मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २८ शनिबार
  • Friday, 20 December, 2024
मोरङको बेलबारी–९, डाँगीहाटमा निर्माणाधीन आरजु राइस मिल
नवीन अर्याल काठमाडाैं
२o७९ जेठ २८ शनिबार १o:१o:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेलबारीमा ४० करोड लगानीमा ‘आरजु राइस मिल’

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २८ शनिबार १o:१o:oo

सरकारले तोकेभन्दा एक रुपैयाँ प्रतिकिलो बढीमा किसानसँग धान खरिद, २४ घन्टाभित्र खातामा पैसा

आन्तरिक उडानमा जहाज थप्न र गन्तव्य विस्तारमा व्यस्त भइरहने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत यतिवेला चामल मिलमा भण्डारणगृह थप्न व्यस्त छन् । उनले पुख्र्यौली थलो मोरङको बेलबारी–९ मा ४० करोड रुपैयाँ लगानी गरेर अत्याधुनिक चामल उद्योग सञ्चालन गर्दै छन् । जेठी छोरीको नामबाट जुराइएको ‘आरजु राइस मिल’मा अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ । दुई महिनाभित्र तयार हुने चामल उद्योग आगामी हिउँददेखि सञ्चालनमा ल्याउने उनी बताउँछन् । उद्योगले प्रतिकिलो ३० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेर किसानसँग चैते धान खरिद गर्न सुरु गरिसकेको छ ।

बस्नेत परिवारको खेती–किसानीसँगको सम्बन्ध पुस्तैनी हो । हवाई सेवा कम्पनी बुद्ध एयर चलाएर अर्बपति बनिसक्दा पनि बस्नेतले आफ्नो धरातल बिर्सिएका छैनन् । पछिल्लो केही वर्षयता धानखेतीबाट किसानहरू पलायन भइरहेको र पुराना चामल मिलहरू पनि बन्द हुँदै गइरहेका छन् । तर, चामल उद्योगको व्यावसायिक उडानले उचाइ पाउनेमा उनी विश्वस्त छन् । तीन दशकअघिसम्म पनि चामल निर्यात गर्ने नेपालमा अहिले वार्षिक ५० अर्बभन्दा बढीको धान–चामल आयात हुन्छ । चामलको कहालीलाग्दो आयात प्रतिस्थापन गर्नकै लागि धानखेती प्रवर्द्धनमा जुटेको उनी बताउँछन् ।  

उनी दुई दशकदेखि कृषिमा यान्त्रिकीकरणमार्फत मोरङका कृषकलाई धानखेती गर्न हौस्याउँदै आइरहेका छन् । बुद्ध एयरको व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित नेपाल कृषि कम्पनीले मोरङका किसानलाई आधुनिक कृषि औजारहरू र धानको उन्नत बिउ उपलब्ध गराएर खेतीमा प्रोत्साहित गर्दै आएको छ । तिनै किसानले फलाएको धान खरिद गरेर ‘आरजु’ ब्रान्डमा ‘लङ ग्रेन’ चामल उत्पादन गरिनेछ । ‘अहिले जताततै लङ ग्रेन चामल नै बढी रुचाइन्छ, धेरै आयात हुने पनि लङ ग्रेन नै हो,’ उनी भन्छन्, ‘देशभित्रै गुणस्तरीय चामल उत्पादन गरेर उपभोक्ताको भान्सासम्म पुर्‍याउँछौँ ।’ आफूले मोरङको डाँगीहाटमा नमुना प्रोजेक्टका रूपमा यो धान मिल सञ्चालन गर्न लागेको उनको भनाइ छ । बस्नेत थप्छन्, ‘यो मिल सञ्चालनमा आएपछि सप्तरी र सिराहासम्म स्थानीय र किसानहरूलाई साझेदार बनाएर अरू १० वटा चामल उद्योग खोल्ने योजना छ ।’ 

अहिले मिलमा भण्डारणगृह निर्माण गर्ने, स्टिम र ड्रायर मेसिन ल्याएर जडान गर्ने काम भइरहेको छ । उद्योगमा रहने चारवटा भण्डारणगृहमध्ये एउटा ठडिइसकेको छ भने अर्को भवन निर्माको चरणमा छ । ‘चैते धान राख्न भण्डारणगृह पुगिसक्यो, मंसिरमा पाक्ने अगनी धान राख्न त्यतिवेलै साइलो थप्छौँ,’ उनी उत्साहपूर्वक बताउँछन्, ‘चैते र अगनी गरी वार्षिक २० हजार टन धान र १० हजार टन मकै अटाउने भण्डारणगृह बनाउँछौँ ।’ आरजु राइस मिलको उत्पादन क्षमता प्रतिघन्टा ४ टन रहनेछ ।

उद्योगमा भएको लगानीमध्ये अधिकांश रकम भण्डारण, स्टिम र ड्रायर मेसिनमै खर्च भएको बस्नेतको भनाइ छ । उनी भन्छन्, ‘मिलमा मोटामोटी २० प्रतिशतजति रकम खर्च भयो होला ।’ उद्योगमा धान र मकै सुकाएर भण्डारण गर्न ड्रायर मेसिन र धान उसिन्न स्टिम मेसिन ल्याइएको हो । 

