जिल्लाको सोरु गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पूर्ण सेजुवाल दुई महिनादेखि लेखापाल खोज्दा हैरान भएका छन् । गाउँपालिकामा कार्यरत लेखापाल जेठबहादुर बुढा गत फागुनमा दैलेख सरुवा भएर गएपछि प्रशासकीय अधिकृत समस्यामा परेका हुन् । केही दिन काम चलाउन नाक्चेनाङला रोडमा कार्यरत लेखापाल राजबहादुर भण्डारीलाई काजमा लिए पनि उनी दुई साता बसेर कर्मचारीको तलब निकासा गरी काज फिर्ता गर्दा सिंगाे गाउँपालिका दुई महिनादेखि लेखापालविहीन बनेको छ ।
असार मसान्त नजिकिँदै गर्दा गाउँपालिकामा लेखापाल नहुँदा योजना भुक्तानीदेखि कर्मचारी तलब निकासा गर्नसमेत बाधा परेको सेजुवालले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत सेजुवालले भने, ‘कोही लेखापाल सोरु गाउँपालिकामा जान मान्दैनन् । कामकाज गर्न अत्यन्तै गाह्रो भएको छ ।’
‘स्थानीय निर्वाचनपछि पुराना जनप्रतिनिधिको अवधि सकिएको छ । नवनिर्वाचित अध्यक्ष–उपाध्यक्ष गाउँबस्तीमा कार्यकर्ता भेटघाटमा व्यस्त छन्,’ उनले भने, लेखापाल नहुँदा योजनाको रकम, कर्मचारी तलब, कार्यालय सञ्चालन बजेट कसले भुक्तानी गरिदिने जटिल समस्य उत्पन्न भएको छ ।’
सेजुवालका अनुसार गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको अन्तिम भुक्तानी लिन उपभोक्ता समितिका पदाधिकारीहरू फाइल बोकेर लेखा शाखामा पुग्ने, तर कर्मचारी नहुँदा उनीहरू रित्तै फर्किने गरेका छन् । लेखापाल नहुँदा स्थायी कर्मचारीले दुई महिना र अस्थायी कर्मचारीले पाँच महिनादेखि तलब खान पाएका छैनन् ।
विभिन्न सरकारी कार्यालयमा कार्यरत लेखापालहरूलाई गाउँपालिकामा आइदिन आग्रह गरे पनि सबैले अस्वीकार गर्ने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सेजुवालले बताए । गाउँपालिकामा इन्जिनियर पनि नहुँदा योजना तय तथा अनुगमनमा पनि समस्या भएको उनकाे गुनासाे छ ।