मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २ सोमबार o९:१८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यो सातादेखि शुक्रबार पनि सेयर कारोबार हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार o९:१८:oo

यो हप्तादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । सरकारले इन्धन खपत कम गर्नका लागि दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आगामी शुक्रबार पहिलोपटक कारोबार सञ्चालनमा आउन लागेको हो । 

यसअघि सेयर कारोबार सातामा पाँच दिन आइतबारदेखि बिहीबारसम्म हुँदै आएको थियो । सरकारको निर्णयअनुसार १ जेठमा सार्वजनिक बिदा लागू भएसँगै आइतबार सेयर कारोबार हुन सकेन, आइतबारको साटो शुक्रबार बजार खुल्ने भएको हो । 

सरकारले जेठ महिनाबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई शुक्रबार पनि कारोबार सञ्चालन गर्नका लागि अनुमति दिइसकेको छ । आइतबार पनि बिदा हुने भएपछि बजार लगातार तीन दिन बिदा हुँदा पुँजी बजार प्रभावित हुने भएपछि बोर्डले वैशाखको पहिलो साताबाटै ‘टास्क फोर्स’ गठन गरेर अध्ययन थालेको थियो । टास्क फोर्समा बोर्डका पदाधिकारी, नेपाल स्टक एक्सचेन्जका एक जना, धितोपत्र ब्रोकर (दलाल) सिडिएस्सी र लगानीकर्तासमेत रहेका थिए । उक्त टास्क फोर्सको अध्ययनले शुक्रबार कारोबार गर्न सकिने गरी निर्णय गरेको थियो ।

धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले ‘टास्क फोर्स’ गठन गरेर परीक्षण अध्ययन गरी छलफलपछि कारोबार सञ्चालन गर्ने सम्पूर्ण जिम्मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई रहेको बताए । यस्तै, नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले शुक्रबार बजार सञ्चालन गर्ने सबै तयारी भएको बताए । उनले भने, ‘जसरी साबिक समयमा कारोबार हुन्थ्यो, शुक्रबार पनि त्यही नै हुने हो । कुनै परिवर्तन हुनेछैन ।’ कारोबार राफसाफमा पनि कुनै समस्या नहुने सिडिएस्सीका प्रवक्ता सुरेश न्यौपानेले बताए । उनले भने, ‘अन्य वेला जसरी हुन्थ्यो, त्यसैगरी हुन्छ, कुनै परिवर्तन हुँदैन ।’

शुक्रबार कारोबार साबिक समय ११ बजेदेखि ३ बजेसम्म सञ्चालनमा आउनेछ । कारोबार सञ्चालन हुनअघि प्रि–ओपनिङ सेसन पनि सञ्चालन हुनेछ । अहिले प्रि–ओपनिङ साढे १० बजेदेखि पौने ११ बजेसम्म हुँदै आएको छ । सेयर खरिद–बिक्री केन्द्रबाट २०५० सालमा नेपाल स्टक एक्सचेन्जका रूपमा रूपान्तरण भएसँगै सेयर बजार पाँच दिन खुला रहने गरेको थियो । सुरुमा दैनिक दुई घन्टा कारोबार हुने बजार हाल दैनिक चार घन्टा खुला हुँदै आएको छ ।

यसअघि अन्य दिन एकपटकमा न्यूनतम १० कित्ता सेयर कारोबार गर्न सकिने र शुक्रबार भने सोभन्दा कम सेयरको पनि कारोबार गर्न सकिने व्यवस्था थियो । तर, ०७३ यता भने नियमित कारोबारमै एक कित्तासम्म सेयर किन्न सकिने व्यवस्था भएसँगै शुक्रबार अडलट कारोबार हुन छाडेको थियो । यता लगानीकर्ता र ब्रोकरहरूले पनि शुक्रबार सेयर बजार खुुला गर्नुपर्नेमा सकारात्मक जनाएका छन् । ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले  शुक्रबार बजार खुल्नु सकारात्मक भएको  बताए । ‘शुक्रबार कारोबार भए पनि राफसाफको काम सोमबार हुन्छ । यो नियमितजस्तै हुने हुँदा यसलाई निरन्तरता दिनुपर्छ,’ उनले भने ।

लगानीकर्ता संरक्षणा चौधरीले पनि बजार सञ्चालन सकारात्मक हुने बताइन् । ‘बिदा भइरहँदा समस्या हुन्छ, साना–ठूला लगानीकर्ता पनि छन्, जसले गर्दा शुक्रबार बजार सञ्चालनमा आउँदा राम्रो हुन्छ,’ चौधरीले भनिन् ।

लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भविष्यमा आइतबार बिदा दिने व्यवस्था परिवर्तन भए पनि शुक्रबारको बजार कारोबारलाई निरन्तरता दिनुपर्ने बताए । बिदाको समयमा मात्र होइन, अब शुक्रबार बजार सञ्चालनलाई निरन्तरता दिएर लैजानुपर्ने उनको भनाइ छ । ‘यो हामीले अहिलेको मात्र माग होइन, धेरैअघिदेखि उठाउँदै आएको माग सम्बोधन भएको छ, यसलाई निरन्तरता सरकारले दिनुपर्छ,’ उनले भने ।