
गुल्मी जिल्लाको कालीगण्डकी करिडोर सडक फेरि पहिरोले अवरुद्ध भएको छ ।
आज (आइतबार) बिहान कालीगण्डकी गाउँपालिका– ६, बर्लवा तथा वडा नम्बर–१, गरगरे क्षेत्रमा चट्टानसहितको ठुलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
उनका अनुसार माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएको हो। यसले यात्रु र स्थानीयवासी प्रभावित भएका छन् । बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
टोलीले सडक खुलाउने कार्यमा पहल थालेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको एसपी अधिकारीले जानकारी दिए । कालीगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक–पटक पहिरोले अवरुद्ध हुने गरेको छ । एसपी अधिकारीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेका छन् ।