मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Thursday, 19 December, 2024
२o७९ जेठ १५ आइतबार ११:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मालिकार्जुन गाउँपालिकाले टुहुरा, विपन्न र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार ११:४३:oo

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद परिवारका बालबालिकालाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। मालिकार्जुन गाउँ कार्यपालिकाको पहिलो बैठकले जीवन निर्वाहका लागि मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष हिरासिंह धामीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिका बैठकले पालिकाभरिका टुहुरा, विपन्न र सहिद परिवारका बालबालिकाको तथ्यांक संकलन गरी उनीहरूलाई भत्ता दिने निर्णय गरेको हो। गाउँपालिकाभित्रका घाइते सहिद परिवार, टुहुरा बालबालिकालाई परिचयपत्र वितरण गरिनेछ।

गाउँपालिकामा रहेका आठवटै वडाबाट एक–एकजना विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई प्रवीणता प्रमाणपत्र तहको प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने बैठकले निर्णय गरेको अध्यक्ष धामीले जानकारी दिए। धामीका अनुसार आगामी आर्थिक वर्षबाट गाउँपालिकाले पालिकाभरिका ६० वर्षमाथिका एकल पुरुषलाई मासिक रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन लागेको हो। सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ। यसअघि दार्चुलाको अपी हिमाल गाउँपालिकाले एकल पुरुष भत्ता दिने निर्णय गरेको थियो।

बैठकले गाउँपालिकाभित्रका बाल विकास शिक्षक, विद्यालय कर्मचारी, कार्यालय सहयोगीलगायतलाई सरकारले उपलब्ध गराउँदै आएको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ। यसको लागि गाउँपालिकाले साउन महिनादेखि लागू हुने गरी सात हजार रुपैयाँ दिने निर्णय गरेको हो। पाँच वर्षदेखि गठन हुन नसकेको विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्ने निर्णयसमेत भएको छ।

यस्तै, गाउँपालिकाभित्रका सबै विद्यालयहरूमा खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्तिको व्यवस्था गरिने अध्यक्ष धामीले बताए। विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि प्रदेश लोकसेवा आयोगसँग समन्वय गरिनेछ।

हरेक विद्यालयमा योग शिक्षा
गाउँपालिकाले पालिकाभरिका हरेक विद्यालयमा योग शिक्षा कार्यक्रम लागू गर्ने निर्णयसमेत गरेको छ। बालबालिकालाई स्वस्थ तथा तन्दुरुस्त राख्न विद्यालय तहमै योग शिक्षा दिन लागेको हो। योगमार्फत नैतिक शिक्षा दिन विद्यालय तहमा योग शिक्षक व्यवस्थापन गर्न लागिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताए। उनका अनुसार गाउँपालिकाभित्र रहेका मौजुदा शिक्षकलाई योग शिक्षकको रूपमा परिचालन गरिनेछ।

यस्तै, गाउँपालिकाका विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ। पहिलो चरणमा गेटा आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सञ्चालन गरिने बैठकले निर्णय गरेको धामीले बताए। यसैगरी गाउँपालिकाभित्रका दीर्घरोगी, एकल महिला असहाय व्यक्तिलाई स्थानीय स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि उपलब्ध गराउने निर्णय गरिएको छ।

सरकारी कार्यालयमा विद्युतीय हाजिरी
गाउँपालिकाभरिका सम्पूर्ण सामुदायिक विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी व्यवस्थापन गरिने भएको छ। कर्मचारीको कामकारबाहीलाई प्रभावकारी बनाउन विद्युतीय हाजिरी प्रयोगमा ल्याइने भएको हो। गाउँपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालय छन्। गाउँपालिकाले गर्ने निर्णयलाई पालिकाको वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइएको धामीले जानकारी दिए।