीले एनएसएल आयोजना गर्न विवादित बुँदाहरू सुधार गर्नुपर्ने माग राखेका छन् । एन्फाले नमिलेका विषयमा मिलाउँदै सम्झौता गर्ने जनाएको छ ।
विवादका कारण दोस्रो संस्करण स्थगित
एनएसएलको पहिलो संस्करण कोरोना–१९ को महामारीबीच दशरथ रंगशालामा भएको थियो । दर्शकरहितको पहिलो संस्करणको एनएसएलको विजेता काठमाडौं बनेको थियो । पहिलो संस्करणमा खेलाडी अनुबन्ध सम्बन्धमा केही विवाद भएन । दोस्रो संस्करण सुरु हुनअघि नै खेलाडी अक्सन सम्बन्धमा ‘ए’ डिभिजन क्लब र एनएसएल आयोजकबीच विवाद भयो । दोस्रो संस्करण ०७८ चैतदेखि हुने भनिएको थियो ।
चार ‘ए’ डिभिजन क्लबहरूले करारमा रहेका खेलाडीले विनाजानकारी अक्सन गएको भन्दै विरोध जनाए । एन्फाले यसलाई सुरुमा सामान्य रूपमै लिएको थियो । असन्तुष्ट क्लब र एन्फाबीच आपसी छलफल हुन नसक्दा दोस्रो संस्करण हुन सकेन । यद्यपि, एन्फाले दोस्रो संस्करणका लागि नयाँ मिति घोषणाको तयारीमा थियो । क्लबसँगको विवाद नमिल्दै पूर्वअध्यक्ष शेर्पाको कार्यसमितिले एनएसएल आयोजनाका लागि ०७९ भदौ २५ देखि कात्तिक ५ सम्मको मिति उपलब्ध गराएको छ ।
एन्फाका तत्कालीन महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजक नेपाल स्पोर्टस् एन्ड एभेन्ट म्यानेजमेन्टलाई पत्र लेख्दै समय उपलब्ध गराएको पत्र पठाएका थिए । एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम ‘डी’ मेची सहभागी छन् ।