Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रोशन जनकपुरी
२०७९ जेठ २ सोमबार ०९:२२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निर्वाचन, लोकतन्त्र र ‘बालेन फ्याक्टर’

Read Time : > 4 मिनेट
रोशन जनकपुरी
२०७९ जेठ २ सोमबार ०९:२२:००

मधेसी परिचय खुलेर पनि काठमाड्यौली जनतामा बालेनप्रति देखिएको आकर्षणले सहिष्णुताको एउटा सुखद अनुभूति दिएको छ

सपटकको निर्वाचनमा ‘बालेन फ्याक्टर’ गज्जबको मसला बनेको छ । गज्जब त के छ भने यो मसलाले चुनावी गणतन्त्रका धुरन्धर पार्टीहरूको ‘हावा टाइट’ गरिदिएको छ । पाँचदलीय सरकारी गठबन्धनको साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठ र एमालेका हक्की र दबंग मानिने केशव स्थापितको गति सुस्त छ भने नपत्याउने ‘लौरो’ छापका बालेन शाह (साह !) तीव्र गतिमा उचाइ उक्लँदै छन् । यो लेख तयार गर्दासम्म बालेन मतगणनामा पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा भएकासँग उनको अन्तर १३ सयजतिको छ । उनको हार या जित भविष्यको जिम्मामा छ । तर, ‘र्‍यापर बालेन’को पक्षमा देखिएको आकर्षणले एकातिर काठमाडौंको रैथाने संरचनामा आएको परिवर्तनको संकेत दिन्छ भने अर्कातिर राजनीतिक दलहरूप्रति आमजनताको आकर्षणमा आएको ह्रासलाई पनि संकेत गर्छ । 

बालेनको जन्मथलो तराई मधेस हो । उनी शिक्षामा इन्जिनियर हुन् भने पेसा र लोकप्रियताका दृष्टिले र्‍याप गायक हुन् । उनी राजनीतिसँग सम्बन्धित भने होइनन् । यसलाई नेपाली राजनीतिको धरातलीय कमजोरी नै भन्नुपर्छ कि देशको राजनीतिप्रति सबैभन्दा सचेत मानिने राजधानी काठमाडौंमा एउटा र्‍यापरले जनसमुदायका अधिकांशलाई आफूतिर आकर्षित गरिरहेको छ ।

काठमाडौंका निम्ति भने यो नयाँ होइन । नेपालको राजनीतिक धरातल कमजोर भएको वेला काठमाडौंका जनताले यस किसिमका अपवादपूर्ण निर्णय विगतमा पनि गर्दै आएका छन् । पञ्चायतकालमा ०३८ सालमा दरबारभित्रको विकृति बाहिर ल्याउने भनिरहेकी नानीमैया दाहालजस्तो सामान्य महिलालाई अत्यधिक भोटले राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित गराउनु होस् वा ०३९ सालमा न्युरोडमा जुत्ता सिउने कालु सार्कीलाई तत्कालीन काठमाडौं नगरपालिकाको प्रधानपञ्चमा जिताउने व्यापक प्रयत्न होस्, सबै जनसमुदायको राजनीतिक व्यवस्थाप्रतिको वितृष्णाको अभिव्यक्ति नै हो । तत्कालीन पञ्चायती प्रजातन्त्र भनिने व्यवस्थाभित्रको भारदारी तथा चाकरीपना तथा जनताप्रतिको दमन र विभेदलाई सार्वजनिक गर्न विगतमा जनताले यस्तो शैली अपनाएका हुन् ।

