अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानका कारण विश्वभर उच्च रक्तचापको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिसमा उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन समस्या रहेको पाइएको छ ।
एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नेपालमा पनि कुल जनसंख्याको करिब २५ प्रतिशतमा उच्च रक्तचाप देखिएको छ । इडिसिडीको सन् २०१९ को तथ्यांकअनुसार देशभरका करिब ४७ लाखमा उच्च रक्तचाप देखिएको थियो । कोभिड महामारीपश्चात् उच्च रक्तचापबाट प्रभावित हुने अझै बढेको आकलन छ ।
‘साइलेन्ट किलर’ बन्दै उच्च रक्तचाप : डा. ओममूर्ति अनिल मुटुरोग विशेषज्ञ
नेपालमा उच्च रक्तचाप समस्या भोगिरहेकामध्ये २५ वर्षमुनिका नै १० प्रतिशत छन् । यसबाहेक कतिपयले उच्च रक्तचाप भएको थाहासमेत पाउँदैनन् । समयमा परीक्षण र उपचार अभावमा उच्च रक्तचाप ‘साइलेन्ट किलर’ बन्दै गएको छ ।
विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य सेवा विभागले गरेको अन्तरक्रियात्मक कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले युवाहरूसमेत उच्च रक्तचापबाट बढी पीडित भइरहेको बताए । उनी भन्छन्, ‘नेपालमा उच्च रक्तचाप समस्या भोगिरहेकामध्ये २५ वर्षमुनिका नै १० प्रतिशत छन् । यसबाहेक कतिपयले उच्च रक्तचाप भएको थाहासमेत पाउँदैनन् । समयमा परीक्षण र उपचार अभावमा उच्च रक्तचाप ‘साइलेन्ट किलर’ बन्दै गएको छ ।’ मोबाइलमा धेरै समय बिताउनु, अस्वस्थकर खानाको प्रयोग र शारीरिक गतिविधि न्यून हुनुले समेत बालबालिकामै उच्च रक्तचाप बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।
महामारीले झन् प्रभावित
विश्वभर बढ्दै गइरहेको उच्च रक्तचापको दरलाई कोभिड महामारीले थप बढाएको चिकित्सकको भनाइ छ । डब्लुएचओ र अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले सन् २०२५ सम्म विश्वमा उच्च रक्तचाप समस्या २५ प्रतिशतमै सीमित राख्ने लक्ष्य लिएको छ । सन् २०१६ मा लिएको लक्ष्यअनुसार हाल विश्वभरका ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप रहेको पाइएको थियो । तर, कोभिड महामारीपछिको लकडाउनले बढाएको निष्क्रियता आदिका कारण यो झन्–झन् बढेको विज्ञहरूको आकलन छ ।
उच्च रक्तचापका बिरामीमा सामान्यतया लक्षण नदेखिने भएकाले यो समस्या निरन्तर बढ्दै गएको चिकित्सकहरू बताउँछन् । तर, नियमित परीक्षण गरेर समयमै व्यवस्थापन गर्न सकिएमा उच्च रक्तचापले निम्त्याउने समस्या कम गर्न सकिने डा. ओममूर्ति बताउँछन् ।
मानव शरीरमा रगतको प्रवाह सामान्यतया सिस्टोलिक ब्लड प्रेसर १४० एमएमएचजीभन्दा धेरै र डायलोस्टिक ब्लड प्रेसर ९० एमएमएचजीभन्दा बढी भएमा उच्च रक्तचाप अर्थात् हाइपर्टेन्सन भएको मानिन्छ । गत डिसेम्बरमा अमेरिकी क्लिभल्यान्ड क्लिनिकले गरेको सर्वेक्षणमा लकडाउनको समयमा उच्च रक्तचापको समस्या बढेको देखाएको थियो । लकडाउनका वेला अल्कोहलको धेरै प्रयोग, अत्यधिक मानसिक तनाव, कम शारीरिक गतिविधि र स्वास्थ्य परीक्षणको अभावमा उच्च रक्तचापको समस्या बढेको जनाइएको छ । महामारीमा उच्च रक्तचापको समयमा उपचार नहँुदा हृदयाघात र पक्षघातको समेत समस्या बढेको विज्ञहरूले बताएका छन् ।