१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७९ जेठ ९ सोमबार ०६:५१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलँदो

उपत्यकामा हालसम्म एक हजार १९ घरपालुवा सुँगुर स्वाइन फिभर संक्रमणबाट मरेको पुष्टि

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७९ जेठ ९ सोमबार ०६:५१:००

नेपालमा पहिलोपटक सुँगुर तथा बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा सुँगुरहरू मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको पत्ता लागेको हो । पशु सेवा विभागका अनुसार उपत्यकामा मात्रै हालसम्म एक हजार १९ वटा घरपालुवा सुँगुर फिभर संक्रमणबाट मरेको पुष्टि भएको छ । संक्रमण फैलिँदै गइरहेकाले सचेत रहन विभागले आग्रहसमेत गरेको छ । 

पहिलोपटक काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखा परेपछि नमुना परीक्षणका लागि अस्टे«लियास्थित रिफ्रेन्स प्रयोगशालामा थप परीक्षणपछि गत २ जेठमा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । यसअघि चैत अन्तिम साता नमुना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषक प्रयोगशाला, त्रिपुरेश्वरमा मोलिकुलर र सिरोलोजिकल विधिबाट प्रारम्भिक परीक्षण गरिएको थियो । चैतदेखि नै उपत्यकाका विभिन्न स्थानमा संक्रमण फैलिएको पुष्टि गरिएकाले हालसम्म अन्य स्थानमा समेत फैलिएको हुन सक्ने पशुचिकित्सकले आशंका गरेका छन् । यद्यपि, हालसम्म उपत्यकाबाहिर संक्रमण पुष्टि नभएको विभागले जनाएको छ । 

विभागका अनुसार हालसम्म बंगुरमा उच्च मृत्युदर रहेको अफ्रिकन स्वाइन फिभर कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा र दक्षिणकाली क्षेत्रमा फैलिएको छ । ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा समेत संक्रमण फैलिएको विभागले जनाएको छ । 

 अफ्रिकाबाट चीन, भारत हुँदै नेपाल भित्रियो
सन् २०१८ सम्ममा अफ्रिकामा मात्र सीमित रहेको योे संक्रमण चीन हुँदै एसियाली मुलुकमा भित्रिएको पशु सेवा विभागले जनाएको छ । काठमाडौं उपत्यकालगायत देशका अन्य क्षेत्रमा समेत फैलिएको आशंका गरिएको यो संक्रमण भारतबाट नेपाल भित्रिएको प्रारम्भिक अध्ययनले देखाएको छ । गत वर्ष अफ्रिकन स्वाइन फिभर भारतको आसाम क्षेत्रमा फैलिएको थियो ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप वा निश्चित औषधि उपलब्ध छैन । बंगुरमा स्वाइन फिभरको भाइरस लामो समयसम्म बाँच्न सक्ने भएकाले संक्रमण अन्यमा फैलिने सम्भावनासमेत अत्यधिक देखिन्छ । नेपालमा देखिने क्लासिक स्वाइन फिभरसँग अफ्रिकन स्वाइन फिभरका लक्षण मिल्दाजुल्दा हुने भएकाले नियन्त्रणमा झन् कठिनाइ देखिएको छ ।

डा. सुरेन्द्र कार्की, पशुचिकित्सक


 

नेपालमा संक्रमण भित्रिन नदिन सीमानाकामा कार्यरत क्वारेन्टाइनलाई सतर्क अवस्थामा राखेर देशभित्र रोगको सर्भिलेन्सलाई नियमित राखेको जनाइए पनि नेपालमा फैलिसकेकाले पशु व्यवसायीहरूलाई सचेत हुन चिकित्सकहरूले आग्रह गरेका छन् । संक्रमित बंगुरबाट मानव स्वास्थ्यमा कुनै असर नपर्ने भए पनि संक्रमण फैलँदै जाँदा व्यवसायीलाई आर्थिक क्षति हुने भएकाले नियन्त्रणका लागि सचेत हुन अति आवश्यक भएको पशुचिकित्सक डा. सुरेन्द्र कार्कीले बताए । ‘यो रोगविरुद्ध हालसम्म कुनै खोप वा निश्चित औषधि उपलब्ध छैन । बंगुरमा स्वाइन फिभरको भाइरस लामो समयसम्म बाँच्न सक्ने भएकाले संक्रमण अन्यमा फैलिने सम्भावनासमेत अत्यधिक देखिन्छ,’ उनले भने, ‘नेपालमा देखिने क्लासिक स्वाइन फिभरसँग अफ्रिकन स्वाइन फिभरका लक्षण मिल्दाजुल्दा हुने भएकाले नियन्त्रणमा झन् कठिनाइ देखिएको छ ।’ 

डा. कार्कीका अनुसार अफ्रिकन स्वाइन फिभर संक्रमण देखिएका सुँगुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने जस्ता लक्षण देखिने गरेका छन् । संक्रमण बढ्दै गएपछि पखाला लाग्ने, हिँड्न नसक्ने अर्थात् हिँड्दा धर्मराउने र तुहिने जस्ता लक्षण देखिने र छोटो अवधिमै धेरै बंगुर मर्ने देखिएको चिकित्सकहरूको भनाइ छ ।

 बेवास्ताले फैलिँदै छ संक्रमण 
काठमाडौं उपत्यकामा सुँगुरको आहाराका लागि होटेल तथा रेस्टुरेन्टबाट बाँकी रहेको खाद्य पदार्थ प्रयोगमा आउने भएकाले संक्रमण फैलिइरहेको डा. कार्कीले बताए । ‘रेस्टुरेन्टहरूमा संक्रमित बंगुरको मासु वा रगत प्रयोगमा खाद्यवस्तु सुँगुरहरूको आहारामा प्रयोग गर्दा संक्रमण फैलिने सम्भावना बढी हुन्छ ।

सामान्यतया संक्रमित बंगुरको मासु प्रयोगमा ल्याउँदा यसको असर मानव स्वास्थ्यमा नपर्ने भए पनि बंगुरमा भने जोखिमपूर्ण हुने गरेको छ । यसबाहेक संक्रमित सुँगुरको मासु वा रगतका माध्यमबाट पनि अन्यमा संक्रमण सजिलै फैलिइरहेको हुन्छ ।’ पशु फार्महरूमा सरसफाइ र स्वस्थ आहारामाथि गरिने बेवास्ताले सुँगुरपालनमा ठूलो आर्थिक क्षतिको जोखिम बढेको चिकित्सकहरू बताउँछन् । 

अफ्रिकन स्वाइन फिभर फैलिन नदिन सुँगुर पालिएको खोर र फार्म परिसर सफा राख्ने र समय–समयमा निःसंक्रमण गर्नु आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ । पछिल्लो समय अधिकांश क्षेत्रमा संक्रमण देखिएकाले रोगको शंका लागेका पशुलाई बथानबाट अलग्गै राख्ने र नमुना परीक्षणका लागि समयमै पठाउनसमेत पशु सेवा विभागले आग्रह गरेको छ । यसबाहेक मरेको जनावरलाई खाडलमा पुर्ने, घरपालुवा जनावरलाई जंगली जनावरको सम्पर्कमा आउन नदिने, होटेल तथा रेस्टुरेन्टबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्नुपर्नेसमेत चिकित्सकहरूको सुझाव छ ।