त्यतिवेला विशेषतः छात्रहरूले कालु सार्कीको पक्षमा जसरी चन्दा उठाएर एउटा व्यंग्यात्मक अभियान सुरु गरेका थिए, यसबाट आत्तिएर तत्कालीन शासकले कालुको अपहरण नै गरे । छात्रहरूले त्यसपछि गोल्छे सार्कीलाई उम्मेदवार बनाए । उनले जित्न सकेनन्, तर यसले तत्कालीन पञ्चायती प्रजातन्त्रको खोलभित्रको निरंकुश राजतन्त्रको दमनकारी चरित्रलाई अन्तर्राष्ट्रियस्तरमै नंग्याएको थियो । श्रमजीवी वर्ग र उत्पीडित समुदायको अधिकार भएको राजकीय संरचना मानवीय राज्यका निम्ति उच्च कोटिको शासन व्यवस्था मानिन्छ । तर, अभिजात्य वर्गीय सामन्ती शासकका निम्ति सार्कीजस्तो श्रमजीवी तथा दरबारकी सुसारे भनिएकी नानीमैया दाहाल उच्च ओहोदामा पुग्नु अपमानको विषय थियो । त्यसैले तत्कालीन पञ्चायती शासकहरू जसरी पनि निम्नवर्गीय दाहाल र सार्कीलाई रोक्न चाहन्थे ।

‘र्‍यापर बालेन’को पक्षमा देखिएको आकर्षणले एकातिर काठमाडौंको रैथाने संरचनामा आएको परिवर्तनको संकेत दिन्छ भने अर्कातिर राजनीतिक दलहरूप्रति आमजनताको आकर्षणमा आएको ह्रासलाई पनि संकेत गर्छ 

बालेन नानीमैया र कालु सार्कीभन्दा थोरै भिन्न हुन् । उनी उच्च शिक्षित र (उनको भनाइ मान्ने हो भने) भिजन भएका इन्जिनियर हुन् । बालेन व्यक्तिगत रूपमा राम्रो र देशभक्त पनि हुन सक्छन् । उनी वर्तमान राजनीतिक प्रक्रियामा देखिएको बेइमानी, लुट, भ्रष्टाचार र जनभावनासँगको धोकाधडीबाट आक्रोशित र उत्साहित भएर अगाडि सरेका पनि हुन सक्छन् (यद्यपि, उनी स्वस्फूर्त हुन् वा कुनै योजनामा प्रक्षेपित हुन् भन्ने अन्तरकथा पछि खुल्दै जानेछ) । यति हुँदाहुँदै पनि काठमाड्यौली जनताले जसरी अप्रत्याशित रूपमा उनको पक्षमा आकर्षण देखाएका छन्, त्यसभित्र वर्तमान राजनीतिक प्रक्रिया र नेतृत्वप्रतिको अविश्वासको मात्रा अत्यधिक बेसी छ भन्नु अन्यथा हुँदैन । 

संसदीय लोकतन्त्रमा यो सामान्य र स्वाभाविक हो र चुनावी लोकतन्त्रको सौन्दर्य यो नै हो भन्नेहरूका निम्ति बालेन फ्याक्टरको महत्व नहोला, तर वर्तमान राजनीतिमा नेताहरूको लफ्फाजीपूर्ण राजनीतिक उपदेश, खुलेआम भ्रष्टाचार र खुलेआम वैदेशिक शक्तिसामु घुँडाटेकाइले जुनखाले राजनीतिक शून्यता जन्माएको छ, यस परिप्रेक्षमा बालेनको आकर्षणले आफूभित्र कैयौँ भयावह सम्भावना समेटेको छ ।

यसपटकको स्थानीय निर्वाचनमा नातागोता तथा आर्थिक मापदण्डमा टिकट वितरणको खबर, मतपेटिका लिएर भागिरहेको दृश्य, मतदान अधिकृतले नै हाकाहाकी मतपत्रमा छाप लगाइरहेको तथा मतदातालाई आर्थिक प्रलोभन दिएका समाचारको स्मरण गर्नुभयो भने वर्तमान संसदीय चुनावी गणतन्त्र तिव्रतापूर्वक विकृत तथा गैरजनवादी हुँदै गएको अनुभूत गर्न सकिन्छ । यस्तोमा वर्तमान सत्ताका सञ्चालक शक्तिले चुनावी लोकतन्त्रलाई जतिसुकै महानताको तक्मा भिडाए पनि वर्तमानमा राजनीतिक महानताहरू हराउँदै गएको यथार्थको उपेक्षा गर्न सकिँदैन । जनताको उदासीनता यसैको परिणाम हो । 

