१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असार १४ शुक्रबार o६:२o:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एसइईमा आधाभन्दा धेरै विद्यार्थी फेल : समस्या नतिजा प्रणालीमा कि शैक्षिक गुणस्तरमा ?

Read Time : > 5 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार o६:२o:oo

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा आधाभन्दा धेरै परीक्षार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको परीक्षाफलमा ४७.८७ प्रतिशत (दुई लाख २२ हजार ४७२) विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् । 

५२.१३ प्रतिशत अर्थात् दुई लाख ४२ हजार ३१३ परीक्षार्थी फेल भएका छन्, अर्थात् ननग्रेड (एनजी) (१०० पूर्णांकमा ३५ भन्दा कम) ल्याएका छन् । उनीहरूमध्ये एक लाख १५ हजार ८३४ ले मौका परीक्षा दिन पाउनेछन् । बढीमा दुई विषयमा एनजी ल्याएका विद्यार्थीले मौका परीक्षा दिन पाउँछन् । एनजी ल्याएका एक लाख २६ हजार ४७९ विद्यार्थीले भने एसइईका लागि पुनः एक वर्ष कुर्नुपर्नेछ । 

यति धेरै विद्यार्थी फेल हुनुमा नतिजा प्रणालीमा समस्या हो कि शैक्षिक गुणस्तरको दोष छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा भन्छन्, ‘बोर्डले नतिजा निकाल्ने हो, शैक्षिक सुधार सरकारले गर्ने हो । कक्षाकोठाभित्रको सिकाइ राम्रो छैन । पाठ्यक्रमको उद्देश्यअनुसार पठनपाठन भएको छैन । भौतिक व्यवस्थापन राम्रो छैन । शिक्षकको प्रस्तुति पनि कमजोर छ भन्ने नतिजाले देखाएको छ । अहिलेको नतिजा हेर्दा गाउँतिरका विद्यार्थी विज्ञान, गणित र अंग्रेजीमा कमजोर छन् भने सहरी क्षेत्रका विद्यार्थी सामाजिक र नेपाली विषयमा कमजोर छन् । यसले त शैक्षिक प्रणाली र गुणस्तरमै समस्या देखाउँछ नि ।’ 

कक्षा १२ को नतिजामा गत वर्षदेखि नै लेटर ग्रेडिङ निर्देशिका लागू भएको छ । तर, कक्षा १० मा लागू भएको थिएन । त्यसैले गत वर्षको एसइईमा सबै पास भए । त्यसले जे गरे पनि पास भइने रहेछ भन्ने सोच विद्यार्थीमा ल्याएकाले पनि नयाँ प्रणालीमा गएलगत्तै नतिजा परिवर्तन भएको शर्माको बुझाइ छ । ‘नतिजा प्रणालीमा एनजी कायम नगर्दा विद्यार्थीलाई समेत जे गरे पनि पास भइन्छ भन्ने भयो । कक्षा १० मा पढ्नेहरूले मिहिनेत गर्नै छाडे । ११ र १२ मा पुगेपछि फेल हुन थाले । जस्तो पनि विद्यार्थीलाई उत्तीर्ण गराउँदा नेपालको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रिय रूपमा पनि कमजोर देखियो,’ शर्मा भन्छन्, ‘त्यसैले योजना आयोगले दिएको सुझाव र राष्ट्रिय पाठ्यक्रमको आदेशअनुसार नतिजा प्रणाली परिवर्तन गरेका हौँ ।’ 

शिक्षाविद्हरूले पनि नतिजा सन्तोषजनक नभएको जनाएका छन् । शिक्षाविद् विद्यानाथ कोइरालाले निकै बर्बाद नतिजा आएको प्रतिक्रिया दिएका छन् । तर, उनले नतिजा प्रणाली र विद्यार्थीको कमजोरी नभई, शिक्षा बनाउने र चलाउने व्यक्तिलाई दोष दिएका छन् । 

