रौतहटको टिकुलिया घाटमा ठेकेदार कम्पनीले समयमा पुल नबनाउँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पप्पु कन्स्ट्रक्सनले आठ वर्ष पहिले ठेक्का लिएको पुल हालसम्म नबन्दा स्थानीयले हिउँदमा बाँसको पुल प्रयोग गरेको र वर्षामा डुंगा चढेको कर तिर्दै आएका छन्।
तल दुईवटा डुंगा र माथि बाँस राखेर बनाइएको अस्थायी पुलबाट दैनिक मान्छेका अलावा सवारीसाधनसमेत ओहोरदोहोर गर्छन्। सो अस्थायी पुल भएर ओहोरदोहोर गर्ने मोटरसाइकलले ५० रुपैयाँ, साइकलले २० देखि २५ रुपैयाँ र पैदलयात्रीले १० रुपैयाँ तिर्ने गरेको स्थानीय सञ्जय सहनीले बताए।
अस्थायी पुल प्रयोग गर्ने सर्वसाधारणसँग केही व्यक्तिले पैसा उठाए पनि उनीहरूले रसिद भने दिने गरेका छैनन्। सर्वसाधारणसँग पैसा उठाइरहेका एक व्यक्तिले आफूहरूले बाँसको पुल मर्मत तथा रेखदेख गर्न रातभर मानिसहरू खटाउनुपर्ने भएकाले सोबापत रकम उठाएको बताए। यद्यपि, बाँसे पुल तरेबापत शुल्क उठाउने गरिएको विषय नगरपालिकालाई जानकारी नभएको ईशनाथ नगरपालिकाका प्रवक्ता अर्जुन सिंह बताउँछन्।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते शिलान्यास गरेका निर्माणाधीन पुल १४ करोड ९२ लाख २७ हजार १५० रुपैयाँमा बनाउने गरी पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको थियो। २०७४ असार २५ भित्र काम सक्ने सम्झौता भए पनि पप्पुले काम गर्न आलटाल गरेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले २०७९ जेठ १० गते एक सूचना प्रकाशित गरेर पप्पुसँगको ठेक्का रद्द गरेको छ। निर्माण सुरु गरेको ८ वर्ष बित्दा पप्पुले करिब ४० प्रतिशत मात्र काम गरेपछि सम्झौता रद्द गरिएको हो।
७ वटा पिल्लरसहित कुल २ सय २५ मिटर लम्बाइ, ७.२ मिटर चौडाइको सो पुल लामो समयसम्म नबन्दा स्थानीय जोखिमपूर्ण रूपमा बाँसको पुलबाट आवतजावत गरिरहेका छन्। २०७५ भदौ ०९ गते सोही स्थानमा भएको डुंगा दुर्घटनामा पाँचजनाले ज्यान गुमाएका थिए।