पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।
आइओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा प्रतिलिटर रु ९१ रुपैयाँ ९१ पैसा बढेको छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिक)मा दुई रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ७५१ रुपैयाँ १४ पैसा घाटा छ ।
खरिद मूल्य बढेसँगै आगामी १५ दिनमा करिब रु चार अर्ब ७१ करोड घाटा हुने निगमको प्रक्षेपण छ । हवाई इन्धन (बाह्य) र मटितेलमा सामान्य नाफा रहेको निगमले जनाएको छ ।
नयाँ खरिदमूल्यमा विभिन्न शीर्षकको कर थप्दा पेट्रोलको खरिद लागत प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा, डिजेलको २०२ रुपैयाँ १६ पैसा, मट्टितेलको १४७ रुपैयाँ ९९ पैसा, हवाई इन्धन (आन्तरिक)को १६८ रुपैयाँ ७० पैसा, हवाई इन्धन (बाह्य)को प्रतिलिटर १४७ रुपैयाँ ८९ पैसा र एलपी ग्यासको प्रतिसिलिन्डर दुई हजार ५५१ रुपैयाँ १५ पैसा पुगेको छ ।
निगमलाई हालको बिक्रीमूल्यमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिक)मा दुई रुपैयाँ ७० पैसा घाटा तथा मटितेलमा प्रतिलिटर १७ रुपैयाँ एक पैसा र हवाई इन्धन (बाह्य)मा प्रतिलिटर ४४ रुपैयाँ ६३ पैसा नाफा छ । हाल पेट्रोलको बिक्रीमूल्य प्रतिलिटर रु १७८, डिजेल-मटितेलको रु १६५, हवाई इन्धन (आन्तरिक)को रु १६६, हवाई इन्धन (बाह्य) प्रतिलिटर १.५४ अमेरिकी डलर र एलपी ग्यासको बिक्रीमूल्य प्रतिसिलिन्डर एक हजार ८०० छ ।
नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रूपमा पेट्रोलमा रु ९५ करोड, डिजेलमा रु दुई अर्ब ९१ करोड, हवाई इन्धन (आन्तरिक) मा रु ६६ लाख र एलपी
ग्यासमा रु एक अर्ब १४ करोड घाटा हुने निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्रीवितरण सहज बनाउन पेट्रोलियम पदार्थको खुद्रा बिक्री लागत मूल्यसरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ । रासस