‘यो नतिजालाई सन्तोषजनक मान्नै सकिँदैन । निकै बर्बाद नतिजा सार्वजनिक भएको छ । यसको अर्थ केटाकेटीले पढेनन् होइन, शिक्षा बनाउने र चलाउने व्यक्तिको दोष हो । नतिजा प्रणाली विवादको विषय नै होइन । ननग्रेडिङ प्रणालीले शिक्षा खस्काउने होइन । समस्या त शिक्षाको गुणस्तर भनेको के हो भनेर राज्यले बुझ्न र बुझाउन नै सकेन । शिक्षा मन्त्रालयमा बस्नेहरूले गुणस्तरीय शिक्षा के हो भनेर मेसो पाउनै सकेनन्,’ उनले भने, ‘अब नतिजा सुधार्न नीतिगत निर्णय र प्रतिबद्धता चाहिन्छ । के विषय पढियो भन्दा पनि कति घण्टा पढियो भन्ने कुरा मुख्य हो । हिजो सबै परीक्षार्थी पास हुने प्रणाली थियो, त्यो प्रणाली राम्रो भएन भनेर नयाँ प्रणाली लागू गरियो । तर, आज फेल भएपछि यो प्रणालीको विरोध गर्नुहुँदैन ।’ 

०७९ मा बोर्डले पुरानै ग्रेडिङ प्रणालीका आधारमा नतिजा सार्वजनिक गरेको थियो । तर, ०८० को नतिजामा भने नयाँ नियम लागू गर्‍यो । शिक्षा मन्त्रालयले ०७८ पुसमा जारी गरेको लेटर ग्रेडिङ निर्देशिकामा न्यूनतम ३५ अंक ल्याउनेको डी ग्रेड हुने र त्योभन्दा कमको ग्रेडिङ नहुने व्यवस्था गरेको थियो । त्यस्तै, प्रयोगात्मक विषयमा ४० अंक ल्याउनैपर्ने नियम निर्देशिकामा उल्लेख गरियो । सोहीअनुसार यसपटक नतिजा सार्वजनिक गर्दा धेरै विद्यार्थीको नतिजा ननगे्रडिङ (एनजी) छ । निर्देशिकामा ३५ अंकभन्दा कम ल्याउनेलाई मूल प्रमाणपत्र नदिने उल्लेख छ । सरकारले कक्षा १ देखि १२ सम्म एकरूपता कायम गर्न भन्दै नयाँ लेटर ग्रेडिङ निर्धारण गरेको हो । 

सबैभन्दा धेरै एनजी अर्थात् अनुत्तीर्णदर गणित विषयमा छ । परीक्षा बोर्डले सामुदायिक र निजी विद्यालयको तुलना गरेर भने विश्लेषण गरिसकेको छैन । नतिजा प्रकाशनपछि बिहीबारै शिक्षा मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेर कमजोर नतिजा आएको स्वीकार गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको आह्वानमा बोर्ड अध्यक्ष महाश्रम शर्मा, सबै महाशाखा प्रमुखलगायत सहभागी बैठकले नतिजा निराशाजनक नभए पनि सुधार गर्नुपर्ने र शिक्षकलाई तालिम दिनुपर्ने निष्कर्ष निकालिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए । 

‘एसइईको नतिजा बर्बाद रूपमा खस्किएको त होइन, तर केही कमजोर भने देखिन्छ । अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्दै छौँ,’ उनले भने, ‘नतिजा सुधार्न शिक्षकलाई तालिम दिनुपर्ने भन्ने निष्कर्ष पनि निस्किएको छ ।’ 

गत १५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । दुई लाख ३३ हजार २७० छात्र सहभागी भएकामा एक लाख १४ हजार ४८ अर्थात् ४८.८९ प्रतिशत अनुत्तीर्ण भएका छन् । दुई लाख ३१ हजार ५०३ छात्रा सहभागी भएकामा एक लाख २८ हजार २५७ अर्थात् ५५.४० प्रतिशत अनुत्तीर्ण भएका छन् । त्यस्तै, परीक्षामा सहभागी १२ जना लैंगिक तथा यौनिक अल्पसंख्यक परीक्षार्थीमध्ये ८ जना अनुत्तीर्ण भएका छन् ।

बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार नतिजामा चित्त नबुझे रिटोटलिङका लागि विद्यार्थीले अनलाइनबाटै निवेदन दिन सक्नेछन् । सोहीअनुसार बोर्डले रिटोटलिङ नतिजा सार्वजनिक गर्ने उनले बताए । 

