इ–स्कुटर ब्रान्ड सेगवेको उत्पादक कम्पनी सेगवे–नाइनबटले नयाँ शैलीको इलेक्ट्रिक स्कुटर इ–१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा आइहब प्रालिलाई आधिकारिक वितरक तोकेर सेगवे इ–१२५ को बिक्री यही वर्षदेखि वारेन्टीसहित सुरु गरेको हो ।
इलेक्ट्रिक स्कुटर इ–१२५ संयुक्त राज्य अमेरिकाको मोबिलिटी इनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर रहेको जनाइएको छ । २०२० मा रेड डट डिजाइन अवार्ड विजेता यो इलेक्ट्रिक स्कुटर सेगवे नाइनबटले बनाएको इ–शृंखलाअन्तर्गतको पहिलो स्कुटर भएको कम्पनीले जनाएको छ ।
यो इलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्र्याक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिनेजस्ता नयाँ अविष्कार र सेन्सरहरू रहेको जनाइएको छ । प्रतिघन्टा ७५ किमिसम्म कुद्ने यो स्कुटरमा दुई हजार चार सय वाट बोस इलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउने कम्पनीको दाबी छ ।
ड्राइभिङ दायराका लागि ७४ भोल्ट र २७ एम्पियर आवर लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घन्टा रहेको जनाइएको छ । यो स्कुटरमा डबल ब्याट्री स्पेस रहेको छ । स्कुटरसँगै सिंगल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सक्ने जनाइएको छ । सेतो र ग्रे रङमा उपलब्ध यो स्कुटरको मूल्य तीन लाख ९१ हजार रुपैयाँ तोकिएको छ ।