मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १४ मंगलबार ०९:२७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘लिफ्ट’ मागेर लुटपाट र कुटपिट  गर्ने तीन भारतीय पक्राउ

Read Time : > 1 मिनेट
२०७९ असार १४ मंगलबार ०९:२७:००

गाडीमा ‘लिफ्ट’ मागेर लुटपाट गरेको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन् । घटनाको केही बेरमै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोलामा एकजना कर्मचारीलाई उनीहरूले कुटपिट र लुटपाट गरेका थिए । इन्धन खर्च दिने भन्दै कञ्चनपुरको महेन्द्रनगरबाट ‘लिफ्ट’ मागेर चढेका तीनजना भारतीय नागरिकले कार लुटेर लगेका थिए ।

डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारीलाई हातखुट्टा बाँधेर उनको प्रदेश ३–०१–०२३ च८७२१ नम्बरको कार सोमबार दिउँसो लुटिएको थियो । हातखुट्टा बाँधेर कार लुटेर लग्नुका साथै भण्डारीमाथि कुटपिटसमेत भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद जोशीले बताए । भण्डारीको टाउकोमा ढुंगाले हानेको घाउ छ । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको सामादैजी घर भएका भण्डारीसँग महेन्द्रनगरबाट डडेल्धुरा जाने क्रममा अपरिचित तीनजना भारतीय नागरिकले लिफ्ट मागेका थिए । प्रहरीका अनुसार बुढीतोला पुगेपछि फोटो खिच्ने नाममा कार रोक्न लगाएको र कुटपिट गर्दै हातखुट्टा बाँधेर गाडी लिएर भागेका थिए । ‘कपडाले हातखुट्टा र गम्छाले मुख बाँधेर सडकभन्दा सय मिटर तल छाडेर गएछन्,’ जोशीले भने, ‘संलग्नहरू पक्राउ परिसकेका छन् ।’

पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिद बादलिसे र २० वर्षीय सन्नी जौट रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको केही समयपछि गोदावरी नगरपालिकाको अत्तरियास्थित भित्री सडकमा कार बेवारिसे अवस्थामा फेला परेको थियो । कार फेला परेको स्थाननजिकै जंगलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

डाँडामा फोटो खिच्ने नाममा रोकेर आफूमाथि कुटपिट भएको भण्डारीले बताए । ‘डाँडामा फोटो खिच्ने भनेर गाडी रोक्न आग्रह गरे । फोटो खिचिदिनुप¥यो भनेर मलाई तल बोलाए,’ उनले भने, ‘हातमा चक्कु हाने र ढलाए । ढुंगाले पछाडिबाट हाने, हातखुट्टा बाँधेर छाडेर गए ।’ बाँधिएकै हातले पछाडिबाट खुट्टा फुकालेर सडकसम्म पुगेको उनले बताए ।