प्रमुख प्रतिपक्षी एमालेका सांसद डा. भीम रावलले वर्तमान गठबन्धन सरकारले नेपालको असंग्लन परराष्ट्र नीतिलाई उल्लंघन गरेको आरोप लगाएका छन्। सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद रावलले सरकारका गतिविधिले नेपालको असंलग्न र स्वतन्त्र परराष्ट्र नीति उल्लंघन गरेको टिप्पणी गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी दिन माग गर्दै उनले भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नुमा प्रश्न गरे। नेपाल भ्रमणका क्रममा अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेकोप्रति समेत उनले आपत्ति जनाएका छन्।
‘नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुनेँ। के भनेको हो यो ? कसको भरपर्दो स्थलगत सेना भन्न खोजेको ? स्थलसेनाको ग्रुपमा काम गर भन्न खोजेको हो ? यसले के आशंका उत्पन्न गरेको छ भने स्टेट पार्टनरसिप कार्यक्रम भनेर अमेरिकाले चलाएको छ, त्यसको भित्रबाट नेपाल अंग भइसकेको हो कि ?’ उनले भने।
सांसद रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्रीपत्नी आरजु राणा सल्लाह लिन भारत गएको दाबी गरेका छन्। प्रधानमन्त्रीको अमेरिका भ्रमणमा अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको आरोपसमेत लगाएका छन्।