बालेन राजधानीमा छन्, अझ उच्च धनाढ्य वर्गको भएकाले मिडिया जगत्मा उनको ‘बिजनेस भ्यालु’ बढी छ, त्यसैले उनको चर्चा र आकर्षण बढी छ । होइन भने यस प्रकारका कैयौँ उम्मेदवार मैदानमा छन्, जो राजधानी र राजधानीबाहिर छन् र जसले मिडिया प्रचारतन्त्रलाई आकर्षित गर्न सकेका छैनन् । यसपटकको निर्वाचनमा पार्टीबाट बागी भएका उम्मेदवारलाई छाडिदिने हो भने समाजका विविध क्षेत्रबाट आएका अन्य स्वतन्त्र उम्मेदवार पनि बालेनजस्तै त हुन् ! यसमध्ये कैयौँ गायक, कलाकार पनि छन् । प्रश्न छ, बालेनजस्तै उनीहरूले मिडिया प्रचारलाई किन आकर्षित गर्न सकेनन् ? बालेन ‘र्‍याप’ गायक हुन्, त्यसैले हो ? पिठ्युँमा नेपाली झन्डा ओढेका यी ‘मधेसी’ ठिटो कुनै पनि कोणबाट न राजनीतिक, न पारम्परिक नै देखिन्छन् । एउटा आधुनिक ठिटो, जो ‘अमेरिकी’ शैलीको र्‍यापमा कहिले छिल्लिएको भाषा प्रयोग गर्छ र कहिले नेपाली राजनीतिमा व्याप्त भ्रष्टाचार र विकृतिविरुद्ध आक्रोशितझैँ कुण्ठा गाउँछ । निश्चय, यो नेपाली समाजमा नवसाम्राज्यवादी संस्कृतिप्रतिको आकर्षण हो । 

यसपटक राजनीतिक पार्टीका उम्मेदवारहरूमा समेत अधिकांशमा पार्टी सदस्यताबाहेक राजनीतिकपनाको अभाव नै देखिन्छ । यसपटकको स्थानीय निर्वाचनमा अधिकांश जुनखाले उम्मेदवार मैदानमा देखिएका छन्, त्यसमा विजयी हुने अधिकांश पात्र निर्वाचनलाई आर्थिक पेसाका रूपमा बुझ्नेखाले नै हुने अधिकतम सम्भावना देखिन्छ । कैयौँ उम्मेदवार त विगतमा भ्रष्टाचारमा नग्न भइसकेका नामुदसमेत छन् । यसले वर्तमान राजनीतिक ढाँचामा जनवादिताका अवसर खुम्चँदै गएको तथा गैरजनवादी प्रवृत्तिको वर्चस्व बढ्दै गएको देखाउँछ । यस्तोमा हालसम्म ‘क्लिनचिट व्यक्ति’ बालेन कैयौँभन्दा राम्रा हुन सक्छन् । तर, राजनीतिक दलहरूको सक्रियतामा आधारित व्यवस्थाको जनप्रतिनिधिमा जब ‘व्यक्ति’प्रतिको आकर्षण बढ्दै जान्छ, त्यसले नजानिँदो पारामा गैरसामाजिक र गैरजनवादितातिर डोर्‍याउन थाल्छ । 

बालेन तराई मधेसका हुन् । तराई मधेस भूगोलका अतिरिक्त नेपाली राजनीतिमा एउटा विशिष्ट ऐतिहासिक प्रवृत्ति पनि हो, जसले राजकीय दमन र प्रतिरोध दुवै प्रवृत्ति बोकेको छ । यसपटकको निर्वाचनमा उनी जित्छन् वा हार्छन्, एउटा कुरा भयो । तर, उनको मधेसी परिचय खुलेर पनि जसरी काठमाड्यौली जनतामा उनीप्रति आकर्षण देखिएको छ, त्यसले सहिष्णुताको एउटा सुखद अनुभूति पनि दिन्छ । यसले काठमाडौंमा राष्ट्रभन्दा पनि देशको भाव बढी देखिन्छ । देश, जहाँ विविध राष्ट्रियता, जाति र सांस्कृतिक समुदाय अधिकारपूर्वक एकसाथ बस्छन् । तर, यो भाव के उत्पीडित समुदाय र उत्पीडित वर्गपक्षीय हो वा मात्र उच्चवर्गीय सांस्कृतिक आदर्श ? राजनीतिक दर्शनको दृष्टिले यो प्रश्न महत्वको हो । 

