हिलो जनआन्दोलनपछि ०४८ को आमनिर्वाचनमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई (किशुनजी) पराजित भइसकेका थिए । पार्टीभित्रकै एउटा शक्तिशाली कित्ताले किशुनजीलाई हराउन कसरत गरेको चर्चा थियो त्यतिवेला । किशुनजीले संसद् प्रवेश गर्न मतादेश नपाए पनि कांग्रेसले भने सरकार गठन गर्न सुविधाजनक बहुमत पाएको थियो । पार्टीका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । कोइराला नेतृत्वको सरकारले स्थानीय निर्वाचन घोषणा ग¥यो । ०४८ को संसदीय निर्वाचनमा उम्मेदवार हुने मौका नपाएका धेरै नेता ०४९ को स्थानीय निर्वाचनमा आकांक्षी थिए ।
जनकपुरधाममा तिनैमध्ये एक थिए, वृषेशचन्द्र लाल । किशुनजी र गिरिजाबाबुको गुटमा विभाजित सत्तारुढ कांग्रेसमा आन्तरिक विभाजन सतहमै पोखिन लागेको थियो । प्रतिबन्धित कालमै कोइराला पक्षधर वृषेशचन्द्र गिरिजाबाबुको रोजाइका हकदार थिए । वृषेशचन्द्रकै भनाइमा संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट एक नम्बरमा सिफारिस भएर पनि टिकट पाउन नसकेका उनीप्रति किशुनजीको पनि सदाशयता थियो । काठमाडौँमा भेट हुँदा जनकपुरधामको मेयरको टिकट दिने आश्वासन किशुनजीले दिएको उनी स्मरण गर्छन् । तर, कोइरालाइतर समूहले कांग्रेसका तत्कालीन शीर्ष नेता महेन्द्रनारायण निधिमाथि दबाब बनाएर टिकट पाउने बाटो छेकेको वृषेशचन्द्रको बुझाइ छ ।
जनकपुर मेयरको टिकट टुंगो लगाउन धनुषाका केन्द्रीय नेताहरू जनकपुरतर्फ आउँदै गर्दा ढल्केबरमा धनुषा कांग्रेस कार्यसमितिको बैठक बस्यो र मेयरका लागि दिगम्बर रायको नाउँ टुंग्यायो । त्यतिवेला मेयरको टिकट दिने जिम्मेवारी पार्टी जिल्ला कार्यसमितिको हुने गथ्र्यो । जनकपुरधामको शिवचोकस्थित ‘पिपरावाला’को घरमा बसेको पार्टी जिल्ला कार्यसमिति बैठकले दिगम्बर रायको नाउँ मेयर उम्मेदवारका लागि टुंग्याएको थियो । कांग्रेसले मेयरको टिकटबारे निर्णय गरिसकेपछि वृषेशचन्द्रले स्वतन्त्र उम्मेदवारी दिने निधो गरे । उनले चुनाव जिते कांग्रेसमा फर्कने र नजिते राजनीतिबाट टाढिँदै अर्को कुनै क्षेत्रमा भविष्य खोज्ने किशुनजीलाई जानकारी गराएका थिए । लीला कोइरालासमेतको असहमतिका कारण जनकपुर मेयरको टिकट पाउनबाट वञ्चित भएका वृषेशचन्द्रले ०४३ सालको नगरपञ्चायत चुनावमा उपप्रधानपञ्चमा जितेका थिए । प्रतिबन्धित कांग्रेसले त्यतिवेला प्रधानपञ्चमा उम्मेदवार बनाएको लीला कोइरालाचाहिँ पराजित भएकी थिइन् । वृषेश उपप्रधानपञ्च निर्वाचित भए पनि लामो समय काम गर्न पाएनन् । ‘कु’ भएको १ पुस नमनाउँदा उनीसँगै काठमाडौँका प्रधानपञ्च हरिबोल भट्टराई, उपप्रधानपञ्च तीर्थराम डंगोल निलम्बनमा परे ।
