मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १५ बुधबार
  • Thursday, 19 December, 2024
सुशीला शर्मा
२o७९ असार १५ बुधबार o६:५३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सौन्दर्यको परिभाषा र महिलाको वस्तुकरण

अहिले विश्वमा सौन्दर्य प्रसाधनको उपयोग गरेर या शरीरको नापनक्सालाई कुनै ‘फम्र्याट’मा ढालेर सौन्दर्य प्रतियोगिता आयोजना गर्ने होडबाजी चलिरहेको छ

Read Time : > 2 मिनेट
सुशीला शर्मा
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार o६:५३:oo

बिहेको सिजन छ । हाम्रो संस्कृतिमा विवाहमा सिँगारिने संस्कृति त छँदै छ । वैवाहिक जीवनले व्यक्ति एकबाट दुई हुँदै परिवारका रूपमा स्थापित हुन्छ । मानिस सजिएर यस्तो अवसरलाई विधिविधानसहित मनाउन चाहन्छ । अझ महिलाले बढी नै सुन्दर देखिनुपर्ने हुन्छ । सुन्दर हुने सवालमा यो विवाहको कुरा आएको हो । विवाहको शृंगारको संस्कृति हाम्रो छिमेकी देश र पश्चिमा संस्कृतिबाट आयातित भएको हो । सजधजको यस्तो संस्कृतिलाई विदेशीकै भए पनि हाम्रो समाजमा पनि सगौरव स्वागत गर्न थालिसकिएको छ । 

अहिले विश्वमा सौन्दर्य प्रसाधनको उपयोग गरेर या शरीरको नापनक्सालाई कुनै ‘फम्र्याट’मा ढालेर सौन्दर्य प्रतियोगिता आयोजना गर्ने होडबाजी चलिरहेको छ । यसरी सौन्दर्य सामग्री उत्पादन र त्यसको प्रवद्र्धनका लागि भए पनि सौन्दर्य प्रतियोगिताको अनेक स्वरूप प्रदर्शन गर्न चाहन्छ विश्व बजार । अनि यसको सबैभन्दा प्राथमिकताको उपभोक्तामा भने महिला नै पर्ने गर्छन् । सिनेमा, मोडलिङ, सुन्दरी प्रतियोगिता आदिले नै प्रायः सुन्दरता र सौन्दर्यको भाष्य बनाइरहेको देख्न सकिन्छ । 

सौन्दर्यलाई लिएर मानिस विवाह समारोहमा मात्र होइन, दैनन्दिन पनि सचेत हुन्छन् र अझ महिलामाथि यो जिम्मेवारी बढी नै छ जस्तो देखिन्छ । केही समयअगाडि सौन्दर्य र यससम्बन्धी प्रतियोगितालाई लिएर समाजवादी बौद्धिक शिविर भन्ने समूहले एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम आयोजना गर्नुको प्रमुख उद्देश्य सौन्दर्य बजारमा महिलालाई वस्तुकरण गरिएकोबारे र यसभित्र महिला शोषणका विविध स्वरूप झाँगिँदै गएकोमा पनि केन्द्रित थियो । कार्यक्रममा सौन्दर्य प्रतियोगितामा सहभागी भइसकेकी एक प्रतियोगीले पनि साँच्चै नै महिलालाई उनीहरूको शारीरिक र मानसिक वद्धि र विकास नहुँदै यस्ता सौन्दर्य प्रतियोगितामा सहभागी गराउनु र उनीहरूका शरीरका नापनक्सा र रंगरोगनका आधारमा सुन्दर करार गर्नु समग्र महिला प्रजातिका लागि सही नलागेको बताइन् । 

महिलाले सुन्दर हुन बाहिरी आवरण ठीक पार्ने अनेक सौन्दर्य प्रसाधनको भारीले शरीर र अनुहारलाई बोझिलो बनाउने सोच या कार्यमा अब परिवर्तन आउनुपर्छ

