१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय ।
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १५ शनिबार १८:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

वामपन्थी सहकार्य सफल बनाएर पार्टी एकताको ढोका खोल्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १८:o२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी सहकार्यलाई सफल बनाएर कम्युनिस्ट पार्टीहरूबीच एकताको ढोका खोल्नुपर्ने बताएका छन्।

विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिस्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको प्रचण्डको भनाइ छ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताए।

‘विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्‍र्यौँ। तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दिगो हुन सकेन,’ उनले भने, ‘विगतका अनुभवबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ।’

व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोसिस जारी रहेको बताउँदै प्रधानमन्त्रीले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्यायलगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको जिकिर गरे।

‘दशकौँ लामो संघर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ,’ उनले भने, ‘सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रीकरणसहितको संघीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माणलगायतका उपलब्धि प्राप्त गरेका छौँ।’ 

क्रान्तिले आमजनसमुदायमा शीघ्र परिर्वतनको आकांक्षा जगाइदिएको परिस्थितिमा जनताको आकांक्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको बताउँदै प्रधानमन्त्रीले जनआकांक्षा पूरा गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए।

‘म यही मञ्चमार्फत सबै कम्युनिस्ट घटक र नेताहरूमा अपिल गर्दछु– साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौँ। वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ। इतिहास, हाम्रा स्कुल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने संकल्पका साथ खुला हृदयले बहस गरौँ र उचित निष्कर्षमा पुगौँ,’ उनले भने।

निरंकुशताविरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह गरे।

ad
ad
ad
ad