मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २७ मंगलबार १७:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २७ मंगलबार १७:४७:००

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरूले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको टिप्पणी गरेका छन्। मंगलबार आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन्।

स्थानीय निर्वाचनमा स्थानीयस्तरका सरोकार र समस्याको सम्बन्धमा छलफल गर्नुपर्ने भए पनि राजनीतिक दलका शीर्ष नेतृत्वहरूबाट स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने शैली अपनाइएको उनले बताए। स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र स्थानीय पहिचानलाई परिपोषण गर्नुपर्नेमा नेताहरूले त्यसलाई विस्थापित गरेको उनको भनाइ छ।

‘स्थानीय निर्वाचन गर्दा स्थानीय तहका आफ्ना सरोकारहरू, आफ्ना समस्याहरू, आफ्नै नेतृत्वका विकासका सम्भावनाहरूलाई खोजी गर्ने, पत्ता लगाउने र त्यसलाई प्रशस्त गर्ने वातावरण निर्माण गर्नुपर्ने हो,' उनले भने, 'जुन ढंगले उहाँहरू पेस हुनुभएको छ र स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने गरेर केन्द्रीयस्तरबाट जुन किसिमको शैली यहाँ अहिले विकसित हुन गएको छ, त्यसमा ज–जसले प्रजातन्त्र ल्याउनमा नेतृत्व गर्नुभयो उहाँहरू नै खतरा त हुनुभएन ? स्थानीय निर्वाचनलाई स्थानीय आवश्यकता, स्थानीय पहिचानलाई परिपोषण गर्ने अवसर दिनुपर्नेमा त्यसलाई कतै विस्थापित त हुने अवस्था आएन ?’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले दलका शीर्ष नेताहरूले वाकयुद्ध गरिरहेका बताए। नेताहरूका बीचमा सभ्य, सम्मानजनक र जवाफदेही संवाद हुनुपर्नेमा त्यसो हुन नसकेकोमा उनले दु:ख व्यक्त गरे।