एनएमबि बैंकले सुर्खेतको वीरेन्द्रनगरमा रहेको सरस्वती प्राथमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ । कम्पनीले सामाजिक दायित्वअन्तर्गत विद्यालयको छानामाथिको पुनर्संरचना–सम्भार र कक्षाकोठाको मर्मत–सम्भार गरेको हो ।
गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थी खुलाचौरमै पढन बाध्य भएको थाहा भएपछि पुनर्निर्माण गरिदिएको बैंकले जनाएको छ । बैंकले चारवटा कोठाको पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको जनाइएको छ ।
उक्त परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेलले यस सहकार्यले विद्यार्थीलाई पठनपाठनमा सहज हुने विश्वास व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बैंकले वित्तीय कारोबार मात्र गर्ने थाहा भए पनि सामाजिक कार्यमा सहयोगसमेत गरेकाले खुसी लागेको बताए । प्रधानाध्यापक खड्काले भने, ‘वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा–सुविधा छैन् । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ ।’
बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ एटिएम तथा ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।