स्थानीय तहको निर्वाचनका वेला काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहको मुख्य एजेन्डा फोहोर व्यवस्थापन थियो । प्रमुखमा निर्वाचित भएलगत्तै उनी फोहोर व्यवस्थापनका विषयमा केन्द्रित भइरहेका छन् । तर पनि उपत्यकामा फोहोरको समस्या दिनप्रतिदिन बढ्न थालेको छ ।
सिसडोलबाट बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न थालिए पनि एक सातादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन । जसकारण काठमाडौंका सडक तथा फुटपाथमा हिँड्न नसक्ने गरी दुर्गन्ध फैलिन थालेको छ । महानगरपालिकाका अनुसार बन्चरेडाँडावासीले विभिन्न चारबँुदे माग राखी बाटो अवरोध गर्दा एक सातादेखि फोहोर उठाउन नसकिएको हो ।
‘सहरी विकास मन्त्रालयको सहयोगमा हामीले बञ्चरेडाँडामा एक दिन डेढ सय ट्रकजति फोहोर फाल्न पायौँ । त्यसपछि स्थानीयको अवरोधका कारण फोहोर बन्चरेडाँडा लैजान सकिएको छैन,’ महानगरअन्तर्गत वातावरण विभाग प्रमुख सरिता राईले भनिन्, ‘मेयरसाबले मन्त्री, नेताज्यूहरूलाई भेटिरहनु त भएको छ, तर स्थानीयले विभिन्न माग राखी बाटो अवरोध गरेका कारण कहिलेदेखि फोहोर उठ्ने भन्न गाह्रो छ ।’
हाल काठमाडौं उपत्यकामा करिब आठ हजार टन फोहोर थुप्रिसकेको महानगरले जनाएको छ । सहरको फोहोर अन्तिम व्यवस्थापन हुने बन्चरेडाँडामा स्थानीयले विभिन्न चारबुँदे माग राखेर फोहोर ढुवानी रोकेपछि अहिले उपत्यकाको फोहोर संकलन हुन नसकेको हो । उनीहरूले ल्यान्डफिल साइटबाट प्रभावित १३ गाउँका मानिसले भोगचलन गर्दै आएको जग्गा अधिग्रहण गरेर फोहोर र मानिसलाई छुट्याउनुपर्नेलगायत बुँदागत माग राखेका छन् । उनीहरूका अनुसार यसरी अधिग्रहण गर्नुपर्ने जग्गा पाँच हजार रोपनीभन्दा धेरै छ ।
त्यस्तै, गुठीको जग्गालाई रैकर बनाउनुपर्ने र फोहोरमैलापीडित स्थानीयलाई रोजगारी दिनुपर्ने माग स्थानीयको छ । यी माग पूरा गरेर उपत्यकाको फोहोर व्यवस्थापन गर्न चुनौतीपूर्ण भएको महानगर स्रोत बताउँछ । ‘बन्चरेडाँडामा फोहोर फाल्न सुरु हुँदै गर्दा मेयरसाब पुगेर यहाँका मानिसले काठमाडौंको फोहोर बोकेर ठूलो पुण्य गरेको जस्तो कुरा बोल्नुभयो । अब स्थानीयको माग बढेर महानगरले सम्बोधन गर्न नसक्ने भएको छ । त्यसैले फोहोरमैलाको विषय झन् जटिल भयो,’ स्रोतले भन्यो ।
यसअघि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले काम गर्न आलटाल गरेपछि स्थानीयले पासाङल्हामु राजमार्ग अवरोध गरेका कारण सिसडोलसम्म फोहोर लैजान नसक्दा उपत्यकाका सडकमा फोहोर थुिप्रएको थियो । ठेकेदार कम्पनीले आठ वर्षअघि सम्बन्धित निकायको ठेक्का सम्झौता गरी कार्य सुरु गरे पनि सम्झौता अवधिमा कार्य सम्पन्न नगरी कार्य अधुरो राखेको, बाटोमा सामान्य हिँडडुल गर्नसमेत कठिन भएको, दैनिकजसो मोटरसाइकल दुर्घटनामा पर्ने गरेको र बाटो स्तरोन्नतिको कार्य गर्न भनी सम्बन्धित पीडित पक्ष र सरोकारवाला निकायसँग पटक–पटक समाधानका लागि वार्ता गरे पनि समाधान नगरेको भन्दै स्थानीयले सडक अवरोध गरेका थिए । जसकारण २८ मंसिरदेखि उपत्यकाको फोहोर केही दिन उठ्दै फेरि रोकिँदै आएको थियो ।
