शनिबार मध्यरातबाट कालीगण्डकी आयोजनाको एक सय ४० मेगावाट विद्युत् पनि निर्यात हुन थालेपछि कुल निर्यात दैनिक १७७ दशमलव ७ मेगावाट पुग्यो, एक वर्षमा करिब १२ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गर्ने लक्ष्य
नेपालले दैनिक एक सय ७८ मेगावाट विद्युत् भारतीय बजारमा निर्यात गर्न थालेको छ । शनिबार मध्यरातदेखि कालीगण्डकी आयोजनाको एक सय ४० मेगावाट विद्युत् निर्यात हुन थालेपछि कुल १७७ दशमलव ७ मेगावाट भारत जान थालेको हो ।
यसअघि त्रिशूली आयोजनाबाट उत्पादित २३.२ र देवीघाटको १४.५ मेगावाट विद्युत् मात्रै भारत निर्यात भइरहेको थियो । यही सोमबार–मंगलबारसम्म दुईदेखि साढे दुई सय मेगावाटसम्म विद्युत् निर्यात हुने प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।
‘हाम्रोमा उत्पादन जति बढ्छ, सोहीअनुसार निर्यात बढाउँछौँ, यसको तयारी गरिरहेका छौँ,’ उनले भने, ‘खासगरी असोज–कात्तिकमा हामी सबैभन्दा धेरै विद्युत् निर्यात गर्न सक्छौँ ।’ नेपाल र भारतको सम्झौताअनुसार नेपालले भारतमा अधिकतम तीन सय ६४ मेगावाट विद्युत् निर्यात गर्न सक्छ । भारतले त्रिशूली, देवीघाट र कालीगण्डकीका साथै मस्र्याङ्दी, मध्य मस्र्याङ्दी र लिखु खोला जलविद्युत् आयोजनाको विद्युत्लाई निकासीका लागि स्वीकृत दिएको छ । ‘विद्युत् निर्यातबाट एक वर्षमा करिब १२ अर्ब रुपैयाँ आम्दानी गर्न सकिने हाम्रो अनुमान छ,’ उनले भने ।
प्रतियुनिट १९ रुपैयाँसम्म बिक्री हुन थाल्यो नेपाली बिजुली
नेपालको बिजुली भारतमा प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्री हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतमा मूल्य बढाबढ प्रक्रियामा सहभागी भएर प्रतियुनिट अधिकतम १९ रुपैयाँसम्ममा विद्युत् निर्यात गरेको हो । यसबाट प्राधिकरणले दैनिक झन्डै एक करोड रुपैयाँ आम्दानीसमेत गरिरहेको छ ।
प्राधिकरणले गत बुधबार रातिदेखि नेपालमा खपत गरेर बढी भएको विद्युत् भारत निकासी गर्न थालेको हो । अहिले देवीघाट जलविद्युत् आयोजना र र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारत निकासी गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘हामीले जुन २ तारिखदेखि भारतमा विद्युत् निकासी थालेका छौँ, यो हाम्रा लागि एकदमै खुसीको कुरा हो,’ उनले भने, ‘अहिले ३८–३९ मेगावाट विद्युत् निर्यात गरिरहेका छौँ, थप विद्युत् निर्यातका लागिसमेत तयारी गरिरहेका छौँ ।’ अहिले भारतमा दैनिक करिब ९५ लाख रुपैयाँबराबरको विद्युत् निकासी गरिरहेको उनले जानकारी दिए । प्राधिकरणले अहिले चौबिसै घन्टा नियमित रूपमा विद्युत् निर्यात गरिरहेको छ । इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइइएक्स)मा सप्लाई बिड हालेर बढाबढ प्रक्रियामार्फत विद्युत् निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ । सुरुको दिन अर्थात् २ जुनमा प्राधिकरणले प्रतियुनिट अधिकतम १९.