माथि भनिएझैँ ०४८ को आमनिर्वाचनमा वृषेशचन्द्रको नाम धनुषा ३ बाट मात्र नभई धनुषा २ बाट पनि सिफिारिस भएको सम्झिन्छन्, नेविसंघका तत्कालीन नेता मनीषचन्द्र लाल । उनका अनुसार अन्तिम समयमा आएर उनको नाम काटियो । फाइनल भइसकेको उनको नाममा विमलेन्द्र निधिलगायतले टिपेक्स लगाएकोसम्म आरोप लाग्यो । यद्यपि यस आरोपलाई विमलेन्द्रले सदैव अस्वीकार गर्दै आएका छन् । कांग्रेसले यस चुनावमा धनुषाका पाँचवटै संसदीय निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको थियो । उति नै वेला महोत्तरीमा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध चुनाव लडेका वृषेशचन्द्रका संगातीहरू गणेश नेपाली र रामचन्द्र तिवारी हरिशंकर मिश्रसँग पराजित भए । टिकटमा अन्याय परेको अनुभूति गरे पनि वृषेश बागी उम्मेदवार भने भएनन् ।
मधेस आन्दोलनको रापतापमा समेत ११ हजार मत कटाएका कांग्रेसका मनोज साह उम्मेदवार बनेर जितेमा विमलेन्द्र निधि मजबुत हुने लेखाजोखा गर्ने कांग्रेसीले नै गठबन्धनबाट जनकपुरधामको मेयर जसपाको भागमा पार्ने वातावरण बनाएका थिए
फर्कौं ०४९ को स्थानीय तह निर्वाचनतिरै । वृषेशचन्द्रले उपमेयरमा सहकर्मी लालकिशोर साहसँगै आफूले मेयर पदमा उम्मेदवारी दिइसकेका थिए । प्रचारप्रसार तीव्र बनाइएको थियो । प्रजातान्त्रिक आन्दोलनमा पटक–पटक जेलजीवन बिताएका वृषेशचन्द्रको लोकप्रियता उत्कर्षमा थियो । कांग्रेससम्बद्ध टे«ड युनियन पृष्ठभूमिका वृषेशचन्द्र र लालकिशोरको चुनावचिह्न क्रमशः चस्मा र घन्टी थिए । सहरभरि चस्मा र घन्टीकै चर्चा थियो । वेलाबखत चस्मा र घन्टीमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समेत सहयोग समर्थन रहेको सुनिन्थ्यो ।
प्रधानमन्त्रीनिकट ज्योति कोइरालाले वृषेशचन्द्रलाई पार्टीको आधिकारिक टिकट दिलाउनै प्रयास गरेका थिए । तर, त्यो सम्भव नभएको अघि नै चर्चा भइसकेको छ । वृषेशचन्द्रको चुनावी अभियान तुलनात्मक रूपमा संगठित र व्यवस्थित थियो । म आफैँ सम्झिन्छु, उद्योगी कौशलकिशोर सर्राफले उपलब्ध गराएका गाडी, दिनेशप्रसाद साह (संविधानसभा सदस्य) ले व्यक्तिगत खर्चमा व्यवस्थापन गरेको भोजन र त्यसलगायत कैयौँले गरेको सहयोगबाट प्रचार अभियानले तीव्रता पाइरहेको थियो । जनकपुरभरि हल्ला फिँजियो, ‘सुशील कोइरालाले पैसा भएको बिफ्रकेस ल्याएर होटेल रामामा वृषेशचन्द्रलाई दिए ।’ यो हल्ला कताबाट र कुन उद्देश्यले फैलाइयो, यकिन गर्न नसकिए पनि यसले वृषेशचन्द्रलाई भने फाइदा नै पुगेको थियो । उनी गिरिजाप्रसाद कोइरालाका उम्मेदवार हुन् भन्ने पुष्टि भइरहेको थियो । यथार्थमा सुशील कोइराला जनकपुर आएकै थिएनन् ।
हो, वृषेशचन्द्रलाई पर्चापम्पलेटलगायत प्रचार सामग्रीका लागि काठमाडौँमा ट्रेड युनियन कांग्रेसका तत्कालीन अध्यक्ष लक्ष्मण बस्नेतले भने रकमको जोहो गरिदिएका थिए । त्यसबीच मतदानको तीन–चार दिनअघि होला, जनकपुरको जानकी मन्दिरमा कांग्रेसको चुनावी सभा थियो । सभाका लागि पार्टी सभापति किशुनजी र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आउने कार्यक्रम थियो । चुनाव प्रचारकै क्रममा विराटनगर पुगेका प्रधानमन्त्री कोइराला जनकपुर नआई त्यतैबाट अन्यत्र लागे । किशुनजी भने जनकपुरको सभामा आए ।
