मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अर्थ डिजिटल संस्करण

सेयर बजारमा आज पनि होला हरियाली ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १७ शुक्रबार ०९:११:००

सेयर बजारमा बिहीबार हरियाली छायो । नेप्से परिसूचक ७४ दशमलव ९३ अंकले बढेर दुई हजार ३७ दशमलव ६४ बिन्दुमा पुग्यो । ‘क’ वर्गका कम्पनीहरूको  कारोबारमापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ६३ अंकले बढेर तीन सय ९१ दशमलव ७८ बिन्दुमा पुग्यो ।

राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनुअघि बिहीबार विभिन्न निकायसँग बसेर मौद्रिक नीतिबारे छलफल गरिरहँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । 

बजार बढेसँगैै लगानीकर्ता उत्साहित बन्न पुगेका छन् । तर, यो अवस्था नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनुभन्दा ठीकअघिको हो । यही अवस्था शुक्रबार पनि रहला कि नरहला भन्ने कुतूहल धेरै लगानीकर्तामा छ । लामो समयदेखि ओरालो लागेको सेयर बजार सुधार गर्न लगानीकर्ताले विभिन्न माग उठाउँदै आएका छन् । ती माग सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने अपेक्षामा यसपटकको मौद्रिक नीतिलाई सेयर लगानीकर्ताले चासोका साथ हेरिरहेका छन् ।

बिहीबारै अर्थ मन्त्रालयले गठन गरेको पुँजी बजार सुझाव समितिले विभिन्न लगानीकर्ता संगठनका प्रतिनिधिसँग छलफल गरेको छ । अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सुझाव समितिले बजारको विकासका लागि लगानीकर्ताबाट सुझाव संकलन गरेको हो । सुझाव समितिसँगको छलफलमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल सहभागी थिए । छलफल कार्यक्रममा लगानीकर्ता संगठनहरूले सुझाव समितिलाई विभिन्न १८ बुँदे मागहरू पेस गरेका छन् । लगानीकर्तासँगको छलफलमा सहभागी राधा पोख्रेलका अनुसार सुझाव समितिले लगानीकर्ताका मागहरू अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।