मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ४ शनिबार
  • Wednesday, 18 December, 2024
२o७९ असार ४ शनिबार o६:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुरक्षा सामग्रीविनै घन्टौँ फोहोरसँग खेल्छन् पाँच सय मजदुर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ४ शनिबार o६:४२:oo

सिसडोलबाट बन्चरेडाँडा फोहोर फाल्न सुरु भएसँगै फोहोर छुट्याउने पनि यतै सरेका छन् । फोहोर बन्चरेडाँडा सरेको मात्र छैन, मजदुरको दैनिकी र आनीबानी पनि यतै सरेका छन् । सिसडोलमा मजदुरले जसरी फोहोरको डंगुरमै भात खान्थे, खाजा खान्थे र विनासुरक्षा सामग्री काम गर्थे । अहिले बन्चरेडाँडा सरेपछि पनि अवस्था फरक छैन । 

फोहोरको थुप्रोमाथि नै बसेर आरु खाँदै गरेका सिर्जना नेपाली र पारु नेपाली यसकै उदाहरण हुन् । ‘भोक लागेपछि के गर्ने त ? अन्त पनि बसेर खाने ठाउँ छैन,’ सिर्जनाले भनिन् । नुवाकोट सिउडिनीका सिर्जना र पारुले फोहोर छुट्याउने काम थालेको दुई महिनाजति भयो । उनीहरू फोहोरसँग अभ्यस्त भइसकेका छन् । फोहोरमा बसेर खाना त खाएकै छन्, न मास्क लगाएका छन्, न त पन्जा नै ।

१० वर्ष भयो तिनपिप्लेकी धनमाया तामाङले फोहोरको डंगुरमा बसेर फोहोर छुट्याउन थालेको । उनको ६ जनाको परिवार यही फोहोर छुट्याउने काम गरेरै गुजारा गरिरहेका छन् । तर, परिवारका कसैले पनि फोहोर छुट्याउँदा मास्क र पन्जाजस्ता सामान्य सामग्रीसमेत प्र्रयोग गर्दैनन् । न उनीहरूलाई फोहोरबाट हुने संक्रमणबारे जानकारी नै छ । ‘हिजो ल्याएको पन्जा आजै प्वाल परेपछि फालिदिएँ,’ पुरानोजस्तो कपडाको पन्जा हातमा देखाउँदै उनले भनिन्, ‘मास्क, पन्जा लाएर साध्यै चल्दैन ।’ 

उनी दैनिक दुईदेखि तीन धोक्रो फोहोर प्लास्टिक, बोतल संकलन गर्छिन् । ‘दुई महिनाजति भयो, यहाँ आएर काम गर्न थालेको । दिनको हजारजति कमाइन्छ । तर, दिनकै काम हुँदैन । १० दिन काम भयो भने २० दिन बन्द हुन्छ,’ पारुले भनिन्, ‘मास्क र पन्जा खानका लागि खोलेको हो । तर, कति किन्नु ?’

मंगलबार दिउँसोको गर्मीमा बन्चरेडाँडामा फोहोरको थुप्रोमाथि पसिना पुछ्दै प्लास्टिक बोरामा हाल्ने हतारोमा देखिन्थिन्, अञ्जु सेढाईँ । दुई हप्तापछि उपत्यकाबाट उठेको फोहोरबाट प्लास्टिकका बोतल छानेर बोरा भर्न अञ्जुलाई हतार नै थियो । बिहान ४ बजेतिर बच्चाका लागि खाना बनाएर प्लास्टिक टिप्न बन्चरेडाँडा पुगेकी अञ्जुले दिनभरिमा बढीमा दुई बोरा प्लास्टिक संकलन गर्न सक्छिन् । जसबाट उनको परिवारको गुजारा चलिरहेको छ । उनका श्रीमान् पनि ११ वर्षदेखि प्लास्टिक टिप्ने काममा छन् । शरीरभरि फोहोरको हिलो लागेर सिसाका टुक्रा, कुहिएको खानेकुरा, कागजबाट प्लास्टिकका बोतल छान्न सजिलो छैन । ‘फोहोरसँग बानी परिसक्यो । अहिलेसम्म ठूलो बिरामी परिएको छैन । हप्तैपिच्छे अस्पताल पनि जान्छौँ । यस्तो फोहोरमा दिनभरि बस्दा सामान्य रुघाखोकी र ज्वरो त आइहाल्छ नि !’ उनले भनिन् । 

प्लास्टिकका बोतल संकलनका लागि बन्चरेडाँडामा दैनिक चार सय ८० जना मजदुरले काम गरिरहेका छन् । संक्रमणको समस्या कम गर्न केहीले पन्जा, बुट र मास्कको प्रयोग गरे पनि धेरैले प्रयोग गर्दैनन् । फोहोरको थुप्रोमै बसेर खाना खाने र घन्टौँसम्म काम गर्ने उनीहरूलाई कुनै न कुनै स्वास्थ्य समस्या देखिएको अहेव रेग्मी बताउँछिन् ।

नियमित फोहोरको सम्पर्कमा रहँदा छाला र फोक्सोको क्यान्सरको जोखिम हुन्छ  : डा. प्रकाश पौड्याल, वरिष्ठ छातीरोग विशेषज्ञ
फोहोरको नियमित सम्पर्कमा रहँदा सामान्य भाइरल संक्रमणसमेत दीर्घरोगको कारण बन्ने गर्छन् । फोहोरका कारण सामान्यतया झाडापखाला, रुघाखोकी, ज्वरो, कुपोषण र छालामा समस्या देखिन्छ ।

बिस्तारै कुपोषण बढ्दै जाँदा अन्य रोगको जोखिम पनि बढ्छ । खानपानमा आउने समस्याले रक्तचाप बढ्छ । चिनीको मात्रा बढ्ने र कोलेस्ट्रोल बढ्ने हुन्छ । छाला र फोक्सोको क्यान्सरको जोखिम हुन्छ । श्वासप्रश्वाससम्बन्धी अधिकांश समस्याको मुख्य कारण फोहोरबाट निस्कने रसायन हुन्छ ।