पछिल्लोपटक ११ वैशाखदेखि केही दिन फोहोर उठाउन रोकिएको थियो । रोकिएको फोहोरसहित १० जेठबाट बन्चरेडाँडा फोहोर लैजान थालिएको थियो । काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोल हुँदै बन्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ । काठमाडौं महानगरका अनुसार उपत्यकामा एकैदिन हजारदेखि १२ सय टनसम्म फोहोर उत्पादन हुन्छ । उत्पादन हुने फोहोरमध्ये ५० प्रतिशत फोहोर काठमाडौं महानगरको हो ।
टेकुमा अवरोध कायमै
बन्चरेडाँडावासीको अवरोधका कारण मुख्य सडकमै फोहोर थुप्रिएसँगै टेकुका स्थानीयवासीको अवरोध पनि कायमै छ । जसकारण शीतलनिवासदेखि, बानेश्वर, रत्नपार्क, बागबजार, अनामनगरलगायतका मुख्य सडकमै फोहोर थुप्रिन थालेको छ । ‘बञ्चरेडाँडामा पनि फोहोर लैजान सकिएको छैन । जसकारण मुख्य सडकमा फोहोर थुप्रिएको छ । पहिला–पहिला शीतलनिवासदेखि यताको फोहोर ट्रान्सफर स्टेसनमा फोहोर व्यवस्थापन गर्दै आएका थियौँ । अहिले टेकु ट्रान्सफर स्टेसनवरपरका स्थानीयले पनि फोहोर लैजान दिइरहेका छैनन्,’ वातावरण विभाग प्रमुख राईले भनिन् ।
ट्रान्सफर स्टेसनवरपरका स्थानीयले स्टेसनमा फोहोर थुपार्दा वरपर दुर्गन्ध फैलिएको भन्दै १ जेठदेखि ट्रान्सफर स्टेसनमा फोहोर लैजान अवरोध गरेका हुन् । बीचमा केही दिन फोहोर व्यवस्थापन गर्न दिए पनि शनिबारदेखि फेरि अवरोध गरेका छन् । ‘टेकुका स्थानीयले फोहोरका कारण दुर्गन्ध फैलियो भनेर १ जेठदेखि साना सवारीलाई ट्रान्सफर स्टेसन जान दिएनन् । बीचमा केही दिन लैजान दिए पनि फेरि हिजोदेखि अवरोध थालेका छन् । हामीले स्थानीयसँग छलफल गरिरहेका छौँ,’ प्रमुख राईले भनिन् । ट्रान्सफर स्टेसनवरपरका स्थानीयले फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै मेयर र उपमेयरलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
काठमाडौंमा झाडापखालाको कारण बन्दै छ फोहोर
सडक–सडकमा हप्तौँसम्म फोहोर थुप्रिन थालेपछि वर्षायाम लागेसँगै झाडापखालाको समस्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लो सातायता निरन्तर परिरहेको पानी र समयमै फोहोर नउठ्दा काठमाडौंमा झाडापखाला र फुड पोइजनको समस्या बढ्न थालेको हो । खुला ठाउँमा राखिएको कुहिएको फोहोरबाट फोहोर पानी बगेर तरकारी वा खाद्यवस्तुको माध्यमबाट सजिलैसँग भान्सामा पुग्ने भएकाले यो मौसममा अव्यवस्थित फोहोरले समस्या निम्त्याइरहेको बताउँछन्, चिकित्सक डा. प्रभाकर शाह । ‘फोहोरबाट निस्कने लामखुट्टे, झिंगा वा अन्य संक्रमणजन्य किराहरूले विभिन्न रोग फैलाइरहेका हुन्छन् । खासगरी, वर्षाको समयमा पानीका माध्यमबाट तरकारी वा अन्य खाद्यवस्तुसम्म सजिलै पुग्ने भएकाले संक्रमणको असर झन् बढेर जान्छ । यसबाहेक फोहोर बाटोमा हिँड्दा हुने एलर्जी र छालाका अन्य रोगहरूसमेत फोहोरका कारण देखिन्छन्,’ उनले भने ।
फोहोरबाट निस्कने दुर्गन्धका कारण वरपरका व्यक्तिहरूमा खाना नरुच्ने, निद्रा नपर्ने जस्ता समस्यासमेत देखिने गरेको चिकित्सकहरू बताउँछन् । काठमाडौं उपत्यकाका अति भिडभाड रहने क्षेत्र अर्थात् चोकहरूमा फोहोर थुप्रिएका कारणसमेत हिँड्नेहरूसमेत प्रभावित भइरहेका छन् । न्युरोड, वसन्तपुर, असन, इन्द्रचोक, ठमेललगायतका भीडभाड हुने बजार क्षेत्रमा अहिले फोहोरले दुर्गन्ध फैलिएको छ ।