सभाका लागि जनकपुर आएका किशुनजी जनकपुर चुरोट कारखाना लिमिटेडको गेस्ट हाउसमा बसेका थिए । सभाको अघिल्लो रात नेसनल ट्रेडिङका तत्कालीन अध्यक्ष र धनुषाको बटेश्वर निवासी अमरबहादुर कार्कीले मेयरका स्वतन्त्र उम्मेदवार वृषेशचन्द्रलाई भेटेर किशुनजीले भेट्न खोजेको कुरा सुनाए । ‘तपाईंले जे चाहनुहुन्छ, त्यही हुन्छ’ भन्दै कार्कीले गेस्टहाउस पुगेर किशुनजीलाई भेट्न वृषेशचन्द्रलाई आग्रह गर्दा उनले कांग्रेसले आधिकारिक उम्मेदवार घोषणा गरिसकेको अवस्थामा आफूलाई पार्टीको उम्मेदवार भएको स्वीकार गर्न सक्ने या नसक्ने विषयमा जिज्ञासा राखे । प्रत्युत्तरमा कार्कीले ‘यसबाहेक जे चाहनुहुन्छ त्यो हुन्छ’ भनेका थिए । वृषेशचन्द्रले जवाफ दिए, ‘म किशुनजीको कुरा मान्न पनि सक्दिनँ र काट्न पनि सक्दिनँ । त्यसैले नभेटौँ ।’ किशुनजीको जनकपुर बसाइमा वृषेशचन्द्रसँग भेट भएन ।
यस्तो कुराकानी भएको भोलिपल्ट जनकपुरमा चुनावीसभा भयो । कांग्रेस सभापति किशुनजीले हिन्दीमा बोल्दै प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको भूमिकाबारे बेलिविस्तार लगाए । उनले कांग्रेस र रुख छापलाई मतदान गर्न आग्रह गर्दै वृषेशचन्द्र लाल कांग्रेसी नै भएको र राम्रो उम्मेदवार भएको चर्चा गर्न भ्याए । कांग्रेसको चुनावीसभा बिथोल्न पुगेका चस्मा र घन्टीका कार्यकर्ताहरू भने किशुनजीको यस्तो अभिव्यक्ति सुनेर तीनछक परे । हुन त कांग्रेसको चुनावी सभा हुँडल्न खोज्ने आफ्ना कार्यकर्तालाई बाँधेर ल्याउन वृषेशचन्द्रले अघिल्लो दिन नै निर्देशन दिइसकेका थिए र सभामा अवरोध पुगे आफूले उम्मेदवारी फिर्ता लिने चेताएका पनि थिए । जसले गर्दा पनि उनका कार्यकर्ताहरू चुपचाप किसुनजीलाई सुनेर फर्किए ।
जनकपुरको चुनावीसभामा किशुनजीले पार्टीका मेयर उम्मेदवार दिगम्बर राय र उपममेयर उम्मेदवार किशोरी साहका नाउँ नलिने जानकारी नेता विमलेन्द्रले पहिले नै पाइसकेका थिए । अझ यो जानकारी वृषेशचन्द्रले नै विमलेन्द्रसमक्ष पुर्याउन लगाएका थिए । यस्तो थाहा पाएपछि विमलेन्द्रले किशुनजीलाई सभामा पार्टीका आधिकारिक उम्मेदवारको नामै लिएर मत माग्न करबल गरे । तर, किशुनजीले प्रधानमन्त्री गिरिजाबाबुले कांग्रेस र रुखका लागि मात्र मत माग्न आफूलाई सुझाएको भन्दै उम्मेदवारका नाम नलिने जनाउ दिए । अन्ततः सभामा किशुनजीले राय र साहका नाम लिएनन् ।
बरु स्वतन्त्र उम्मेदवार वृषेशचन्द्रको चर्चा भने गरे । यसबाट वृषेशचन्द्र कांग्रेसबाट टिकट पाउन नसकेका तर कांग्रेस नेतृत्वको विश्वासमा रहेका स्वतन्त्र उम्मेदवार भएको सन्देश प्रवाहित भयो । संयोग नै हुनुपर्छ । यसपटक जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित गठबन्धनको चुनावीसभामा पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष लालकिशोर साहका नाम लिन भ्याएनन् । उनले गठबन्धन उम्मेदवार र ढल्केको छाताका लागि मत मागे ।
स्थानीय तह निर्वाचन २०४९ को मतपरिणाम आयो, वृषेशचन्द्र र लालकिशोर मेयर तथा उपमेयरमा निर्वाचित भए । निर्वाचनको एक–डेढ वर्षपछि किशुनजी, गिरिजाप्रसाद कोइराला र प्रकाशमान सिंहलगायत नेता वृषेशचन्द्रको जनकपुरस्थित घरमै गएर कांग्रेसको सदस्यता दिए । यद्यपि, त्यसपछि कांग्रेसमा वृषेशचन्द्र र लालकिशोर दुवैका यात्रा सुखद रहेन । यो प्रसंग सक्नुअघि ०५४ को स्थानीय तह निर्वाचनमा किशोरी साह कांग्रेस उम्मेदवारका रूपमा उपमेयर निर्वाचित भएका थिए । त्यतिवेला बजरंगप्रसाद साह मेयर निर्वाचित भएका थिए ।