मिलमा ४५ सय किसान जोडिने अपेक्षा
दुई बिघा क्षेत्रफलमा फैलिएको आरजु राइस मिल पूर्ण क्षमतामा सञ्चालन गर्न चार हजार पाँच सय बिघा जमिनको धान चाहिन्छ । ‘एक परिवार एक बिघाका दरले पनि करिब ४५ सय घरधुरी प्रत्यक्ष मिलसँग जोडिने अनुमान छ, अन्यत्र उद्योग खोल्दै जाँदा अरू किसान पनि जोडिँदै जानेछन्,’ उनी थप्छन्, ‘यो एउटा धानखेतीलाई व्यवसायीकरण गर्ने अभियानको सुरुवात हो, एक ठाउँमा प्रोजेक्ट सफल हुनेबित्तिकै अरू धेरै ठाउँमा यस्ता उद्योगहरू खुल्नेछन् ।’ आधुनिक कृषियन्त्र र उन्नत बिउ उपलब्ध गराई फसल राम्रो मूल्य तिरेर किनिदिए किसानहरू धानखेतीमा आकर्षित हुने उनको विश्वास छ ।  

उद्योगले धान खरिद गर्न सुरु गरिसके पनि मकैको काम भने २०८० को हिउँददेखि मात्र सुरु हुने बस्नेत बताउँछन् । १० हजार टन मकै, मिलबाट निस्किने चामलको एक हजार ६ सय टन ब्रान र खली मिलाएर देशभित्रै गुणस्तरीय दाना उत्पादन गर्ने तयारी छ । दाना उत्पादन गर्ने युनिट राख्न एक करोडजति लगानी चाहिने उनको अनुमान छ ।

बस्नेतले किसानलाई तीन बाली लगाउन प्रोत्साहित गरिरहेका छन् । चैते धान लगाउन पनि उत्तिकै महत्व दिनुपर्ने उनको भनाइ छ । ‘हाम्रो जमिनमा तीन–चार बालीसम्म लगाउन सकिन्छ, तर अहिले मुस्किलले दुई बाली मात्र भइरहेको छ,’ उनी थप्छन्, ‘खाद्यान्नमा आत्मनिर्भर बन्न भूमिको पनि अधिकतम उपयोग गर्नुपर्छ ।’ आरजु राइस मिलले पनि तीन बाली प्रशोधन गर्नेछ ।

धानको समर्थन मूल्य ३० रुपैयाँ 
उद्योगले किसानले धान नरोप्दै समर्थन मूल्य तोकेको छ । कम्पनीले चैतमै धानको प्रतिकिलो ३० रुपैयाँ मूल्य तोकेको हो । ‘तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले धानको मूल्य प्रतिकिलो २९ रुपैयाँ मूल्य तोक्दा अहिलेसम्मकै क्रान्तिकारी निर्णय भनेर हल्लीखल्ली पनि भयो,’ उनी भन्छन्, ‘हामीले १८ प्रतिशत आद्र्रता भएको धानको मूल्य नै प्रतिकिलो ३० रुपैयाँ तोक्यौँ ।’ उद्योगमा वर्षको तीन बाली (चैते र अगनी धान तथा मकै) प्रशोधन गर्ने उनको भनाइ छ । 

२४ घन्टाभित्र खातामा पैसा
किसानले धान उद्योगमा ल्याएको २४ घन्टाभित्र उनीहरूको बैंक खातामा पैसा जम्मा गरिदिने बस्नेतले दाबी गरेका छन् । जबकि, अहिले धेरै चामल मिल र बिचौलियाहरूले किसानसँग निकै कम मूल्यमा धान किनेर ६ महिनासम्म पनि भुक्तानी नदिई झुलाउँदै आइरहेको यथार्थ छ । धानको उचित मूल्य नपाएको भन्दै किसान आन्दोलनमै उत्रिएका पनि प्रशस्त उदाहरण छन् । ‘तत्कालै राम्रो मूल्य पाइने हुँदा किसान धानखेतीमा आकर्षित हुने विश्वास छ,’ उनी भन्छन्, ‘हामी किसानसँग सीधै धान किन्छौँ, कुनै बिचौलियालाई खेल्न दिँदैनौँ र उत्तिखेरै भुक्तानी पनि गरिदिन्छौँ ।’ 

बिचौलियाको चेन भत्किने
आरजु राइस मिलले किसानसँग सीधै धान किन्ने भएपछि परम्परागत बिचौलियाको टाउको दुखाइ बनिरहेको बस्नेतको भनाइ छ । ब्रोकरको चेन भत्काएर किसानलाई उन्मुक्ति दिलाउने उनको सोच छ । ‘हिजोसम्म किसानसँग जसले हालिमुहाली गरिरहेका थिए, उनीहरूको धन्दा चौपट हुनेवाला छ, किनकि हामी किसानको फसलको उचित मूल्य दिन्छौँ,’ बस्नेत भन्छन्, ‘राम्रो मूल्य र समयमै भुक्तानी दिन थालेपछि क्रमशः किसानहरू हामीसँग जोडिन आउनेछन् ।’