उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाईबाट गत शुक्रबार बिहान ना.१ज ८१०६ नम्बरको जिप काठमाडौंका लागि छुट्यो। तर, गाईघाट–फत्तेपुर सडकखण्डमा पर्ने चौदण्डीगढी– ९ स्थित मुसहर्निया खोलामा आएको बाढीले जिप बगायो।
जिपमा सवार एक नाबालिकासहित दुई पुरुष र एक महिलाको स्थानीयले उद्धार गरे। उनीहरूलाई उद्धार गर्ने स्थानीय चन्द्रलाल गिरी भन्छन्, ‘जिप जाँदै थियो, खोलामा एक्कासि बाढी बढेर आयो। झन्डै सय मिटर बगेको जिपबाट यात्रुको उद्धार गर्याैँ।’
त्यही सडकबाट काठमाडौं जाने क्रममा अर्को गाडी पनि बाढीमा डुबेको थियो। उनै गिरी गुनासो गर्दै भन्छन्, ‘गाईघाट–फत्तेपुर सडकखण्डमा पर्ने दर्जनौँ खोला, खोल्सीमा पुल र कजवे छैनन्। बर्सेनि बर्खायाममा सवारीसाधन बग्ने र बगाउने त परम्परा नै हो। रातको समय बाढीमा परियो भने ज्यान नै गुमाउनुपर्छ।’
यता अर्का स्थानीय तारानाथ पौडेलले सडक खुलेको ५५ वर्ष हुँदा पनि खोलानालाहरूमा पुल नबनेको गुनासो गरे। उनले भने, ‘गाईघाट–फत्तेपुर सडक ०२४ सालदेखि सञ्चालनमा आएको हो। अहिले ०७९ सम्म आइपुग्दा ५५ वर्ष पुगेको छ।’ सडक बनेको ५५ वर्ष पुग्दा पनि खोला तथा खोल्साका दर्जनौँ स्थानमा पुल र कजवे छैनन्। उनै पौडेल भन्छन्, ‘पुल र कजवेका कारण यस गाईघाट–फत्तेपुर सडकमा बाढीमा सवारीसाधान बग्ने, डुब्ने सधैँ भइरहन्छ। हाम्रो दुःखका कुरा कस्ले सुन्ने ?’
गाईघाट–फत्तेपुर सडक ०२४ सालमा उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको थियो। करिब ३० किलोमिटर लामो उक्त सडकले उदयपुरको गाईघाटबाट सप्तरीको फत्तेपुर हुँदै पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गसम्म उदयपुरलाई पहिलोपटक जोडेको थियो। सोही सडकखण्डमा चौदण्डीगढी नगरपालिका– ५ को शिवाई, सुन्दरपुर, ९ र १० को हडिया, त्रियुगा नगरपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने रुपनी, जोगीदह, मोथियाईलगायतका क्षेत्रका सयौँ बस्ती पर्छन्। यिनै बस्तीलाई गाईघाट र फत्तेपुर सडकमा पर्ने सनुवा, लुवाले, बबिया, कंक, बाहुना, मुसर्निया, शिवाई, धेरूलगायतका खोला र खोल्सीमा पुल नहुँदा सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य छन्।
उदयपुरका स्थानीय पत्रकार यदु ढकाल भन्छन्, ‘सडक बनेको पाँच दशकभन्दा बढी हुँदा पनि दर्जनौँ खोलामा पुल नबन्नु दुःखद छ। धेरै नेताले चुनावका वेला यस भेगमा यही सडकको स्तरोन्नति र खोलाखोल्सीमा पुलका नारा लगाउँछन्। तर, काम पूरा गर्दैनन्।’ दशकौँसम्म सडकको दूरावस्था हुँदा पनि संघ सरकारले भने आगामी वर्षको बजेटमार्फत उदयपुरमा विमानस्थल बनाउने घोषणा गरेको छ।
संघ सरकारले बनाउने भएकाले प्रदेशले पहल नगरेको : मन्त्री कार्की
गाईघाट–फत्तेपुर सडक मध्यचुरेको काखमा पर्छ। चुरेमा पानी पर्दा आउने बाढीले स्थानीयलाई सास्ती दिँदै आएको छ। सोही क्षेत्रबाट ०२४ देखि अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिबहादुर बस्नेत, नेकपा एमालेका लक्ष्मीनारायण चौधरी, सुरेश कार्की र मञ्जु चौधरी तथा नेपाली कांग्रेसका डा. नारायण खड्कालगायतका नेता पटकपटक सांसद र मन्त्री भइसकेका छन्।
यता एमालेका विमल कार्की र कांग्रेसका हिमाल कार्की प्रदेश सांसद छन्। कार्की प्रदेश १ सरकारको सडक पूर्वाधार तथा सहरी विकासमन्त्री पनि हुन्। मन्त्री कार्की भन्छन्, ‘संघीय सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा सात अर्बको प्रोजेक्ट बन्दै छ। त्यो निर्णय हुन बाँकी छ। त्यही भएकाले प्रदेश १ सरकारले पहल नगरेको हो।’
मन्त्री कार्कीले संघीय सरकारबाट आउने सात अर्बले गाईघाटदेखि फत्तेपुर हुँदै आम्बासीबाट रामपुरसम्मै नयाँ सडक र पुल पनि निर्माण हुने बताए। उनले भने, ‘फत्तेपुर–गाईघाटखण्डमा जनताले धेरै सास्ती भोग्नुपरेको छ। त्यो संघीय सरकारले बनाउने गरी योजना अघि सारेकाले प्रदेश सरकारले पनि छिटो गर्न पहल गरिरहेको छ।’
उक्त सडकखण्डको केही भागमा स्तरोन्नतिको काम सुरु भइरहेको पनि बताए। उनले भने, ‘खोलाहरूमा पुल नबने पनि केही स्थानमा पिच गर्ने, स्तरोन्नति गर्ने काम सुरु भएको छ। कुनै खण्डमा भर्खर टेन्डर लागेको छ।’