१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २४ मंगलबार o७:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पत्रकारलाई दुर्व्यवहार गर्ने र धम्की दिने गुरागाईंलाई कारबाही गर्न महासंघको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार o७:३१:oo

पत्रकार कञ्चन न्यौपानेलाई तीन वर्षदेखि नेपाल आज नामक अनलाइनका अध्यक्ष माधव गुरागाईंले दुर्व्यवहार गरेको घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले कारबाहीको माग गरेको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै पत्रकार न्यौपानेलाई न्याय दिलाउन साक्षी बसेकी नयाँ पत्रिकाकर्मी शिल्पा कर्णलाई धम्की दिइएकोमा पनि महासंघले कारबाहीको माग गरेको छ । 

कर्णलाई प्रतिवादी गुरागाईंले अन्य व्यक्ति प्रयोग गर्दै धम्क्याउँदै आएका थिए । गुरागाईंले अपरिचित व्यक्तिसमेत प्रयोग गरी बकपत्रका लागि अदालतमा नजान फकाउने, लोभ्याउने, दबाब दिनेदेखि ‘तपाईंको सुरक्षा तपाईंकै जिम्मेवारी हो’ भनेर धम्क्याउँदै आएका थिए । कर्णलाई अदालतमा बकपत्र नगर्न राष्ट्रिय एकता अभियानको अध्यक्ष भनेर चिनाउने विनय यादव र रेडियो नेपालमा कार्यरत पत्रकार विजय यादवले पटक–पटक फोनमार्फत र भेटेर धम्क्याएका थिए ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा गुरागाईंबाट साथी, सहकर्मी, आफन्तसमेतलाई धम्की दिएको उजुरी परेको, महासंघको आचारसंहिता तथा अनुगमन विभागले पनि यसअघि दुई पटक सचेत गराइसक्दा यस्ता गतिविधि गर्न नछोडेको भन्दै गुरागाईंलाई मौजुदा कानुनअनुसार कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

गुरागाईंले यसअघि पुष्प ढुंगाना, ध्रुव रिजाललगायतका पत्रकारलाई समेत विभिन्न माध्यमबाट धम्क्याउँदै आएको महासंघले जनाएको छ । अदालतमा विचाराधीन विषय प्रभावित पार्न गरिएका धम्कीपूर्ण क्रियाकलाप आपत्तिजनक रहेको भन्दै महासंघको नयाँ पत्रिका प्रतिष्ठान शाखाले विज्ञप्ति जारी गर्दै महासंघलगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराएको थियो ।