उच्च जिपिए ल्याउने बागमतीमा धेरै, कर्णालीमा कम
उच्च जिपिए (३.६०–४.०) ल्याउनेमा संख्यात्मक रूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा छन् । बागमतीमा १५ हजार ७६६ विद्यार्थीले यो नतिजा ल्याएका छन् । कोशी प्रदेशमा तीन हजार ९९६, मधेशमा तीन हजार ९५७, गण्डकीमा दुई हजार ९६९, लुम्बिनीमा तीन हजार २९०, कर्णालीमा ४४१ र सुदूरपश्चिममा ७९० विद्यार्थीले उच्च जिपिए ल्याए ।

सबैभन्दा धेरै फेल लुम्बिनीमा, कम गण्डकीमा

यसपटक एसइईमा दुई लाख ४२ हजार ३१३ (५२.१३%) विद्यार्थी अनुत्तीर्ण भएका छन् । जसमध्ये सबैभन्दा धेरै लुम्बिनीमा ४९,२२४ विद्यार्थी छन् । त्यसपछि मधेशमा ४२ हजार २८६, सुदूरपश्चिममा ३६ हजार ४१०, कोशीमा ३९ हजार ८९५, बागमतीमा ३३ हजार ८४३, कर्णालीमा २० हजार ३८० र गण्डकीमा २० हजार २७५ विद्यार्थी अनुत्तीर्ण भए । 

कति विद्यार्थीको कुन जिपिए ?
राष्ट्रिय परीक्षा बोर्डका अनुसार गाउँतिरका विद्यार्थी विज्ञान, गणित र अंग्रेजीमा तथा सहरी क्षेत्रका विद्यार्थी सामाजिक र नेपाली विषयमा कमजोर देखिएका छन् ।

१८६ विद्यार्थीले ल्याए ४.० जिपिए
३१ हजार २०८ विद्यार्थीले उच्च जिपिए (३.६० देखि ४.०) ल्याएका छन् । जसमा छात्र १६ हजार ९१० र छात्रा १४ हजार २९८ छन् । सबैभन्दा उच्च मानिने ४.० जिपिए १८६ परीक्षार्थीले मात्रै ल्याएको बोर्डले जनाएको छ । बोर्डले ४.० जिपिए ल्याउनेको नतिजा पुनरावलोकन हुने जनाएको छ । सबैभन्दा राम्रो नतिजा ल्याएका विद्यालयको सुधार अन्य विद्यालयमा पनि लागू गर्न पुनरावलोकन गरिने बोर्ड अध्यक्ष शर्माले बताए । 

सबैभन्दा धेरै अनुत्तीर्ण गणितमा, नेपालीमै ६९ हजार ५३२ फेल
यसपटक सबैभन्दा धेरै विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । यो विषयमा एनजी आउने विद्यार्थीको संख्या एक लाख ७७ हजार ९८५ छ । एनजी आउने दोस्रो विषय विज्ञान छ । विज्ञानमा एक लाख २६ हजार ९३३ विद्यार्थीले एनजी ल्याएका छन् । त्यस्तै, अंग्रेजीमा एक लाख एक हजार ३८३, सामाजिकमा ७३ हजार ८७७, अर्थशास्त्रमा ६९ हजार ४१६, नेपालीमा ६९ हजार ५३२, ऐच्छिक गणितमा २० हजार ३५२ विद्यार्थीको एनजी नतिजा आएको छ ।

एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा दिन पाउने
अनुत्तीर्ण भएका दुई लाख ४२ हजार ३१३ परीक्षार्थीमध्ये एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउनेछन् । दुई विषयमा ननग्रेड (१०० पूर्णांकमा ३५ भन्दा कम) ल्याएकाहरूले मौका परीक्षा दिन पाउँछन् । परीक्षा बोर्डले मौका परीक्षा आगामी साउन १८ र १९ मा लिने निर्णय गरिसकेको छ । दुईभन्दा बढी ननग्रेड प्राप्तले अर्को वर्ष मात्रै एसइई दिन पाउँछन्, यस्ता विद्यार्थी एक लाख २६ हजार ४७९ जना छन् । मौका परीक्षा दिन पाउने विद्यार्थीका लागि एक महिना विशेष कोचिङ कक्षा सञ्चालन हुने भएको छ । शिक्षामन्त्रीस्तरीय बैठकले यसबारे सबै विद्यालयलाई निर्देशन दिने निष्कर्ष निकालेको छ । शिक्षक अपुग भएको ठाउँमा स्वयंसेवक शिक्षक खटाएर भए पनि विशेष कक्षा सञ्चालन गर्नेबारे छलफल भएको थियो । ‘विद्यार्थीलाई कुन विषय लागेको छ, त्यही विषयमा कोचिङ क्लास विद्यालयले सञ्चालन गर्नुपर्छ, मन्त्रालयले सबै विद्यालयलाई यसबारेमा निर्देशन दिने तयारी गरेको छ,’ मन्त्रालयका प्रवक्ता केशव दाहालले भने, ‘यसो गरियो भने पूरक लागेका भाइबहिनीहरूलाई सपोर्ट हुन्छ, उनीहरू उत्तीर्ण हुन्छन् ।’ 