विगत केही वर्षदेखि हाम्रो लोकतान्त्रिक गणतन्त्रको चारित्रिकताको चर्चा बढी हुने गरेको पाइन्छ । एकातिर सरकार र राजनीतिक पार्टीहरूको कमजोरीप्रति बढी कटु आलोचक देखिए पनि व्यवस्थाको चारित्रिक कमजोरीप्रति मिडियाले आँखा चिम्लेको देखिन्छ । विशेष गरेर गणतान्त्रिकतामाथि पारम्परिक तथा राजतन्त्रवादी शक्तिहरू जसरी आक्रामक हुँदै छन् र व्यवस्थाको जनवादी र धर्मनिरपेक्षतावादी चरित्रलाई कमजोर पार्दै छन्, त्यसप्रति मिडिया र बौद्धिक समाजमा एकखाले मौनता देखिन्छ । यसले पुँजीवादी चरित्रको हाम्रो लोकतान्त्रिक राजनीतिको गैरजनवादितालाई प्रोत्साहित गर्छ । वर्तमान राजनीतिमा गैरजिम्मेवारी, बेइमानी र भ्रष्टाचारको व्यवस्थित विकास यसैको परिणाम हो । वस्तुतः पुँजीवादी लोकतन्त्रको फासीवादसँगको सम्बन्धबारे बहस थोरै हुने गर्छ । यो बहस गणतन्त्रको सुरुआतसँगै निरन्तर हुनुपर्ने थियो । यसको उल्टो, नेपाली समाजका सबै समस्या पुँजीवादी लोकतन्त्रले हल गर्ने धारणालाई राजनीतिक दलहरूले बढी प्रश्रय दिए । पुँजीवादी लोकतन्त्रको जगजाहेर नकारात्मक अनुभव भनेको समग्र राजनीतिलाई बजारमा परिणत गरिदिनु हो । यसको अनुभव हामी हाम्रै लोकतन्त्रबाट गर्न सक्छौँ । यस्तो अवस्थामा थुप्रै खाले विकल्प र विभ्रमहरूले टाउको उठाउँछन् । यस्तै नकारात्मकता र अन्योलबाट पुनरोत्थानवादी तत्वले पनि मौलाउने मौका पाउँछन् ।

पुँजीवादी लोकतन्त्रले जब जनताको समस्या हल गर्न सक्दैन, अनि फासीवादले अगाडि बढ्ने मौका पाउँछ । उसले भन्छ, ‘मसँग आऊ, यो लोकतन्त्र बेकारको छ । हामीले तिमीलाई बाटो देखाउँछौँ र तिम्रो समस्या हामी हल गर्छौं ।’ यतिवेला हाम्रो राजनीतिक संरचनाभित्र धार्मिक कट्टरता तथा जातीय संकीर्णता निर्वाचनका वेला जसरी राजनीतिक समीकरणका रूपमा देखा पर्छन्, त्यस्तोमा लोकतन्त्रको खोलभित्र अतितमुखी दक्षिणपन्थी चिन्तन सबै पार्टीभित्र प्रवृत्तिका रूपमा हावी हुँदै गएको देखिन्छ । नेपाली गणतन्त्रको ओज हराउनुको एउटा कारण यो पनि हो । 

बालेन फ्याक्टर जतिसुकै आकर्षक र चित्तबुझ्दो देखिए पनि नेपाली राजनीतिमा सही दिशा होइन । यो नेपाली राजनीतिज्ञहरूले पढ्न सके भने ‘गैरजिम्मेवारीले पुनरोत्थानवादी भड्काउमा राजनीतिलाई कसरी लैजान्छ’ भन्ने सचेतताको पाठ अवश्य हो । सही दिशा भनेको त यस लोकतान्त्रिक गणतन्त्रमा नब्बे प्रतिशतमा रहेको उत्पीडित वर्ग र उत्पीडित समुदायको वर्चस्वको शासन हो र यसका निम्ति वर्तमान प्रणाली अप्रासंगिक हुँदै छ । यसका निम्ति फरक, सचेत र सामूहिक प्रयत्नको आवश्यकता छ ।