सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले एसपिपी सम्झौता गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २१औँ रितबहादुर खड्का (क. प्रताप) को स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताए । अध्यक्ष प्रचण्ड अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको बताए । उनले एसपिपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेरिकासँग एसपिपीजस्ता कुनै सैन्य सम्झौता नगर्ने घोषणा गरे । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले सैन्य सम्झौता गर्दिनँ भन्ने वचन दिएको बताउँदै कोही नागरिक भ्रममा नपर्न आग्रह गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘कतिपय वेला कैयौँ भ्रमहरू सिर्जना हुने र त्यसले जनतालाई प्रश्न उब्जाउँछन् । हामीले त्यसलाई जवाफ दिने पनि गरेको छौँ । अहिले फेरि एकपटक कुनै न कुनै रूपले राष्ट्रवादको झुटो र राष्ट्रवादको बडो पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो । जो सबैभन्दा बढी आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरूले नै राष्ट्रवादको बढी धावा दिने गरेको अनुभव नेपाली जनतालाई छ । हिजोआज पनि एउटा प्रश्न एसपिपी भन्ने हुँदै छ रे, सैनिक सम्झौता हुँदै छ रे भनेर भइसक्यो रे भनेजस्तो गरी प्रचार गरिएको छ । बिल्कुल झुटो हो । म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्री, गठबन्धनसँग भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । त्यस्तो कुनै सैन्य सम्झौता हुनेछैन, यो घोषणा म यहाँबाट गर्न चाहन्छु । कुनै हुने छैन । प्रधानमन्त्रीजीले म कुनै पनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर त्यो कमिटमेन्ट गर्नुभएको छ । कोही भ्रममा पर्न जरुरी छैन । बरु एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ । तर, हाम्रो यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।’
अध्यक्ष प्रचण्डले गठबन्धन सरकार एसपिपीजस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै गठबन्धन नेपालको राष्ट्रिय स्वाधीनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए । उनले नेपालको समृद्धि र विकासको यात्रा पनि सहमति र सहकार्यबाट गर्ने बताए । उनले एक्लै अघि बढ्ने अहंकार, निरंकुशता र अराजकता सबैले तोड्न आवश्यक रहेको पनि बताए ।