जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । जेभियर पुरुष र नाथम महिलामा च्याम्पियन बने । पुरुषतर्फको फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ ले पराजित गर्दै उपाधि रक्षा गर्यो । जेभियरका रवि पौडेलले १७ स्कोरको योगदान गरे । जेभियर लगातार पाँचौँपटक च्याम्पियन बनेको हो ।
उपाधिसँगै जेभियरले ५० हजार र उपविजेता गोल्डेनगेटले ३० हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फको उपाधि भिडन्तमा नाथमले शुभश्रीलाई ३२–७ ले हरायो । नाथमकी झरना बज्राचार्यले फाइनलमा सर्वाधिक १३ स्कोर गरेकी थिइन् ।
महिलातर्फ नाथम नयाँ विजेता बनेको हो । पछिल्लो चार संस्करणको उपाधि जेभियरले जितेको थियो । जेभियर पाँचौँ संस्करणमा सहभागी भएन भने नाथम पहिलोपटक प्रतियोगितामा सहभागी भएको हो । पुरुषतर्फ जेभियरका तेन्जिङ सोनाम भुजेल र महिलामा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।