१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ३ मंगलबार o९:२९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलो टी–२० मा युगान्डासँग नेपाल १२ रनले पराजित 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार o९:२९:oo

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा युगान्डासँग १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डाले पहिलो ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको क्षतिमा १०२ रन बनाएको थियो । सहज लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा ९० रन मात्र जोड्दा युगान्डाले पहिलो खेलमै बाजी मारेको हो । नेपालले सोमबारदेखि युगान्डाविरुद्ध पहिलोपटक घरेलु मैदानमा पाँच टी–२० खेलिरहेको छ । 

दुवै ओपनर रनआउट
१०३ रनको लक्ष्य पछ्याएको नेपाली महिला खेलाडीले इनिङ्सको कुनै पनि समयमा गतिलो ब्याटिङ गर्न सकेनन् । १२.२ ओभरमा नेपालले महŒवपूर्ण पाँच विकेट गुमाइसकेको थियो । नेपालले पाँच विकेटको क्षतिमा स्कोर बोर्डमा केवल ४९ रन मात्र जोडेको थियो । नेपालका तीनजना खेलाडी रन आउट भएका थिए । ओपनर बिन्दु रावल र ज्योति पाण्डे रनआउटको सिकार भए । ४.२ ओभरमा बिन्दु रन लिने प्रयासमा अन्यिपोबाट रन आउट हुन पुगिन् । बिन्दुले २३ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडिन् । 

५.३ ओभरमा उपकप्तान इन्दु बर्मासँग आपसी तालमेल मिलाउन नसक्दा ज्योति पनि रन आउट भइन् । उनी विकेटकिपर अविनोबाट रनआउट भएकी हुन् । ज्योतिले सात बलमा एक चौकाको सहयोगमा ६ रन बनाइन् । 

इनिङ्सको अन्तिमतिर नवौँ क्रमकी डोली भट्ट र दसौँ क्रमकी कविता कुँवरले आक्रामक ब्याटिङ गरी युगान्डामाथि दबाब राखे । दुवै खेलाडीले युगान्डाको कसिलो बलिङ आक्रामणविरुद्ध डटेर ब्याटिङ गरे तर, नेपालका लागि पर्याप्त भएन ।

सात रनभित्र तीन विकेट पतन
दुवै ओपनर रन आउट भएपछि धर्मराएको ब्याटिङ संहाल्ने जिम्मा नेपालका अनुभवी खेलाडीद्वय कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दुमा रह्यो । दुवैले तेस्रो विकेटका लागि १८ रनको साझेदारी गरे । १०.४ ओभरमा कप्तान रुविना अकिटेन्गको ओभरमा बोल्ड भइन् । रुविनाले २२ बलको सामना गरी नौ रन जोडिन् । उनले एक चौका प्रहार गरिन् । मध्यक्रमकी अनुभवी खेलाडी अप्सरा वेगम एक रनमै आउट भइन् । उनी एम्वाजीको ओभरमा एलबिडब्लू भइन् । यसैगरी कविता जोशी चार रनमा पेभेलियन फर्किइन् । कविता आउट भएपछि नेपाल ४९–५ को स्थितिमा पुग्यो । 

डोली र कविताको आक्रामक ब्याटिङ
इनिङ्सको अन्तिमतिर नवौँ क्रमकी डोली भट्ट र दसौँ क्रमकी कविता कुँवरले आक्रामक ब्याटिङ गरी युगान्डामाथि दबाब राखे । दुवै खेलाडीले युगान्डाको कसिलो बलिङ आक्रामणविरुद्ध डटेर ब्याटिङ गरेका थिए । तर, डोली र कविताले नेपाललाई जित दिलाउन भने सकेनन् । १८.५ ओभरमा डोलीको विकेटसँगै नेपालको आशा समाप्त भयो । डोलीले १० बलमा दुई चौका प्रहार गरी १३ रन बनाइन् । कविताले ६ बल सामना गरी एक चौकाको सहयोगमा ११ रन बनाइन् । उपकप्तान इन्दु इनिङ्सको १८.१ ओभरमा आउट हुनुअघि २८ बलमा एक चौका प्रहार गरी सर्वाधिक १६ रन जोडिन् । नेपालले १३ अतिरिक्त रन पाएको थियो । युगान्डाको बलिङमा साराह अकिटेन्गले १३ रनमा दुई तथा कोन्सी अवेकोले १५ रनमा दुई विकेट हात पारे । 

युगान्डाको सुदृढ साझेदारी
पहिलो ब्याटिङ गरेको युगान्डाको सुरुवात खराब रह्यो । इनिङ्सको तेस्रो बलमै युगान्डाले ओपनर लिओना वारियेलाई गुमायो । कविता कुँवरले लिओनालाई बोल्ड गर्दैै नेपाललाई पहिलो सफलता दिलाइन् । त्यसपछि युगान्डाले प्रत्येक विकेटका लागि सुदृढ साझेदारी गर्दै नेपाली बलरमाथि दबाब राख्यो । दोस्रो विकेटका लागि ओपनर केभिन अविनो र एम्बाजीले ४५ रनको साझेदारी गरे । 

११.१ ओभरमा एम्बाजीलाई इन्दुले एलबिडब्लू आउट गरिन् । एम्बाजीले ३८ बलमा तीन चौकाको सहयोगमा सर्वाधिक २९ रनको योगदान दिइन् । त्यसपछि फ्राक्लिन र रिता मुसामालीबीच चौथो विकेटका लागि २४ रनको साझेदारी भयो । यी दुवै ब्याट्सम्यानले युगान्डालाई ४८–३ बाट ७१–४ को स्थितिमा पुर्‍याए । फ्राक्लिनले १८ बलमा एक चौकाको सहयोगमा १२ रन बनाइन् । रिताले अर्की रिता यान्गेन्डोसँग पाँचौँ विकेटका लागि २५ रनको साझेदारी गर्दै युगान्डालाई ९६–५ को अवस्थामा पुर्‍याइन् । 

यान्गेन्डोले १३ बलमा समान एक चौका र छक्का प्रहार गरी १८ रन बनाइन् । रिताले १७ बलमा १३ रनको नटआउट योगदान दिइन् । नेपाली महिला बलरले १० अतिरिक्त रन दिए । कविता कुँवरले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिइन् । रुविना क्षेत्री, कविता जोशी तथा इन्दु बर्माले समान एक विकेट हात पारे । 

टी–२० मा अस्मिनाको डेब्यु
युगान्डाविरुद्ध नेपाली खेलाडी अस्मिना कर्माचार्यले अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेकी छिन् । कप्तान रुविनाले अस्मिनालाई डेब्यु क्याप प्रदान गरेकी थिइन् । उनी नेपाली महिला राष्ट्रिय टोलीबाट डेब्यु गर्ने २३औँ खेलाडी हुन् । डेब्यु खेलमा अस्मिनाले बलिङ र ब्याटिङ गर्ने अवसर पाइन् । बलिङमा एक विकेट नलिए पनि उनले तीन ओभरमा १९ रन खर्चिइन् । ब्याटिङका क्रममा तीन बल सामना गरेकी अस्मिना डकआउट भइन् ।