कोही भन्छन्, महिलालाई सौन्दर्यीकरणले दृढतापूर्वक कार्य गर्न अझ आत्मविश्वास बढाउँछ । कतिपय महिलावादीलगायत विद्वान्हरूले सौन्दर्यको उपभोगलाई शक्तिहीन र दमनकारी चिजबस्तुको रूपमा व्याख्या गर्छन् । ड्रेसअप, मेकअप, हेयरस्टाइलले महिलाको व्यक्तित्वमै ठूलो अन्तर ल्याइदिन्छ र यो सत्य हो भन्ने मान्यता पनि छ । हुन पनि सफासुग्घर, छिटोछरितो परिधानले व्यक्तिलाई स्फूर्त र स्मार्ट देखाउने तथ्यसत्य नै हो । थप सुन्दर देखिन महिलाले सौन्दर्यकलामा जोड दिनु महिला सशक्तीकरण हो या दमनकारी ? खेती किसानी गर्ने, ज्याला मजदुरी गर्ने, घरका गृहिणी, विद्यालय जाने बालिका सबैले आआफ्नो जिम्मेवारी र महिला हुनुको प्राकृतिक भूमिका निभाइरहेकै छन् । महिलाको सौन्दर्यीकरण कसरी वस्तुकरण हुन सक्छ भन्ने सवाललाई यसरी पनि विश्लेषण गर्न सकिन्छ । पुरुष र महिलाको शक्ति असन्तुलनले एक सांस्कृतिक वातावरण सिर्जना गर्छ । जहाँ महिला निरन्तर यौनिक रूपले पुरुषको नजर या अधीनमा हुन्छन् । यौन र शारीरिक आकर्षणका आधारमा महिलाको मूल्यांकन गरिन्छ । 

वस्तुकरण सिद्धान्तको विभिन्न ढाँचाअनुसार सौन्दर्यीकरण पनि प्रमुख हो । यसअन्तर्गत महिलाले स्वयं आफूलाई वस्तुकरणमा क्रमबद्ध गराउँछन् । उदाहरणका लागि शरीरको निगरानी, ‘बडी सेमिङ’, अनुहारप्रतिको चिन्ता, नाक, आँखा यस्तो हुनुपर्छ भन्ने मान्यता आदि । यसको परिणामस्वरूप नकारात्मक मानसिक स्वास्थ्यमा प्रभाव पर्न जान्छ । 
सौन्दर्य प्रतियोगिता सशक्तीकरण कि वस्तुकरण अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका वक्तामध्ये कलाकारिता क्षेत्रकी एक महिलाले पनि सुन्दरताको परिभाषाले आफ्नो वास्तविक कलालाई उजागर गर्न पनि मनोवैज्ञानिक रूपले असर गर्ने बताइरहेकी थिइन् ।

गोरो, अग्लो, पातलो, जिउडाल, नापनक्सा मिलेको देखिनुपर्ने, यस्तै कपडा, फेसन आदि इत्यादिको ‘टे«न्ड’ पछ्याउनुपर्ने बाध्यताले महिलालाई हरदम सुन्दर देखिन बाध्य बनाउँछ । यसले व्यक्तिको माइन्डसेट नै कथित सुन्दरताको भाष्यअनुसार बन्दै गइरहेको त छैन ? यसले अवश्य पनि महिलाको मनोविज्ञानमा असर पर्ने देखिन्छ । संसारका मानिस सबै कुरूप छन्, त्यसैले उनीहरू सुन्दरताको कुरा गर्छन् भन्ने तर्क गर्दै थिए, एक चलचित्रकर्मी । 

स्वास्थ्यसेवाका वरिष्ठतम स्वास्थ्यकर्मीको सुन्दरता निखार्न प्रयोग गरिने सौन्दर्य सामग्रीका विषयमा सोचनीय विचार थियो अन्तक्र्रियामा । आजकल दूरदराजका गाउँठाउँमा पनि किशोरी तथा महिला सुन्दर देखिने होडमा सस्ता सौन्दर्य प्रसाधन प्रयोग गर्न थालेका छन् । लगाउन्जेल त उनीहरू राम्रा देखिएलान् । तर, कालान्तरमा तिनमा हुने लिडलगायत अन्य रासायनिक पदार्थले कति असर गर्ला ? हिन्दी सिनेमाका कलाकारले विज्ञापनमा देखाएका क्रिम, पाउडर, साबुन, सेम्पुलगायत सौन्दर्य सामग्रीकै नाममा छ्यापछयाप्ती नक्कली र गुणस्तरहीन सामग्री आजकल गाउँगाउँमा पुगेका छन् ।

पत्रुखाना, जाँडरक्सी, बियर, पत्रु सौन्दर्य सामग्रीका उपभोगले गरिबी, भोकमरी, अभाव र अचेतना भोगिरहेका जनमानसमा समेत नकारात्मक असर त देखिने नै भयो । अनि यस्ता सौन्दर्यीकरणले साँच्चै किशोरी, युवती र महिलाको आन्तरिक, शारीरिक, बौद्धिक सौन्दर्यमा सहयोग गर्ला त ? विषय सोचनीय छ ।  कुरूप या सुन्दर यो कुनै निश्चित सत्य होइन । यो हाम्रो मान्यता हो । त्यसैले, महिलाले सुन्दर हुन बाहिरी आवरण ठीक पार्ने अनेक सौन्दर्य प्रसाधनको भारीले शरीर र अनुहारलाई बोझिलो बनाउने सोच या कार्यमा अब परिवर्तन आउनुपर्छ ।