मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
२o८२ असार २९ आइतबार २१:o८:oo
Read Time : > 1 मिनेट
अर्थ

असारको अन्तिम सातासम्म बागमतीमा ७६.४८ प्रतिशत रोपाइँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार २१:o८:oo

असारको अन्तिम साता आइपुग्दा यस वर्ष बागमती प्रदेशमा ७६.४८ प्रतिशत रोपाइँ भएको छ । गतवर्षको यही अवधिमा बागमतीमा १९.२४ प्रतिशत रोपाइँ भएको थियो ।

गत वर्षभन्दा यस वर्ष धान रोपाइँ राम्रो भइरहेको बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठका अनुसार प्रदेशका अधिकांश धान रोपाइँ हुने स्थानमा यस वर्ष समयमै पानी पर्न सुरु गरेकाले राम्रो भइरहेको छ । उनका अनुसार यसवर्ष बागमती प्रदेशको १३ जिल्लाको कूल एक लाख २० हजार ६१० हेक्टर जमिनमा धानखेती हुने अपेक्षा गरिएकोमा २२ असारसम्म ६२ हजार ४६०.६८ हेक्टर क्षेत्रफलमा ७६.४८ प्रतिशत रोपाइँ सकिएको हो । 

निर्देशक श्रेष्ठले बागमती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौँ, भक्तपुर र ललितपुरमा सतप्रतिशत रोपाई सकिएको जानकारी दिए । धान रोपाइँ हुने कुल क्षेत्रफल पाँच हजार ९२४ हेक्टर क्षेत्रफल रहेको काठमाडौं, चार हजार १६३ हेक्टर क्षेत्रफल रहेको ललितपुर र दुई हजार ६९९ हेक्टर क्षेत्रफल भएको भक्तपुरमा सतप्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

सबैभन्दा कम रोपाइँ धादिङमा
सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ । यहाँ जम्मा ४० प्रतिशत मात्रै रोपाइँ भएको निर्देशक श्रेष्ठले जानकारी दिए । धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिए पनि यसवर्ष अहिलेसम्म यहाँ जम्मा चार हजार ४६४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको हो ।

निर्देशनालयबाट प्राप्त विवरणअनुसार मकवानपुरमा सात हजार ६७ हेक्टर जमिनमध्ये ५९.३ प्रतिशत आर्थत जम्मा चार हजार १९३.५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यसैगरी, २७ हजार २०७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको चितवनमा ८०.३ प्रतिशत अर्थात २१ हजार ८५० हेक्टरमा, नुवाकोटमा १६ हजार ४९८ हेक्तर धान खेती हुने जमिनमध्ये ९६ प्रतिशत अर्थात १६ हजार २८९ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ । 

यस्तै, सिन्धुपाल्चोकमा आठ हजार ७८२ हेक्टरमध्ये ६७.२ प्रतिशत अर्थात पाँच हजार ९०१.३ हेक्टरमा, दोलखामा दुई हजार ८१४ हेक्टर जमिनमध्ये ९२ प्रतिशत आर्थत २ हजार ५८८.८८ हेक्टर क्षेत्रफलमा, सिन्धुलीमा ११ हजार ४४५ हेक्टर जमिनमध्ये ६३.७ प्रतिशत अर्थात ८ हजार ५६५ हेक्टर क्षेत्रलफलमा र रामेछाफमा ७ हजार ८५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यसवर्ष ६ हजार ५२२.९७ हेक्टर क्षेत्रफलमा अर्थात ८३ प्रतिशत धान रोपाइँ भएको छ । १० हजार २१० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने काभ्रेमा ७६.१४ प्रतिशत अर्थात सात हजार ७७४.२ क्षेत्रफलमा रोपाइँ भएको छ । 

मन्त्रालयका अनुसार प्रदेशमै सबैभन्दा कम क्षेत्रफलमा धान रोपाई हुने रसुवाको दुई हजार ७१८ हेक्टर क्षेत्रफलमध्ये एक हजार ४९ हेक्टर क्षेत्रफल अर्थात ३७.७० प्रतिशत धान रोपाइँ भएको छ । प्रदेशमा रहेको भौगौलिक विकटता र सिँचाइको अभाव रहेका जिल्लामा अझै पर्याप्त मात्रामा पानी नपरेकाले अपेक्षा गरेजति छिटो धानखेति हुन नसकेको निर्देशनालयले जनाएको छ ।