१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धितो राख्न जग्गा वर्गीकरण गर्नुनपर्ने

जग्गाको वर्गीकरण नगरी रोक्का नगर्न भूमि मन्त्रालयको निर्देशन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१७:oo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरण नगरी बैंक तथा वित्तीय संस्थामा धितो नराख्न दिएको निर्देशन तत्काल लागू नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मन्त्रालयको आदेशले नागरिकको मौलिक हक हनन भएको भन्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

मन्त्रालयले गत २७ जेठमा बसेको मन्त्रीस्तरीय बैठकको निर्णय भन्दै खेतीयोग्य वा गैरखेतीयोग्य जमिन वर्गीकरण नगरेसम्म बैंक तथा वित्तीय संस्थामा धितो बन्धक राख्न नपाइनेलगायत आदेश दिएको थियो । तर, मन्त्रालयको सो निर्णयले अध्ययनका लागि विदेश जाने विद्यार्थीदेखि सामान्य व्यापार गर्नेलाई समेत अप्ठ्यारो परेको भन्दै सर्वोच्चमा रिट परेको हो । 

विष्णुबहादुर सुनुवारले सर्वोच्चमा दिएको रिटमाथि अधिवक्ता राजु खत्री र लक्ष्मण थपलियाले बहस गरेका थिए । सर्वोच्च अदालतले मन्त्रालयले दिएको आदेशमध्ये बुँदा नम्बर ७ लाई तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । उनका अनुसार अन्य व्यवस्था भने यथावत् रहनेछ । 

 विकल्प खोज्दै मन्त्रालय 
जग्गा धितो बन्धक राख्न नपाउने निर्णयले धेरै व्यक्ति प्रभावित भएपछि विकल्पको खोजी भइरहेको भूमि मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । भूउपयोग नियमावलीलाई छिटो कार्यान्वयनमा ल्याउन मन्त्रालयले यस्तो निर्णय गरेको उनको भनाइ छ । ‘विद्यार्थीलाई केही समय समस्या पर्न सक्छ भन्ने अनुमान त गरेका थियाैँ । तर, यति ठूलो मासलाई प्रभाव पर्ला भन्ने अनुमान भने थिएन,’ उनले भने । 

मन्त्रालयको निर्णयपछि दैनिक पाँच सयभन्दा बढीको गुनासो आएको प्रवक्ता जोशीले बताए । तर, मन्त्री शशि श्रेष्ठ र सचिव रामप्रसाद थपलिया युरोप भ्रमणमा रहेकाले यसमा तत्काल केही गर्न नसकिएको उनले बताए । ‘मन्त्री र सचिव नेपाल फर्किसक्नुभएको छ । मैले उहाँहरूलाई अहिलेको अवस्था जानकारी गराएको छु । उहाँहरूले यसमा केही सोच्दै हुनुहुन्छ होला,’ उनले भने । 

मन्त्रालयले दिएको आदेशको पनि गलत व्याख्या भएको प्रवक्ता जोशी बताउँछन् । भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण १० वटा क्षेत्रमा गर्नुपर्ने व्यवस्था छ । तर, मन्त्रालयले हाल दिएको आदेशअनुसार भने जग्गा खेतीयोग्य जमिन वा गैरखेतीयोग्य जमिन हो भनी मात्रै छुट्याउनु भनिएको उनले स्पष्ट पारे । ‘जमिन गैरखेती योग्य हो भनी लिखत ल्याएपछि त धितो बन्धक राख्न पाउने हो,’ उनले भने । हरेक स्थानीय नियकामा भूउपयोग परिषद् गठन भएको छ । र, भूउपयोग नक्सा पनि वितरण भइसकेको छैन । तसर्थ, खेतीयोग्य जमिन र गैरखेतीयोग्य जमिन छट्याउन समय नलाग्ने उनले बताए । यद्यपि, समस्या समाधानका लागि केही स्थानीय निकायलाई प्रक्रिया सहज बनाउनसमेत निर्देशन दिइएको उनले बताए । 

विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई राहत 
जग्गाको कृषि वा गैरकृषि क्षेत्रमा वर्गीकरण गर्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न दिएको सर्वोच्च अदालतको अन्तरिम आदेशले विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई राहत दिएको छ । 

विदेश अध्ययनका लागि जग्गा धितो राखेर बैंकबाट लोन लिन लागेका तथा बैंक ग्यारेन्टीको स्वीकृतिसमेत पाएका करिब १५ सय विद्यार्थी वर्गीकरणको निर्णयले अन्योलमा परेका थिए । इक्यानका अध्यक्ष प्रकाश पाण्डेले विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई राहतको महसुस भएको बताए ।

भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले स्थानीय पालिका नै भूउपयोग परिषद् मानेको छ । भर्खरै स्थानीय तहको चुनाव सकिएर कतिपय ठाउँमा कार्यपालिका बनेको छ भने कतै बनेको छैन । यतिवेला अधिकांश पालिकामा भूउपयोग परिषद् बैठक बसेर निर्णय गर्न कठिन भएको थियो । विष्णुबहादुर सुनुवारले सरकारलाई विपक्षी बनाएर हालेको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ मागेको छ । 

ad
ad