
राष्ट्रिय स्वतन्त्र पार्टीले तीनजना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशीलचन्द्र तिवारी र ई. मधु भेटुवाललाई रास्वपाले औपचारिक रूपमा विज्ञसदस्यमा मनोनयन गरेको हो।
विज्ञसदस्यहरूको मनोनयनका सन्दर्भमा विभाग प्रमुख इ. श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो रहेको उल्लेख गर्दै भने, ‘नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत हो, त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरुरी छ।’
नियुक्त भएका तीनैजना विज्ञसदस्य विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोगलगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहिसकेका छन्।
रास्वपापले गैरसदस्यहरूलाई समेत विज्ञताका आधारमा पार्टीको विज्ञसल्लाहकारमा मनोनयन गर्न सक्ने व्यवस्था गरेको छ।