१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २० सोमबार १८:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महामन्त्री थापाले मागे अर्थमन्त्रीको राजीनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २० सोमबार १८:१६:००

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । अर्थमन्त्री शर्माको सम्बन्धमा संसद्भित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्ने उनले बताए । 

‘अहिले अर्थ मन्त्रालयले सिसिटिभि फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन,’ महामन्त्री थापाले भने, ‘तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ । र, तत्काल छानबिन गर्नुपर्छ ।’

महामन्त्री थापाले यस विषयमा छानबिन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए अर्थमन्त्री शर्मालाई कारबाही गर्नुपर्ने पनि बताए । यस विषयमा छानबिन नगर्दा गलत नजिर बस्ने उनको भनाइ थियो  ‘यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन । यस्तो गर्याैँ भने यसको एउटा नजिर बस्छ । र, जे गरे पनि हुन्छ भन्ने कुरा रहन्छ । वा, हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ,’ थापाले भने, ‘त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ । तत्काल उहाँले राजीनामा दिने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने ।’ छानबिन गरेपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो । दोषी होइन भने कम्तीमा देशलाई, जनतालाई थाहा भयो । यो होइन रहेछ भन्ने कुरा थाहा भयो ।’

महामन्त्री थापाले अर्थ मन्त्रालयको सिसिटिभि फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए । उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफूहरूले अनौपचारिक रूपमा भनिसकेको पनि बताए ।