२ रुपैयाँ र न्यूनतम ३.९८ रुपैयाँ भाउ पाएको थियो । उक्त दिनको औसत भाउ ११.५३ रुपैयाँ प्रतियुनिट रहेको थियो । प्राधिकरणले शनिबारको सप्लाई बिडमा प्रतियुनिट अधिकतम १९.२ रुपैयाँ र न्यूनतम ६.५२ रुपैयाँ भाउ पाएको छ । यो दिनको औसत भाउ प्रतियुनिट १२.८६ रुपैयाँ रहेको छ ।
भारतको नियामक निकायले अहिले विद्युत्को अधिकतम बिक्री मूल्य प्रतियुनिट १२ भारतीय रुपैयाँ कायम गरिदिएको छ । जसले गर्दा नेपालले बोलकबोलबाट अधिकतम १२ भारतीय रुपैयाँ मात्रै प्राप्त गर्न सकेको छ । यसअघि नेपालले बोलकबोलबाटै प्रतियुनिट १८ भारुसम्ममा विद्युत् आयात गरेको थियो । ‘भारतमा रातिको समय र बिदाबाहेकका दिनमा बढी विद्युत् खपत हुन्छ, तीन दिन र समयमा हाम्रो विद्युत्ले बढी भाउ पाउँछ,’ उनले भने, ‘बढाबढमा सीमा नलगाइएको भए हामीले अझ बढी मूल्य पाउँथ्यौँ ।’
१२ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यातको लक्ष्य
हाल नेपालको कुलजडित विद्युत् क्षमता दुई हजार दुई सय पाँच मेगावाट पुगेको सरकारी तथ्यांक छ । तर, यसमध्ये दुई हजार एक सय मेगावाट मात्रै उत्पादन हुने अवस्थामा रहेको सरकारी अधिकारीहरू नै बताउँछन् । नेपालको अहिलेको विद्युत् माग औसत एक हजार ६ सय ५० मेगावाट रहेको प्राधिकरणका प्रवक्ता भट्टराईले जानकारी दिए । ‘उत्पादन क्षमता र मागको सीधा हिसाब गर्दा हामीलाई चार सय मेगावाट हाराहारी विद्युत् बढी हुन आउँछ,’ उनले भने, ‘सकेसम्म यही खपत बढाउने र त्यसपछि पनि हामीलाई धेरै हुन आउने विद्युत् भारत निकासी गर्ने हो ।’
व्यापार सन्तुलनमा समेत योगदान
विश्वव्यापी ऊर्जा संकटको प्रभावका कारण एक महिनाअघिसम्म प्राधिकरणले नेपालमै आवश्यक मात्रामा विद्युत् आपूर्ति गर्न सकेको थिएन । भारतबाट मागअनुसार विद्युत् आयात गर्न नसकेपछि प्राधिकरणले ठूला उद्योगमा विद्युत् कटौती गरेको थियो । ‘त्यतिवेला दक्षिण एसियामै ऊर्जा संकट थियो, हामी पनि समस्यामा थियौँ,’ उनले भने, ‘अहिले वर्षा सुरु भएपछि हाम्रो उत्पादन बढेको छ, अहिले हामीले खपत गरेर पनि बचेको विद्युत् निर्यात गरिरहेका हौँ ।’ वर्षायाममा अझै विद्युत् उत्पादन बढ्ने र निर्यात बढाउने उनले बताए ।
मुलुकको व्यापार घाटा उच्च रहेको तथा शोधनान्तर स्थितिसमेत ऋणात्मक भएको अवस्थामा विद्युत् निर्यात हुनु मुलुककै लागि सुखद रहेको घिसिङले बताए । ‘हामी सकेसम्म स्वदेशमै विद्युत् खपत होस् भन्ने चाहन्छौँ, तर यहाँ खपत नभएर खेर जाने स्थिति आएमा निर्यात गर्छौं,’ उनले भने, ‘विद्युत् निर्यातबाट मुलुकको व्यापार घाटा न्यूनीकरणमा धेरथोर योगदान पुग्नेछ ।’