यसपालिको मतपरिणाममा अस्वीकृत मेयर उम्मेदवार र जनकपुरधामका निवर्तमान मेयर लालकिशोर साहले कांग्रेसको लीला कोइराला खेमा छाडेर रथ छापबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको त्यतिवेलासमेत लज्जास्पद पराजय भएको थियो । कांग्रेसका आधिकारिक उम्मेदवार दामोदरप्रसाद उपाध्यायले कोइराला पक्षधर डा. रामवरण यादव र लीला कोइरालाको दबाबमा टिकट पाएका थिए । उपाध्याय तत्कालीन जनकपुर नगरपञ्चायतमा दुईपटक प्रधानपञ्च भए । प्रजातन्त्र पुनस्र्थापनापछि उनी कांग्रेस प्रवेश गरेका थिए ।
भनिन्छ, कोइराला खेमाले जनकपुरमा विमलेन्द्रको कद घटाउन उपाध्यायलाई मेयरमा टिकट दिएपछि रातारात काठमाडौँबाट जनकपुर आएका विमलेन्द्रले बजरंगलाई चुनाव लडाइ जिताएका थिए । मेयरको टिकट वितरणमा कोइराला समूह हाबी भएपछि असिनपसिन भएका विमलेन्द्रलाई उज्यालो नहुँदै एकाबिहान गाडी चलाएर जनकपुर ल्याउने मनोजकुमार मिश्र सम्झन्छन्, ‘स्वतन्त्र उम्मेदवारी दिलाएरै भए पनि कोइराला समूहको मनसुबामा पानी फेर्ने दृढता उहाँ (विमलेन्द्र) को अनुहारमा प्रस्ट देखिन्थ्यो ।’
यसपटक पनि कांग्रेस केन्द्रीय सम्पादन समितिमा धनुषाबाट प्रतिनिधित्व गर्ने अधिकांशले जनकपुरधाममा कांग्रेसका आधिकारिक उम्मेदवार नजित्ने इतिहास रहेको भन्दै मेयर उम्मेदवार संघीय सत्ता गठबन्धनमा सम्मिलित जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दिनुपर्ने धारणा व्यक्त गरे । गठबन्धनबाट जनकपुरधाम मेयर उम्मेदवार कांग्रेसले पाएको भए मनोज साह उम्मेदवार हुने करिब पक्कापक्की थियो । मधेस आन्दोलनको रापतापका वेलामा समेत एघार हजार मत कटाएका मनोज नै उम्मेदवार बन्ने र उनले चुनाव जितेमा विमलेन्द्र मजबुत हुने लेखाजोखा गरेका कुनै वेला विमलेन्द्रका सहयोगी रहेका ढुंगानालगायतले जसपाको भागमा मेयर उम्मेदवार पठाउने वातावरण बनाएका थिए । उनीहरूको विश्लेषण थियो, ‘जसपा नेपालले जनकपुरको मेयर पाएपछि विमलेन्द्र पार्टीभित्र कमजोर भए भन्ने सन्देश जान्छ । र, धनुषाबाट केन्द्रीय राजनीतिमा उदाएका अरूहरूको उचाइ बढ्नेछ ।’
यस्तोमा निधिले के गर्लान् ? यो आमजिज्ञासा र कुतूहलको विषय बन्यो । निधिले जनकपुरधाममा एक स्थानीय टेलिभिजनसँग भने, ‘गठबन्धनका उम्मेदवारहरूलाई मत दिनुस् ।’ त्यसको एक दिनपछि अलिक विस्तारमा थपे, ‘मत कांग्रेसी र किशोरी साह नेतृत्वको रुख छाप भएका उम्मेदवारलाई दिनुस् ।’ कांग्रेसीलाई मत मागेको सन्दर्भ कांग्रेसका विद्रोही उम्मेदवार मनोज साहका लागि भनिएको भनी जनकपुरधाममा अथ्र्याइयो । त्यसपछि मनोजका पक्षमा छुट्टै माहोल बन्यो । अन्ततः आधिकारिक उम्मेदवारलाई भन्दा बागीलाई बढ्ता विश्वास गर्ने जनकपुरले यसपटक पनि आफ्नो इतिहास पुनः दोहोर्याएको छ । फेरि पनि जनकपुरको कमान्ड बागीकै हातमा सुम्पेका छन् उपमहानगरवासीले ।
(कर्ण जनकपुर क्षेत्रमा क्रियाशील पत्रकार हुन्)