निकै बर्बाद नतिजा सार्वजनिक भयो, दोष शिक्षा बनाउने र चलाउनेको हो : विद्यानाथ कोइराला, शिक्षाविद्
यो नतिजालाई सन्तोषजनक मान्नै सकिँदैन । निकै बर्बाद नतिजा सार्वजनिक भएको छ । यसको अर्थ केटाकेटीले पढेनन् होइन, शिक्षा बनाउने र चलाउने व्यक्तिको दोष हो । नतिजा प्रणाली विवादको विषय नै होइन । ननग्रेडिङ प्रणालीले शिक्षा खस्काउने होइन । समस्या त शिक्षाको गुणस्तर भनेको के हो भनेर राज्यले बुझ्न र बुझाउन नै सकेन । शिक्षा मन्त्रालयमा बस्नेहरूले गुणस्तरीय शिक्षा के हो भनेर मेसो पाउनै सकेनन् । अब नतिजा सुधार्न नीतिगत निर्णय र प्रतिबद्धता चाहिन्छ । के विषय पढियो भन्दा पनि कति घण्टा पढियो भन्ने कुरा मुख्य हो ।  

नतिजा सुधार्न शिक्षकलाई तालिम दिने निष्कर्षमा पुगिएको छ : केशव दाहाल, प्रवक्ता, शिक्षा मन्त्रालय
एसइईको नतिजा बर्बाद रूपमा खस्किएको त होइन । तर, केही कमजोर भने देखिन्छ । अब कसरी अघि बढ्ने भन्नेबारे हामीले छलफल गर्दै छौँ । नतिजा सुधार्न शिक्षकलाई तालिम दिनुपर्ने निष्कर्षमा पुगिएको छ । 

नतिजा प्रकाशनको नयाँ प्रणालीले पनि यस्तो भयो : महाश्रम शर्मा, अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड
बोर्डले नतिजा निकाल्ने हो, शैक्षिक सुधार सरकारले गर्ने हो । कक्षाकोठाभित्रको सिकाइ राम्रो छैन । पाठ्यक्रमको उद्देश्यअनुसार पठनपाठन भएको छैन । भौतिक व्यवस्थापन राम्रो छैन । शिक्षकको प्रस्तुति पनि कमजोर छ भन्ने नतिजाले देखाएको छ । अहिलेको नतिजा हेर्दा गाउँतिरका विद्यार्थी विज्ञान, गणित र अंग्रेजीमा कमजोर छन् भने सहरी क्षेत्रका विद्यार्थी सामाजिक र नेपाली विषयमा कमजोर छन् । यसले त शैक्षिक प्रणाली र गुणस्तरमै समस्या देखाउँछ नि । नतिजा प्रणालीमा एनजी कायम नगर्दा विद्यार्थीलाई समेत जे गरे पनि पास भइन्छ भन्ने भयो । कक्षा १० मा पढ्नेहरूले मिहिनेत गर्नै छाडे । ११ र १२ मा पुगेपछि फेल हुन थाले । जस्तो पनि विद्यार्थीलाई उत्तीर्ण गराउँदा नेपालको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रिय रूपमा पनि कमजोर देखियो । त्यसैले योजना आयोगले दिएको सुझाव र राष्ट्रिय पाठ्यक्रमको आदेशअनुसार नतिजा प्रणाली परिवर्तन गरेका हौँ ।

ad
ad
ad
ad